भारतको लोकसभा चुनाव

गान्धी-नेहरु विरासतमा प्रियंकाको स्थान : चुनाव नलडेकी ‘स्टार प्रचारक’

यसपटक पनि कांग्रेसले राम्रो नतिजा ल्याउन सकेन भने राहुलको छवि, नेतृत्व र निर्णय क्षमतामा प्रश्न उठ्ने छ । र, त्यसपछिका दिनमा प्रियंकाका लागि सबै प्रकारका सम्भावनाको ढोका खुल्नेछ ।

नेपालभ्युज

गान्धी-नेहरु विरासतमा प्रियंकाको स्थान : चुनाव नलडेकी ‘स्टार प्रचारक’

काठमाडौं । भारतमा १८औं लोकसभा निर्वाचन जारी छ । सात चरणमा हुने मतदानको दुई चरण पूरा भइसकेको छ । तेस्रो चरणका लागि मंगलबार मतदान भइरहेको छ ।

यस चुनावमा प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको ‘स्टार प्रचारक’ बनेर देखा परेकी छन्— प्रियंका गान्धी । उनी रोड शो र आम सभाका लागि भ्याइनभ्याइ देश दौडाहामा व्यस्त छिन् ।

तर, रमाइलो के छ भने उनी आफैँ भने चुनाव लडेकी छैनन् । उत्तर प्रदेशको रायबरेलीबाट प्रियंका गान्धी उम्मेदवार बन्ने चर्चा थियो । अन्तिम समयमा कांग्रेस नेतृत्वले रायबरेलीबाट राहुल गान्धीलाई उठाएको छ ।

राहुल केरलाको वायनाडबाट समेत उम्मेदवार छन् । सन् २०१९ मा राहुल वायनाड र अमेठीबाट उम्मेदवार थिए । अमेठीमा भारतीय जनता पार्टी (भाजपा) स्मृति इरानीसँग पराजित भएका थिए भने वायनाडमा जितेका थिए ।

अमेठी र रायबरेली गान्धी परिवारको लामो समयदेखिका पारिवारिक निर्वाचन क्षेत्र हुन् । रायबरेलीमा सन् १९५१ को पहिलो लोकसभा निर्वाचनदेखि फिरोज गान्धी चुनाव लड्ने गरेका थिए । फिरोज गान्धी राहुल-प्रियांकाका हजुरबा तथा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका श्रीमान् हुन् । रायबरेलीबाट फिरोजले दुई र इन्दिरा गान्धीले तीनपटक जितेका थिए ।

सन् २००४ देखि यहाँ फिरोज-इन्दिारकी बुहारी तथा राजीवपत्नी सोनिया गान्धी चुनाव लड्न थालिन् । उनले लगातार ५ चुनाव जितिन् । यसपटक रायबरेलीबाट प्रियंका गान्धी चुनाव लड्ने आकलन थियो । कारण, आमा सोनिया गान्धी हालै राज्यसभा सदस्य नर्वाचित भएकी छन् । र, दाजु राहुल गान्धी वायनाडबाट उम्मेदवार भइसकेका थिए ।

राहुलले दोस्रो निर्वाचन क्षेत्र लिन परे अमेठी रोज्ने अनुमान थियो । किनकि राहुलले सन् २००४ बाट अमेठीमा चुनाव लड्न थालेका थिए । लगातार तीन चुनाव जितेका थिए । चौथोपटकमा भने उनी पराजित भए ।

अमेठीमा सन् १९८० बाट सञ्जय गान्धी चुनाव लड्न थाले र जिते । सञ्जय फिरोज-इन्दिराका दोस्रो सन्तान थिए । इन्दिरापछि गान्धी-नेहरु परिवारको राजनीतिक उत्तराधिकार सञ्जय गान्धीमा सर्ने ठानिएको थियो तर, एक हवाई दुर्घटनामा उनको निधन भएपछि जेठा छोरा राजीव गान्धी राजनीतिमा आए । भनिन्छ— राजीव गान्धीमा राजनीतिप्रति त्यति धेरै रुचि थिएन । तर, दुर्घटनामा भाइ सञ्जयको निधन र आमा इन्दिरा गान्धीको हत्यापछि उनी राजनीतिमा आउन बाध्य भए ।

राजीव गान्धीले अमेठीबाट चारपटक जिते । सन् १९९९ मा एकपटक सोनिया गान्धीले जितिन् । अमेठीमा ८ पटक गान्धी परिवारका सदस्य निर्वाचित भए ।

सञ्जय गान्धीको निधनपछि भने गान्धी परिवारमा राजनीतिक फुट भयो । सञ्जयकी पत्नी मेनका र छोरा बरुण गान्धी अहिले भाजपामा छन् । सञ्जयको निधनपछि बुहारी मेनका परिवारको राजनीतिक विरासत आफूमा सरोस् भन्ने चाहन्थिन् । तर, इन्दिराको छनोटमा छोरा राजीव गान्धी परे । यही विवादले मेनकालाई कांग्रेस विरोधी खेमामा पुर्‍यायो ।

सन् १९८४ मा मेनका राजीव गान्धीविरुद्ध अमेठीमा स्वतन्त्र उम्मेदवार बनिन् तर, पराजित बनिन् । मेनका र उनका छोरा बरुण सुल्तानपुर र पिलिभित निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरेका छन् । यसपटक भने बरुण गान्धीले टिकट पाएका छैनन् ।

अमेठीमा कांग्रेसले गान्धी परिवारका निकट मित्र किशोरीलाल शर्मालाई टिकट दिएको छ । अर्थात् प्रियंका गान्धी चुनाव लड्ने सम्भावना यसपटकका लागि समाप्त भएको छ ।

सानै उमेरदेखि आमा सोनिया गान्धीको चुनावी अभियानमा रायबरेली जाने गरेकी प्रियंका सन् २०१९ बाट मात्र औपचारिक पार्टी राजनीतिमा आएकी हुन् । उनलाई पार्टी राजनीतिमा प्रवेशसँगै महासचिव र उत्तरप्रदेश पूर्वाञ्चल क्षेत्रको इन्चार्ज बनाइएको थियो । सन् २०२२ को उत्तर प्रदेश विधानसभा निर्वाचनको कमाण्ड प्रियंकाले सम्हालेकी थिइन् । तर, उनको अभियान खासै सफल भएन । ४०३ सदस्यीय विधानसभामा कांग्रेसले २ सिट मात्र जित्यो ।

भारतीय राष्ट्रिय कांग्रेसका निर्वाचित अध्यक्ष मल्लिकार्जुन खड्गे पनि राज्यसभा सदस्य छन् । उनी लोकसभा निर्वाचनमा उम्मेदवार छैनन् । प्रियंका अहिले कांग्रेस कार्यसमिति सदस्य छन् । पार्टी मर्यादाक्रममा उनको स्थान २२ औं नम्बरमा छ । आमा सोनिया गान्धी दोस्रो नम्बरमा छन् भने दाजु राहुल गान्धी तेस्रो नम्बरमा ।

तर, यसपटकको चुनावमा पार्टीको स्टार प्रचारक भने प्रियंका देखिएकी छन् । उनी चुनावी प्रचारमा दिनरात दौडधुप गरिरहेकी छन् । प्रियंका गान्धीलाई रायबरेलीबाट उम्मेदवार किन बनाइएन र गान्धी परिवारले अमेठी किन छोड्यो भन्ने बारेमा अनेक अड्कलबाजी चलिरहेको छ ।

प्रियंका उम्मेदवार नभएको खण्डमा आफू रायबरेलीबाट उम्मेदवार हुन इच्छुक रहेको प्रियंकाका पति रोबर्ट बाड्राले सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, ज्वाइँ बाड्राले पनि टिकट पाएनन् ।

भारतीय राजनीतिमा यसको अर्थ खोजी भइरहेको छ । अनेक प्रश्नमाथि चर्चा भइरहेका छन् । जस्तै, के अमेठी छोडेर गान्धी परिवार प्रतिरक्षात्मक भएको हो ? डराएको हो ? के राहुल गान्धी अमेठीप्रतिको नैतिक उत्तरदायित्व बहन गर्नबाट पछि हटेका हुन् ? के आमा सोनिया गान्धी राज्य सभा सदस्य रहेको र दाजु राहुल गान्धी पार्टीको मूल नेताका रूपमा ‘प्रोजेक्ट’ भइरहेको कारण परिवारवादको थप आरोप लाग्ने भयले प्रियंका उम्मेदवार नभएकी हुन् ?

के गान्धी परिवारका तीन सदस्यबीच पारिवारिक वैमनस्यता भएको हो ? आमा सोनियाले छोरा राहुललाई फेभर गरेर छोरी-ज्वाइँलाई राजनीतिबाट टाढा राख्न खोजेकी हुन ? स्वयम् प्रियंका रायबरेलीबाट उम्मेदवार हुन इच्छुक थिइन वा थिइनन् ?

विश्लेषक भन्छन् कि प्रियंका आफैँ चुनाव लड्न अनिच्छुक भएकी हुन सक्दछिन । उनी आफूलाई भविष्यका लागि जोगाउन चाहन्छिन् । उनलाई राम्रो थाहा छ, कांग्रेसमा नेहरु-गान्धी परिवारको वर्चस्व सजिलै कमजोर हुनेवाला छैन । र, कुनै न कुनै दिन पार्टी सत्ता प्रियंकाको हातमा आउने सम्भावना छ । जस्तो कि नेहरुपछि यसको उत्तराधिकार छोरी इन्दिरा गान्धीमा गएको थियो ।

तर, इन्दिरा एक्ली छोरी थिइन् । राहुल र प्रियंकाबीच भने उत्तराधिकारको आन्तरिक प्रतिस्पर्धा हुने देखिन्छ । ५४ वर्षीय राहुल अहिलेसम्म अविवाहित छन् । प्रियंकाका भने श्रीमान् एक छोरा र एक छोरी छन् ।

राहुलमा एक प्रकारको सन्त चरित्र देखिन्छ । सत्तारुढ दल भाजपाका नेताहरू उनलाई ‘राहुल बाबा’ भन्ने गर्दछन् । सन् २०१९ को हारपछि उनले पार्टी सभापतिबाट राजीनामा गरेका थिए । भनिन्छ— राहुलमा आन्तरिक पार्टी सत्ता होल्ड गर्ने चाहना, रुचि र क्षमता छैन । तसर्थ, उनी ‘मास पोल्टिक्स’ मा सीमित भएर बैनी प्रियंकाका लागि पार्टी सत्ता सहज बनाइदिन चाहन्छन् ।

विश्लेषणको अर्को पाटो पनि छ कि स्वयम् प्रियंका राहुलको बुताबाट के कति हुन सक्दछ भन्ने परीक्षण हुन दिन चाहन्छिन् । यसपटक पनि कांग्रेसले राम्रो नतिजा ल्याउन सकेन भने राहुलको छवि, नेतृत्व र निर्णय क्षमतामा प्रश्न उठ्ने छ । र, त्यसपछिका दिनमा प्रियंकाका लागि सबै प्रकारका सम्भावनाको ढोका खुल्नेछ ।

पार्टीभित्र भने राहुलको भन्दा प्रियंकाको पकड बलियो हुँदै गएको बताइन्छ । गान्धी परिवारको पहिलो प्राथमिकता अहिलेसम्म छोरा राहुल नै देखिन्छन् तर, राहुलको नेतृत्वमा कांग्रेस बलियो हुन नसके भविष्यका लागि प्रियंकालाई ‘रिजर्भ’ राखिएको समेत हुन सक्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved