सभामुखले बोलाए मुख्य दलका शीर्ष नेतालाई, कांग्रेसको माग मुख्य एजेण्डा

नेपालभ्युज

सभामुखले बोलाए मुख्य दलका शीर्ष नेतालाई, कांग्रेसको माग मुख्य एजेण्डा

काठमाडौं । सभामुख देवराज घिमिरले आज शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

छलफलका लागि उनले प्रमुख दलका शीर्ष नेताहरुलाई बिहान साढे ११ बजे सिंहदरवार बोलाएका छन् ।

संसदको बजेट अधिवेशनलाई विना अवरोध सञ्चालनको प्रयासस्वरुप सभामुखले नेताहरुलाई संवादका लागि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाएका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानविन गर्न संसदीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अवरोध गर्दै आएको छ ।

कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन सुरु हुनुअघि छलफलका लागि बैठक बोलाएका हुन् ।

सभामुख घिमिरेले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुईपटक शीर्ष बैठक बोलाएका थिए ।

संसदको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुँदै छ । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरुसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलगअलग भेट गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved