अन्तरवार्ता

सभापतिको अहिलेकै जस्तो तरिकाले पार्टी चल्दैन : कांग्रेस नेता गुरुराज घिमिरे

४० प्रतिशत कार्यकर्ता निराश भए भने कांग्रेस उभिन्छ ? आमनिर्वाचन जित्छ ? कांग्रेसले अरू पार्टीसँग प्रतिस्पर्धा गर्न सक्छ ? त्यसैले, यो कुरा कुनै विरोध या असहयोग होइन । तपाईंलाई म भन्छु पार्टीको कुनै कार्यकर्ता सभापति असफल भएको हेर्न चाहँदैनन् । सभापति लोकप्रिय हुने हो भने त्यसको प्रभाव सबैतिर पर्छ । सबैभन्दा पहिला पार्टीभित्रको आन्तरिक व्यवस्थापन चुस्त हुनुपर्छ जुन अहिलेसम्म भएको छैन ।

नेपालभ्युज

सभापतिको अहिलेकै जस्तो तरिकाले पार्टी चल्दैन : कांग्रेस नेता गुरुराज घिमिरे

काठमाडौं : १४औँ महाधिवेशनपछि केही शान्त रहेको कांग्रेसमा फेरि गुटगत गतिविधि बढ्न थालेको छ । शेखर कोइराला समूहले पार्टी सभापति देउवा एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाउँदै दबाब बढाउन थालेको छ ।  मुख्यतया निर्वाचनमा न्यायिक रूपमा टिकट वितरण नगरेको,भातृ संस्थाको नेतृत्वमा आफू पक्षीयलाई मात्र समेटेको लगायतका आरोप देउवामाथि लागेको छ ।

शेखर पक्षीय नेता गुरुराज घिमिरेले सभापति देउवाले सबैलाई समेट्न नसकेको बताएका छन् । उनले सबै पक्षलाई समेट्न सके मात्र पार्टी सभापति सफल हुने दाबी गरे । उनले पार्टी सभापतिलाई लोकप्रिय बन्न  सुझावसमेत दिएका छन् । प्रस्तुत छ घिमिरेसँग नेपाल भ्युजका लागि प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंश:

पार्टी सभापतिको विरोध केका लागि ?

यसलाई मानिसले विरोधका रूपमा ठान्छन् । तर, पार्टीलाई राम्ररी सञ्चालन गर्नुपर्‍यो, विधिपूर्वक चलेन, विधान र प्रक्रियाअनुसार चल्नुपर्छ, निर्णयहरू पारदर्शी हुनुपर्छ, निर्णयमा सरोकारवालाको सहभागिता हुनुपर्छ र पार्टीका भातृ संस्था राम्ररी चल्नुपर्छ, अवसर दिँदा योग्यता र क्षमता हेर्नुपर्छ । यसो भन्नु विरोध हो र ? यो पनि सहयोग हो नि ।

तपाईंहरूको असन्तुष्टि के–के हुन् ?

नेपाली कांग्रेस पार्टी १४ औँ महाधिवेशनपछि संस्थागत रूपबाट चल्न छाड्यो । १३औं महाधिवेशनपछि १४औँ महाधिवेशनसम्म जसरी चलेको थियो त्योभन्दा पनि बिग्रिन थाल्यो । अहिले गुटगत र एकलौटी तवरले पार्टी चलिरहेको छ । यो  पार्टीका कार्यकर्ताको उन्नतिका लागि, लोकतन्त्रको सुदृढीकरणका लागि र समग्र नेपाली कांग्रेस पार्टीको भविष्यका लागि  प्रतिउत्पादक भयो । यो शैलीबाट पार्टी लोकप्रिय पनि हुँदैन, कार्यकर्ताको मूल्यांकन पनि हुँदैन, जनाधार पनि बढ्दैन, कार्यकर्ता निरुत्साहित हुन्छन्, नयाँ व्यक्ति आकर्षित पनि हुँदैनन् भन्ने हो ।

महाधिवेशनबाट निर्वाचित सभापति हो । आफ्नो ढंगले चलाउन पाउनुपर्‍यो नि हैन ? 

महाधिवेशनमा ४० प्रतिशत ल्याउनेचाहिँ पार्टीका कार्यकर्ता नै होइनन् ? पार्टीमा उनीहरूको खाँचो नै छैन ? जरुरी नै छैन ? पार्टीमा हुने गतिविधिमा उनीहरूको कुनै अर्थ नै छैन ?  सभापतिले गरेका दर्जनौँ निर्णयमा पार्टीका महत्त्वपूर्ण नेतासँग छलफल नै गर्नुभएको छैन । पार्टीलाई गुटगत रूपमा चलाउनुभएको छ । आफूलाई भोट हाल्नेलाई मात्र अवसर दिनुभएको छ । यो त सबैले देखेका छौँ । निर्वाचित सभापति भए पनि आफूलाई भोट हाल्नेलाई मात्र अवसर दिन मिल्दैन । भोट हाल्ने, नहाल्ने सबैको साझा सभापति बन्नुपर्छ ।

तपाईंहरूको उद्देश्य पनि भाग खोज्ने मात्रै त देखियो नि है ? 

शेखर कोइरालाले सबैलाई मिलाएर लैजान भन्नुभएको हो । उहाँले सबै साथीहरूलाई अवसर समान रूपमा दिनुपर्छ भन्ने धारणा राख्नुभएको हो । न्यायोचित भनेको चाहिँ पार्टीको सदस्यले गरेको उसको कामको मूल्यांकन, उसको योग्यताका आधारमा अवसर दिनुपर्छ भन्ने हो । अहिलेसम्मको अवस्था हेर्नुभयो भने आफूसँग असहमति राख्ने, आफूलाई भोट नहाल्ने कुन कुन व्यक्तिलाई उहाँले अवसर दिनुभयो ? उहाँले दर्जनौ नियुक्तिहरू गर्नुभयो, राजदूतदेखि लिएर राज्यका निकायमा भएका नियुक्ति हुन् अथवा पार्टीका सबैमा एकलौटी गर्नुभएको छ ।

स्थानीय तहमा बाँडेको टिकट हेरौँ, पार्टीको केन्द्रीय समितिको मनोनयन होस् या प्रदेशमा सरकार बनाउँदा उहाँले कसैसँग सल्लाह गर्नुभएको छैन । आफ्नो प्रतिस्पर्धी जो पार्टीको महाधिवेशनमा ४० प्रतिशतभन्दा बढी भोट ल्याएको छ उसलाई सोध्नुभयो त ? उहाँको सिफारिस मान्नुभएको छ ? यदि, सभापतिले न्यायोचितरूपमा व्यक्तिको योग्यता र क्षमता हेरेर गर्नुभएको भए यो भागबन्डाको राजनीति १३औं महाधिवेशनपछि नै समाप्त भइसक्थ्यो । यो कुरा अहिले उठाउन आवश्यक नै थिएन । अब उहाँले अवसर नै नदिने आफ्ना नजिकका लाई मात्रै दिएपछि त भाग खोज्नुपरेन ?

शेखर कोइराला गुट बनाउन इच्छुक नभए पनि तपाईंहरूले दबाब दिइरहनुभएको छ भनिन्छ नि ? 

तपाईंलाई एउटा कुरा भन्छु, ४० प्रतिशत कार्यकर्ता निराश भए भने कांग्रेस उभिन्छ ? आमनिर्वाचन जित्छ ? कांग्रेसले अरू पार्टीसँग प्रतिस्पर्धा गर्न सक्छ ? त्यसैले, यो कुरा कुनै विरोध या असहयोग होइन । तपाईंलाई म भन्छु पार्टीको कुनै कार्यकर्ता सभापति असफल भएको हेर्न चाहँदैनन् । पार्टी सभापति सफल भएको देख्न चाहन्छन् । लोकप्रिय र बलियो भएको देख्न चाहन्छ । पार्टी सभापति लोकप्रिय हुने हो भने त्यसको प्रभाव सबैतिर पर्छ । पार्टी पूर्ण हुन्छ । मतदातामा पनि सकारात्मक प्रभाव पर्छ । त्यस कारण सबैभन्दा पहिला पार्टीभित्रको आन्तरिक व्यवस्थापन चुस्त हुनुपर्छ जुन अहिलेसम्म भएको छैन ।

निर्वाचन नजिकिइरहेको छ, सभापतिसँग टिकटमा बार्गेनिङ होला हैन ? 

होइन अहिले गठबन्धन छ । गठबन्धनमा हामीले १०० सिट दाबी गरिरहेका छौँ । सोही अनुसार पार्टीभित्रको व्यवस्थापन सभापतिले मिलाउनुपर्‍यो । गठबन्धनका दलसँग समीकरण मिलाउने तर आफ्नै पाटीभित्र कुरै गर्न नचाहने यस्तो पनि हुन्छ ? पार्टीभित्र नमिलाउने हो भने सोचेजस्तो नतिजा प्राप्त हुन्छ ? यो कुरा सभापतिलाई पनि थाहा छ । उहाँले सबै सोचेर अघि बढ्नुपर्छ ।

माग सुनुवाइ नभए के गर्नुहुन्छ ?

दबाबमूलक कार्यक्रम गरिरहेका छौँ  त्यसपछि के गर्ने भन्ने अहिले नै तय भइसकेको छैन ।  तर, उपयुक्त समयमा उपयुक्त निर्णय गछौँ ।

एकपटक सरकारतर्फ पनि फर्किएर हेरौँ न यो एक वर्ष कस्तो पाउनुभयो ?

सरकारको काम कारबाही ओलीजीको भन्दा सुधार छ तर चित्त बुझ्दो छैन । सरकारले यति मात्रै काम गरेर जनताको मन जित्न सक्दैन । जनताको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने, जनतालाई राहत महसुस हुने महँगी नियन्त्रण हुन सकेको छैन, शान्ति सुरक्षाको अवस्था पनि त्यस्तै छ । विकासको गति पनि अगाडि बढ्न सकेको छैन त्यसैले सरकारबाट चित्त बुझाउने ठाउँ छैन तर ओलीजीको भन्दा सुधारात्मक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved