स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाउने अभियान एमालेको नेतृत्वमा : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये एमालेले २६ जना प्रमुख र ३४ जना उपप्रमुख जितेको छ।

नेपालभ्युज

स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाउने अभियान एमालेको नेतृत्वमा : अष्टलक्ष्मी शाक्य

काठमाडौं। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाउने अभियान एमालेको नेतृत्वमा हुनुपर्ने बताएकी छन्। शुक्रबार नेकपा एमालेको बामगती प्रदेश कमिटीले प्रदेशभित्रबाट स्थानीय तहको प्रमुख र उपप्रमुखमा विजयी भएका जनप्रतिनिधिहरूलाई सम्मान र हौसलासहित बधाई ज्ञापन गर्ने समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले राम्रो काम गर्ने भनेकै एमालेले हो भनेर स्थापित गर्नुपर्ने बताइन्।

निर्वाचित भएका प्रमुख र उपप्रमुखलाई मेहेनत गरेर काम गर्न निर्देशन दिँदै शाक्यले पार्टी र स्थानीय सरकार जनप्रतिनिधिको सम्बन्ध विगतको जस्तो हुन नहुने बताइन्। उनले विगतको पाठबाट सिकेर अहिले पार्टी र जनप्रतिनिधि सँगसँगै अघि बढ्नुपर्ने बताइन्।

शाक्यले पहिला (२०७४ को चुनावमा) फस्ट भएको बागमती अहिले (२०७९ को चुनावमा) थर्ड भएको भन्दै अब यत्तिकैमा चित्त बुझाएर बस्न नहुने बताइन्। उनले पार्टीले योजना बनाएर काम अगाडि बढाउनुपर्ने बताइन्।

उपाध्यक्ष शाक्यले समाजलाई रुपान्तरण गर्न जनप्रतिनिधिले नेतृत्व गर्नुपर्ने र ती नेतृत्व गर्नेहरू एमालेको हुनुपर्ने भन्दै विजयी भएका प्रतिनिधिलाई हौसला पनि बाँडिन्। उनले सुशासनको स्थापनाका लागि सबैले भ्रष्टाचारविरूद्ध अभियान चलाउनुपर्ने बताइन्।

पछिल्लो समय राष्ट्रियताको सवालमा गम्भीर विषयहरू सार्वजनिक भइरहेको भन्दै त्यसका लागि लड्नै परे पनि तयार रहन नेता कार्यकर्तालाई शाक्यले निर्देशन पनि दिइन्।

सोही कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिले विगतमा पार्टीसँग समन्वय नगरेको बताउँदै नवनिर्वाचितहरूबाट त्यस्तो व्यवहार नहोस भनेर सचेत गराए। उनले विगतमा नमिठा कुराबाट पाठ सिक्ने र मिठा कुरालाई थप मजबुद बनाउनुपर्ने बताए।

बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले पार्टीका नीति निर्देशन मान्दै सबैको समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताए। उनले पार्टीको घोषणापत्र कार्यान्वयन गर्नेमा विशेष जोड दिन निर्वाचित प्रतिनिधिलाई निर्देशन पनि दिए।

सोही समारोहमा नगरहरूको तर्फबाट प्रतिनिधिमुलक धारणा राख्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुई पटक चुनाव जितेका प्रतिनिधिले आफ्ना अनुभव बाँडेर नयाँहरूलाई काममा अघि बढ्न सहयोग गर्नुपर्ने बताइन्। उनले सबैले मिलेर काम गर्नुपर्ने भन्दै चुनाव जित्न सहयोग गर्ने पार्टी र पार्टीका आम कार्यकर्ताको भावनामा कसैले पनि देलबाड नगरी काम गर्नुपर्ने बताइन्।

त्यस्तै, जिल्ला समन्वय समितिको तर्फबाट प्रतिनिधिमुलक भनाइ राख्दै चितवनका प्रमुख नारायण अधिकारीले पैसा नै नभएको निकायमा बसेर काम गर्दा कठिन हुने बताए। उनले जिल्लाको सरकारी अस्पतालमा डाइलासिस मेसिन किनिदिन पर्यो भन्यो अनुरोध आउँदा पनि सहयोग गर्न नसकेको बताए। उनले बजेटका लागि समन्वय गरिदिन पार्टी नेतृत्व समक्ष अनुरोध गरे।

गाउँपालिकाहरूको तर्फबाट प्रतिनिधिमुलक भनाइ राख्दै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका प्रमुख झंक नेपालले घात अन्तर्घातको समीक्षा हुनुपर्ने बताए। उनले अबको दिनमा पार्टीको इमान्दार कार्यकर्ताले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए।

एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्ताैलाका अनुसार बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये एमालेले २६ जना प्रमुख र ३४ जना उपप्रमुख जितेको छ। एमालेले १७ ओटा गाउँपालिका अध्यक्ष र ९ ओटा नगरपालिकाको प्रमुख जितेको छ।

त्यस्तै, ११२१ वडामध्ये एमालेले ३६३ वडामा विजय प्राप्त गरेको छ। बागमतीको कुल ५ हजार ८०६ जना जनप्रतिनिधिमध्ये एमालेबाट २ हजार ५५ जना निर्वाचित भएका र जिल्ला समन्वय समितिको नेतृत्वमा रसुवा, चितवन र भक्तपुरमा एमालेको नेतृत्व स्थापित भएको उपसचिव बर्ताैलाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved