गणेशमानको परिवारकी भएकाले मेयरमा उठाएको सत्य होइन : सिर्जना सिंह (भिडिओ)

उनले भनिन्, ‘‘सबैजना उत्साहित हुनुहुन्छ। म अहिले हिँड्दा सबैले साथ दिनुभएको छ, सबै खुशी हुनुहुन्छ। मैले जितिसकेको जस्तो अनुभव भएको छ।”

नेपालभ्युज

गणेशमानको परिवारकी भएकाले मेयरमा उठाएको सत्य होइन : सिर्जना सिंह (भिडिओ)

काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहले आफूले जित्नेमा शंका नभएको बताएकी छन्। सिंह परिवारले अहिलेसम्म भ्रष्टाचार र सामाजिक विचलनको काम नगरेको दाबी गर्दै उनले सिंह परिवारलाई अधिकांश काठमाडौंवासीले विश्वास गर्ने बताइन्।

उनले यसपटक महानगरको मेयरमा आफू विजयी बन्नेमा शंका नरहेको बताइन्।

आफू उम्मेदवार बनेपछि आफूले चाहे जस्तो काठमाडौं बन्ने भयो भनेर काठमाडौंवासीहरू उत्साहित भएको जिकिर उनले गरिन्। उनले भनिन्, ‘‘सबैजना उत्साहित हुनुहुन्छ। म अहिले हिँड्दा सबैले साथ दिनुभएको छ, सबै खुशी हुनुहुन्छ। काठमाडौंवासी अब केही हुन्छ कि भन्नुहुन्छ। मैले जितिसकेको जस्तो अनुभव भएको छ। अब आधा लडाइँ मात्रै लड्न बाँकी छ। वैशाख ३० गते।”

सिंह परिवारलाई काठमाडौंवासीले विश्वास गर्ने भए पनि गणेशमानको परिवारमा जोडिएकै कारण प्रमुखमा उठाएको भन्ने सत्य नभएको दाबी उनले गरिन्। आफूले १७ वर्षको उमेरमा नै विभिन्न राजनीतिक कार्यक्रमहरूको अगुवाइ गरेको, प्रजातन्त्रका लागि सहभागी बनेको र जेल जीवन पनि भोगिसकेकोले बिना तथ्य र झूटो आरोप लगाउने काम अन्य राजनीतिक दलका नेताहरूले गरेकोमा असन्तुष्टि पोखिन्।

आफू आफ्नो जन्मघर गोरखादेखि नै राजनीतिमा सक्रिय रही २०३६ सालमा महिला बहुदल प्रचारप्रसार समिति गोरखाको अध्यक्ष बनिसकेको स्मरण गर्दै उनले आफ्नो परिचय गणेशमान सिंह, मंगलादेवी सिंह र प्रकाशमान सिंहमा मात्रै सीमित नभएको बताइन्।

उनले भनिन्, ‘‘मैले विवाह हुनपूर्व नै राजनीति शुरु गरेकी थिएँ। देशको लागि प्रजातन्त्र ल्याउनको लागि जुलुसको नेतृत्व गर्दै, पुलिसको लाठी खाँदै हिरासतमा बसिसकेको छु। सिंह परिवारसँग जोडेर मलाई हेर्न सुहाउँदैन।”

कांग्रेसले महिलालाई मेयरमा अघि सार्नु सबै महिलाहरूहरूको जित भएको उनको भनाइ थियो। काठमाडौं महानगरलाई महाघर बनाएर कलंकलाई झूटो प्रमाणित गर्ने अवसर महिलाले पाएकाले काठमाडौंवासीहरू आफूले चाहे जस्तो काठमाडौं बन्ने भयो भनेर उत्साहित भएको बताइन्।

‘‘मतदाताको ठूलो अपेक्षा छैन, फोहोर व्यवस्थापन,  खाल्डाखुल्डी, धुलोरहीत, प्रदूषण कम हुन सडक, पानी, ढल व्यवस्थापन, नदीनाला सफा होस् यही माग छ,” उनले भनिन्, ‘‘मैले महानगरको जिम्मेवारी पाएपछि यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौती देखेको छु, अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु।”

उनले आफू विजयी भएपछि रोजगारी, ज्येष्ठ नागरिकलाई स्वासथ्योपचादेखि रमाइलो गर्ने ठाउँ र खुल्ला ठाउँहरु बनाउने सपनालाई शाकार पार्ने प्रतिवद्धता गरिन्। प्रत्येक वडामा स्वास्थ्य केन्द्र खोलेर सामान्य उपचार वडाबाट गराउने, आपतकालीन उद्धार टिम बनाउने उनको भनाइ थियो।

उनले महानगरमा जितेपछि व्यवस्थापनलाई चुनौति ठानेर त्यसको व्यवस्थापनलाई जोड दिने बताइन्। विगतका राम्रा कामलाई निरन्तरता र अव्यवस्थित शहरलाई व्यवस्थित र स्वच्छ बनाउने संकल्पसहित आफू चुनावमा होमिएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved