भोजपुरः तीन कविता

एकान्त एक्लो साँझ–बिहानमा
मलाई घिसार्दै छ एउटा कोठे चिहानमा
यसैले दुख्दै छ मेरो मनको वह
भोजपुर, तिमीलाई चाहिँ कस्तो हुँदै छ ?

नेपालभ्युज

भोजपुरः तीन कविता

भोजपुरमा आफूलाई भेट्नुको त्यो क्षण

शैलेन्द्र साकार

भोजपुर पुगेर भोजपुर कहाँ छ सोधेछु
पुरानो भोजपुर खोज्दै
पुराना भग्नावशेषहरूमा
सिद्धकालीको गुफाका चमेराहरूसँग
टुँडिखेलमा एक्लै घुमिरहेको चरासँग
टोलाइरहने बूढाका इतिहास आँखाहरूसँग
भोजपुर कहाँ छ सोधेछु
कैयौँ साथीहरू मधेश झरिसकेछन्
कैयाैँ साथीहरूले सदाका लागि बिदा मागिसकेछन्
कैयौँ अनुहारहरू खोज्न थालेछन् पार्टी, कुर्सी र फाइदा
कैयौँ साथीहरूका आँखामा
परिचयको एउटै चिह्न समातेर झुन्डिइरहनुपर्ने
पुरानो बाथ रोगजस्तो भोजपुरले
जोडनीहरू कक्रक्क पारेर दुखाइरह्यो
पार्टीले छुटाएका मित्रहरू
झन्डाले छुटाएको आत्मीयता
फेरि गाँस्तै ढुङ्गा भइसकेको मन फोर्न
बजारभरि दौडिइरहेँ
आफन्तहरूले शंका गरे
नेताहरूले शंका गरे
दुःख बाँड्न गएजस्तो
कोही तर्केको तर्केकै भए
अन्त्यमा
एउटा दुखिरहेको मनभित्र
भोजपुरलाई भेटेँ आफैँलाई भेटेजस्तो ।

 

मेरो प्यारो भोजपुर

–कृष्ण जोशी

मेरो प्यारो भोजपुर
सधैँ सम्झिरहन्छु
तीनधारा सातधारा बग्ने
अमृत जस्तो भोजपुरको पानी

छहरा पहरा
पिपल धारा डबली मेला
नाचिरहन्छन् हरदम मभित्र
मृग कस्तुरी डाँफे ट्याम्के र सुन्तलेका

सतीकी आँखा सिद्धकाली
पृथ्वीले चम्काएका करुवा खुकुरी
प्रथम पाठशाला दिङ्लाली
तामा पैसा टक मार्ने टकसारी

गुराँसजस्ता रातापीरा
सुन्तला रङकी अप्सरा
श्रम र सीपमा अनेक जातका पाखुरा
लहलह खेतबारी गरागरा

सुक्ने छैन कहिल्यै
साहित्य कला इतिहास बग्ने
तीनधारा सातधारा
चम्किरहेछन् चारैतिर भोजपुरे सितारा
मेरो प्यारो भोजपुर ।

 

भोजपुर तिमीलाई कस्तो हुँदै छ ?

–नारदमणि हार्तम्छाली

तिमी र म यौटा भेट– संयोग सौदा
जान–पहिचान, आदानप्रदान एउटा मौका
तर सरल उत्सुकता भयो भावुकता
आफूलाई बिर्सन्छु तिमीलाई सम्झिँदा
कहिलेकाहीँ झस्कन्छु स्व–सचेत भइदिँदा ।

तिमी फक्रेको फूलमा देवताले शिर चढाएकै छैन
मैले त मन्दिरमै देवी नभेटेको भने होइन
भन्न सकिन्न के साइनो छ र
यो र त्यो मुटुको वरपर
भेट्दामा ‘हाइहेलो’ र छुट्दामा ‘बाई’ बोल्यो
तर मन त्यतिले चित्त बुझाउँदैन
किनकिन बहकिन्छ आफूभित्र लुकाउँदैन ।

एउटा साँझ धर्ती–आकाश जोडिएको दृश्य
झ्यालबाट बाहिर–भित्र चिहाउँदाको चित्र
तिम्रो साथ मनको दैलो ओठले खोलेको
सर्माउँदै पग्लिएर बोलेको – एउटा मर्मभेदी मिलन
चकचके म, चुलबुले तिमी– समभावमा आरती
न्यानो स्पर्शज्वरो– माया हो कि पिरती ।

तिम्रो कल्पनामा म नायक न खलनायक
मेरो यथार्थतामा तिमी उत्तेजित ऊर्जावाहक
यो नै अर्धपागल सोचको सूकल्पना हो सायद
अर्को अमिट क्षणका कस्तो कुतकुते सच्चाइहरू
एउटा विपनाका अप्ठ्यारा अनकन्टार मज्जाहरू
अर्को, अमिट क्षणको कस्तो कुतकुते सच्चाइहरू
हो, हामी विपरीत ध्रुवका सहसंवाहनहरू
तर एउटै दर्शनको सारा जीवन र जगत्
मान्छे र माटो छुँदाको हाम्रो कसम–
तातो र रातो शहिदको रगत ।

हिमालको आँसुमा पहाडको पसिना घोलेर
अरूण नदीमा सकीनसकी पौड्दै
गंगा र सिन्धुलाई महासागरमा जोडेर
पैतालामा विरोधीलाई कुल्चिएर दौडिँदै
थोरै मरी धेरै बाँच्ने संघर्षको सुसपना सार
यो आत्मविश्वास– मूल आदर्श हो
दह्रो छ हाम्रो माटोको वर्गीय आधार ।

तिमीलाई न सम्झिराख्न सक्छु न बिर्सन नै
पानीले तिर्खा जगायो कि तिर्खाकै तिर्सनामै
त्यो मौका, विपना आम्ने र सपना साम्ने भएर
यो धड्कनको तापमान चढेथ्यो
साउने र मैयुडाँडाको थुम्काहरू मुसार्न
यो हत्केला सक्सकाएर बढेथ्यो
हो, खकुवा–पिखुवाको पानी सलबलाएर
साल्पापोखरीको गहिरो आँखामा
ट्याम्के र सिलिचुङको ओठहरू चुम्दै
दिङ्ला र घोरेटारको पिँडुला छाम्दै
उन्मुक्तिको रातो झन्डा गाड्न
भोजपुर बजार पसेको ‘म’
केही साँझहरू भन्ज्याङमै बास बसेको ‘म’
तर आज मनको निकटता र तनको विकटतामा
प्रचलित विधान पनि छ तगारो
त्यो नै मेरो औपचारिक गृहराज्य हो
जसले केही विपनाका खाजा पचाउँदै
केही सपनाका भात बचाउँदै
एकान्त एक्लो साँझ–बिहानमा
मलाई घिसार्दै छ एउटा कोठे चिहानमा
यसैले दुख्दै छ मेरो मनको वह
भोजपुर, तिमीलाई चाहिँ कस्तो हुँदै छ ?
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved