बेइजिङ डायरी

रेल चढेर नेपाल जाने चिनियाँको सपना

रेलमा यात्रा गरेर छिमेकी मुलुक नेपाल घुम्न जान पाऊँ भन्ने चाहना चिनियाँहरूमा भएको बुझिन्छ। नेपाल-चीन रेल सम्झौतापछि चीनका विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन गरे। चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूमा यो विषय चर्चित बन्यो। बेइजिङ डायरीको यो स्तम्भमा चिनियाँले व्यक्त गरेका केही रमाइला, गम्भीर र घतलाग्दा टिप्पणीहरूको समीक्षा गरिएको छ।

रेल चढेर नेपाल जाने चिनियाँको सपना

बेइजिङ। नेपालका परराष्ट्रमन्त्री डा‍. नारायण खड्काको चीन भ्रमणका क्रममा भएको सहमतिमध्ये सबैभन्दा चर्चित बनेको विषय हो, चीन नेपाल रेलसेवाको सम्भाव्यता अध्ययनमा चीनले सघाउने। यही २४ साउनदेखि दुई दिनसम्मको चीन भ्रमणमा यस्तो सहमति भएको थियो।

नेपाल चीन रेल मार्गको विषय नयाँ त होइन। तर, सम्भाव्यता अध्ययन कसको खर्चमा गर्ने भन्ने विषय विगत चार वर्षदेखि कचपल्टिँदै आएको थियो। सेलाएको विषय अहिलेको सहमतिले फेरि तातेको छ। यद्यपि सम्भाव्यता अध्ययन कहिले शुरु हुन्छ भन्नेचाहिँ उल्लेख छैन।

हिमालय शृखला पार गरेर चीनबाट नेपाल जाने रेलमार्गको कुरा भौगोलिक रूपमा मात्र नभई भूराजनीतिक रूपमा पनि निकै कठिन छ। निकै खर्चिलो हुने यो रेलमार्गले नेपाली अर्थतन्त्रको काँचुली फेर्ने कुरामा प्रायः सहमत छन्। यद्यपि, यसमाथि विभिन्न आक्षेप पनि लाग्ने गरेका छन्। कोही ऋणको पासो भन्छन्। कोही उपयोगिताविहीन हुने भन्दै ‘सेतो हात्ती’कोअनुमान लगाउँछन्।

यसपटकको सहमतिले नेपाली सञ्चार माध्यमजस्तै चिनियाँ सञ्चार माध्यमलाई पनि तताएको छ। नेपालका परराष्ट्रमन्त्री खड्कासँगको भेटपछि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले ११ अगस्ट (२६ साउन बिहीबार) चिनियाँ सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छन्। अन्तर्वार्ताका क्रममा उनलाई पत्रकारहरूले ‘नेपालका विदेशमन्त्री नारायण खड्कासँग के कस्तो सहमति भयो?’ भनेर प्रश्न सोधेका थिए। जवाफमा उनले भएका सहमतिहरूको व्याख्या गर्दै चीन नेपाल रेलमार्ग सम्भाव्यता अध्ययनलाई अघि बढाउने कुरा बताए।

चीन–नेपालको अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अनुसन्धानमा समर्थन दिन नेपाललाई रकम सहायता दिने तथा चालु वर्षभित्रै नेपालमा विशेषज्ञ पठाउने अन्तर्वार्ताका क्रममा वाङले बताएका छन्। वाङको अन्तर्वार्तासँगै रेलमार्ग सम्भाव्यता अध्ययनमा चीनले सहयोग गर्ने विषयमा चिनियाँ सञ्चारमाध्यममा प्रकाशित समाचारको शीर्षक थियो ‘हिमालय पार हुने रेलमार्गको निर्माण गर्न चीन र नेपालबीच सहमति’।

चीनका विभिन्न सञ्चारमाध्यमले यो समाचार प्रकाशन गरेपछि चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूमा यो विषय चर्चित बनेको छ। बेइजिङ डायरीको यो स्तम्भमा यही विषयमा चिनियाँ केही रमाइला, गम्भीर र घतलाग्दा टिप्पणीहरूको समीक्षा गरिएको छ।

चीनका विभिन्न सञ्चार माध्यमले यो समाचार प्रकाशन गरेपछि चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूमा यो विषय चर्चित बनेको छ। उनीहरूले निकै चासो दिएर प्रतिक्रियाहरू व्यक्त गरेका छन्। बेइजिङ डायरीको यो स्तम्भमा यही विषयमा चिनियाँ केही रमाइला, गम्भीर र घतलाग्दा टिप्पणीहरूको समीक्षा गरिएको छ।

काइमिङ कुइलाइये नामबाट एक जना चिनियाँले लेखेका छन् ‘के रे के रे? यस विषयमा ममा अज्ञानता भए माफ गर्नुहोला। मलाई भूगोलका बारेमा राम्रो जानकारी छैन। तर, यो विषय मलाई उत्तम लाग्यो। के साँच्चै हिमाल छेडेर रेलमार्ग निर्माण गर्न सकिन्छ त?’

एक जना चिनियाँले सामाजिक सञ्चालमा निकै लामो नाम राखेका छन्। उनको नाम तुइचाङ पेइखाइ छिआङ ओश्याओथमान छ। चिनियाँ रेल नेपाल पुग्ने कुरालाई उनले गौरवको विषय ठान्दै अविश्वास पनि व्यक्त गरेका छन्। फेरि, चिनियाँ परराष्ट्र मन्त्रालयले नै भनिसकेपछि अविश्वास गर्ने ठाउँ नभएको भन्दै उनी लेख्छन् ‘ए है! मलाई गौरव लागिरहेको छ। साँच्चै हो कि? तर, परराष्ट्रमन्त्रालयले भनिसक्यो र मैले पत्याएँ। हाम्रो सरकारले जे भन्यो त्यसलाई पक्कै व्यवहारमा उतार्छ।’

यो टिप्पणीले के कुराको पनि संकेत गरेको छ भने चीन सरकारले जे भन्छ त्यो पूरा गर्छ। यो अन्य देशका लागि निकै ठूलो व्यङ्ग्य पनि हो। विशेषगरी, नेपालका लागि त अझै चोटिलो झटारो। नेपालका नेताहरू निर्वाचनका बेला जनताका अगाडि सपनाका महल ठड्याउँछन्।

उनीहरूका घोषणापत्र हेर्ने हो भने संसारकै सबैभन्दा उत्तम योजना समेटिएका हुन्छन्। तर, चुनावपछि उनीहरू सबै कुरा बिर्सन्छन् र अर्को चुनावमा मात्र सम्झन्छन्। त्यही भएर तुइचाङले लेखेका होलान् ‘हाम्रो सरकारले जे भन्यो त्यसलाई पक्कै व्यवहारमा उतार्छ। ‘चोङक्वो चाङसान नामका व्यक्तिले भू–राजनीतिमाथि छोटो तर निकै सशक्त टिप्पणी गरेका छन्। उनी लेख्छन् ‘यदि यो निर्णय कार्यान्वयन भयो भने नेपालमा भारतको प्रभावमा ठूलो खैलाबैला हुनेछ। नेपालको वैदेशिक व्यापार भारतमाथि निर्भर हुनेछैन।’

नेपालको वैदेशिक व्यापार भारतमाथि निर्भर छ भन्ने कुरा चिनियाँहरूले स्पष्टसँग थाहा पाएको सन् २०१५ को भूकम्पपछि हो। नेपालले नयाँ संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। उक्त समयमा नेपाली सुत्केरी आमा, बालबालिका, बृद्धबृद्धा, बिरामी, विद्यार्थी र असक्तहरूले भोगेको पीडाका बारेमा चिनियाँ सञ्चार माध्यममा छिटपुट समाचार आउने गरेका थिए। सामान्यतः चिनियाँ पत्रपत्रिका तथा टेलिभिजनमा नेपालका बारेमा समाचार आउनु निकै अनौठो कुरा हो। त्यतिबेला समेटिएका समाचारले भारतले नेपालमाथि गरेको अन्यायलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गरेको थियो। साथै चिनियाँहरूलाई नेपालका बारेमा जानकारी पनि दिएको थियो।

भारत सधैँ नेपालमाथि आफ्नो प्रभाव राख्न चाहन्छ। भारतीय हेपाहा प्रवृत्तिले अधिकांश नेपालीमा भारत विरोधी भावना विकाश भएको छ। सन् २०१६ मा पहिलो पटक चिनियाँ रेल नेपाल पुर्‍याउने समझदारी भएपछि भारतीय सञ्चारमाध्यममा खुब हल्लाखल्ला भएको थियो। यतिबेला नेपालले चीनसँग यातायात तथा पारवहन सन्धि गरिसकेकाले नेपालको वैदेशिक व्यापार भारत निर्भरबाट फुत्किसकेको छ। भनिन्छ यही सन्धिले नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्रमा परिणत गरेको हो।

यतिबेला नेपालले चीनसँग यातायात तथा पारवहन सन्धि गरिसकेकाले नेपालको वैदेशिक व्यापार भारत निर्भरबाट फुत्किसकेको छ। भनिन्छ यही सन्धिले नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्रमा परिणत गरेको हो।

तसर्थ उल्लिखित टिप्पणीले नेपालको भौगोलिक अवस्था र भूराजनीतिक जटिलतालाई बोकेको छ। नानमिआन खुइसुचुइ नामक व्यक्तिले चिनियाँ विकासको पक्षपोषण गरेका छन्। उनी लेख्छन् ‘पश्चिमा मुलुकको विकास तेस्रो विश्वका जनताको दुःखबाट स्थापित भएको हो। तर चीनको विकासले सबैमा साझेदारी प्रगति ल्याउँछ।’

यो भनाइ ती टिप्पणीकर्ताको मात्र होइन। अहिलेको चीनको घोषित मन्तव्य पनि हो। अमेरिका तथा युरोपले अफ्रिका र एसियाका गरिब मुलुकका प्राकृतिक सम्पदा लुटेर आफूलाई विकसित गराएको कुरा इतिहासका विभिन्न तथ्यले पुष्टि गरिसकेको छ। त्यसैले त पश्चिमा मुलुकहरू गरिब राष्ट्रका जनताको रगत, पसिना र आँशुबाट सिर्जना भएका हुन् भनिन्छ। यही कुराको काउन्टरमा चीनले बीआरआई अगाडि सारेको छ। बीआरआईको अभिलासा पनि सबैलाई विकासमा साझेदार गराउँदै चम्किलो मानव भाग्य समुदाय निर्माण गर्ने हो। चीनको यही घोषित नीतिभित्रको मन्तव्यमा रहेर नानमिआनले नेपाल जाने चिनियाँ रेलले दुवै देशको भविष्य उज्यालो रहेको संकेत गरेका हुन्।

‘स्याओचुयौछिआन’ नामक व्यक्तिको टिप्पणी ठ्याक्कै नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको जस्तै छ। प्रदीपकुमार ज्ञवालीले परराष्ट्रमन्त्रीको रूपमा पहिलोपटक चीन भ्रमण गर्दा सन् २०१८ को अप्रिलमा भनेका थिए ‘मलाई रेल चढेर सुन्दर हिमालयको दृश्य हेर्दै नेपालबाट चीनमा यात्रा गर्न मन छ।’ ज्ञवालीले चिनियाँ थुप्रै मञ्चमा यो कुरा बोलेका थिए।

ज्ञवालीले जस्तै स्याओचुयौले नेपाल र चीनबीचको रेलवे लाइनको सम्भाव्यता अध्ययनमा चीनले सघाउने समाचार सुनेपछि उनले यही जीवनमा रेल चढेर नेपाल भ्रमण गर्ने इच्छा जाहेर गरेका छन्। उनी लेख्छन् ‘नेपाल मेरो पर्यटन गन्तव्य सूचिमा रहिरहन्छ। मेरो जीवन अवधिमै पक्कै रेलमार्ग नेपाल पुग्नेछ। सेवा निवृत्ति जीवन असल हुनेछ।’

यही भएर होला जेफतसिङ खोङचिल्भ नाममा एक व्यक्तिले भविष्यमा रेल चढेर नेपाल जाने र त्यहाँबाट देखिने चमचम ताराको फोटो खिच्ने रहर व्यक्त गरेका छन्।

लुफान सियाङसङ नाम सञ्जाल प्रयोगकर्ताले चिनियाँ रेललाई नेपाल लाँदा कतै भारत तगारो त बन्ने होइन भन्ने कुरालाई इङ्गित गरेका छन्। भारतले एसियामा आफू बाहेक अरू कोही ठूलो छैन र आफ्नो सहमति बिना कसैले केही गर्न सक्दैन भनेर भाँजो हाल्न सक्छ भन्ने आशय उनको हो। त्यही भएर त उनले प्रतीकात्मक रूपमा आफूलाई भारतको रूपमा उभ्याएर व्यङ्ग्य गर्दै लेखेका छन् ‘भारत म यो कुरालाई अस्वीकार गर्छु। एसियामा कुन मुलुक साँच्चिकै ठूलो हो?’

चीनमा नेपालका बारेमा थुप्रै मिथक छ। हँसिला अनुहार भएका मान्छे बस्ने ठाउँ, सानो तर बहुसङ्ख्यक संस्कृतिको धनी देश, प्राकृतिक सौन्दर्यले भरिपूर्ण, रातभर चमचम तारा चम्किने आकाश देखिने ठाउँ आदि। यही भएर होला जेफतसिङ खोङचिल्भ नाममा एक व्यक्तिले भविष्यमा रेल चढेर नेपाल जाने र त्यहाँबाट देखिने चमचम ताराको फोटो खिच्ने रहर व्यक्त गरेका छन्।

शिथान नामक व्यक्तिले चीनबाट नेपालमा रेल पुर्‍याउन त्यति कठिन नभएको कुरा उल्लेख गरेका छन्। चीनले अत्यन्त कठिन भूगोल पार गराएर ल्हासामा रेल पुर्‍याइसकेकाले त्यसको तुलनामा नेपाल लान केही सहज हुने भन्दै उनी लेख्छन् ‘दुई देशबीचमा अग्ला हिमाल भएकाले रेलमार्ग निर्माण गर्न कठिन हुन्छ भन्ने सबैको सोचाइ छ। वास्तवमा छिङ हाई–तिब्बत रेलमार्ग जति गाह्रो छैन होला।’

कावोइरफुले हिमालय पर्वत पार गरेर नेपालमा रेल गुडाउने कुरा चलचित्रको कथा जस्तै तिलष्मी हुने लेखेका छन्। उनका शब्द छन् ‘सुरुङ खनेर हिन्द महासागरको न्यानो हावा भित्र्याउने चलचित्रको विषय जस्तो लाग्यो मलाई।’

थुथुक्वान नामका एक व्यक्तिले आफ्नो बाल्यकालको लोककथा जस्तो हिमालमा रेल गुडाउने कुराको स्मरण गरेका छन्। सानोमा उनी सेरामिक इँटाको पर्खाल बनाएर हिमालको शिखरमा पुग्ने कल्पना बुन्थे। अहिले त्यही हिमाललाई चिरेर रेल गुड्ने कुरा उनको बाल्यकालको सपनाभन्दा कम रोमाञ्चक छैन। उनी लेख्छन् ‘सानो हुँदा मेरो सपना थियो, एक लामो पर्खाललाई सेरामिक टाइल टाँस्ने र हिमाल लिफ्ट राख्ने हो। अब त साँच्चै साकार हुन्छ कि के हो।’

तिआनफङलियाङले बीआरआई परियोजनाको परिकल्पनामा नेपालमा चिनियाँ रेल पुग्ने र यो महान् काम हुने अनुमान गरेका छन्। उनको टिप्पणी यस्तो छ ‘वेल्ट एन्ड रोड हिमालय पार हुन्छ, यो मानव जातिको महान् कार्य हो।’

चिनियाँहरू २१ औँ शताब्दीलाई एसियालीको शताब्दी मान्छन्। अमेरिका र युरोपले विकास गरिसकेको हुनाले विश्व चम्काउने पालो अब एसियाको हो भन्ने कुरा अर्थशास्त्रीहरूले पनि घोषणा गरेका छन्।

चिनियाँहरू २१ औँ शताब्दीलाई एसियालीको शताब्दी मान्छन्। अमेरिका र युरोपले विकास गरिसकेको हुनाले विश्व चम्काउने पालो अब एसियाको हो भन्ने कुरा अर्थशास्त्रीहरूले पनि घोषणा गरेका छन्। यही कुराको झल्को दिने गरी हिमाल पार गरेर नेपाल जाने चिनियाँ रेलको समाचार पढेपछि सुताशुई नामका व्यक्तिले लेखेका छन् ‘असल साथी, एसिया एसियालीको एसिया हो।’

चिनियाँ इन्टरनेटमा भेटिएका थुप्रै प्रतिक्रियामध्ये उल्लिखित टिप्पणी केही नमुना मात्र हुन्। चिनियाँ रेल नेपाल आइपुगोस् भन्ने नेपालीमा भएको चासो जस्तै चिनियाँमा पनि नेपालमा चिनियाँ रेल पुगोस् भन्ने चाहना छ। रेलमा यात्रा गरेर छिमेकी मुलुक नेपाल घुम्न जान पाऊँ भन्ने चाहना उनीहरूमा भएको बुझिन्छ।


Comment

2 thoughts on “रेल चढेर नेपाल जाने चिनियाँको सपना

  1. राम्रो खोज र जानकारीमूलक लेख। लेखकलाई बधाई छ!

Leave a Reply to लीलामणि Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved