ब्लग

उम्मेदवारको मानवीय समवेदनाको मृत्यु

उम्मेदवारको मानवीय समवेदनाको मृत्यु

ललितपुरको लगनखेलस्थित महालक्ष्मी मन्दिर परिसरमा बुधबार दिनभरिजसो चहलपहल थियो। अपरान्ह त्यस्तै ४ बजेको हुँदो हो। मन्दिरको मूल ढोकामा नव वरवधु आफ्नो वैवाहिक जीवनको शुरूवात गर्दै थिए। विवाह मण्डपको काम सकिसकेका उनीहरू बेहुली अन्माउने तयारीमा थिए।

त्यही मन्दिर परिसरभित्र नेपाली कांग्रेसका कार्यकर्ता नाचगानको रमाइलोमा व्यस्त थिए। करीब ५० जनाको समूहमा रहेका कांग्रेसीहरू स्थानीय निर्वाचनको माहोल तताउँदै थिए।

‘रूख छाप’ सहितका झण्डा बोकेका कार्यकर्ताहरू ललितपुर महानगरका मेयर पदका उम्मेद्वार चिरिबाबु महर्जनको पखाइमा थिए।

मन्दिरको मूलढोकाबाहिर विपरीत वातावरण थियो। त्यहाँ खुशी होइन, शोक थियो। मन्दिरमा लामो समयदेखि बस्दैआएका एक पुरुषको पर्खालबाहिर सडकमा मृत्यु भएको थियो।

नेपालभ्यूजको टोली त्यहाँ पुग्दा दुई जना प्रहरीले शवलाई कुरिरहेका थिए। शवसम्म कोही नपुगोस् भनेर निषेध गर्न डोरी बाँधेका थिए।

प्रहरीलाई मैले जिज्ञासा राखेँ, “यी मानिस को हुन् ?”

प्रहरीले ठाडो जवाफ दियो, “यही सडकमा बस्ने मान्छे हो।”

प्रहरीको जवाफ यस्तो थियो, मानौँ त्यो मृत्यु कुनै भुस्याहा कुकुरको हो। उनको अनुहारमा समवेदनाको कुनै भाव नै थिएन।

मन खिन्न भयो। म फर्केर मन्दिर गेटमै पुगे। गेटको पल्लोपट्टि एकजना महिला र एक जना पुरुष चूपचाप बसिरहेका थिए। अनुहारभरि काला टाटा, घुँडामा फाटेको प्याण्ट अनि शरीरभरि झिँगा भन्किरहेको थियो। पुरूषका आँखा राता थिए।

छेउमै कर्ता–सलवार लगाएकी अर्की महिला आफ्नै घुँडामा कुइना राखी चिउँडोमा हात राख्दै टोलाइरहेकी थिइन्। त्यो शव ती महिलाकै आफन्तको हो भन्ने अनुमान लगाउन गाह्रो भएन।

म उनीहरूको नजिक गएँ। उनीहरूलाई हेर्दै थिएँ। मैले हेरेको थाहा पाएपछि ती महिला आवाज सुनिने गरी रुन थालिन्।

छेउका अर्का पुरुषले हात जोड्दै भने, “यो मेरी बहिनी हो। त्यहाँ मरेको मान्छे उसको बूढा हो।”

“कसरी यस्तो भयो ?,” मैले सोेधेँ।

प्रश्न झर्न नपाउँदै उनले जवाफ दिए, “हामी केही महिनादेखि यहीँ बस्थ्यौँ। उसको बूढा बिरामी थिए। खाना नखाएकै धेरै दिन भइसकेको थियो। आज त हामीलाई छोडेर गए। बहिनीलाई सहयोग गर्नुस् न, हजुर !”

पतिवियोगमा रोइरहेकी ती महिलाले के सोचेकी हँुदिहुन् कुन्नि ! मुखबाट शब्द निकाल्नै सकिनन्।

आँखाबाट बनिन्द्रधारा आँशु बगाइरहेकी ती महिला आफ्नो पतिवियोगमा ठूलो आवाज निकाल्न पनि डराइरहेकी थिइन्। शायद् उनलाई प्रहरीले हल्ला नगर्न उर्दी गरेको हुनुपर्छ।

उनीहरूसँगै कुरा गर्दामा करिब एक घण्टा बित्यो। चुनावी घरदैलोको तयारीमा रहेको टोलीमा केही मानिस पनि थपिए। प्रहरीले शवबाहन पर्खिरहेको थियो। छेउमै रोइरहेकी श्रीमतीको बेवास्ता गर्दै प्रहरीले ‘बेवारिशे शव’ भनेर अन्त्यष्टिका लागि लैजाने तयारी गरिरहेको थियो।

निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी भावी मेयर उम्मेद्वार एवम् हालका ललितपूर महानगर मेयर चिरिबाबु हस्याङ्फस्याङ गर्दै मन्दिरभित्र प्रवेश गरे। उनले मूलगेटछेउमै लगाएको निषेधको डोरीलाई उनले ध्यान दिएनन्।

कार्यकर्ताको हातबाट खादा, फूलमाला र रातो अबिर लगाएर उत्सव मनाइरहेको चिरिबाबुको टोली नाचगान र चर्का नारासहित गेटबाट बाहिर निस्किदा पनि कसैले पनि त्यहाँ भएको मृत्युको वास्ता नै गरेनन्।

मेरो मनमा असह्य भएपछि टोली खादा लगाएर नारा लगाइरहेका एक जना पुरुषलाई कोट्याएँ। उनले उत्साहित हुँदै सोधे, “झण्डा चहियो ?”

“होइन, यहाँ एक जनाको मृत्यु भएको तपाईंलाई थाहा छ ?,” मैले प्रश्न गरे।

“थाहा छैन,” सीधा उत्तर दिएर उनी सरासर आफ्नो बाटो लागे।

चिरिबाबु तुलनात्मक रूपमा जनतामा भिजेका मेयर भनेर चिनिन्थे। उनले ललितपुर महानगरको मेयरबाट गतसाता मात्र राजीनामा गरेका थिए। त्यस अर्थमा उनी यही ठाउँको निवर्तमान मेयर त हुन् नै, आगामी कार्यकालका लागि मेयरका उम्मेद्वार पनि हुन् तर चुनावको तनावमा हिँडेका उनीभित्र मानवीय समवेदना यति दयनीय अवस्थामा पुगिसकेको कल्पना मैले गरेको थिइनँ।

जनताका लागि काम गर्ने भन्दै नेतृत्वको यात्रा तय गरिरहेका उम्मेद्वारहरूले आफ्नो क्षेत्रमा भएको कोही मृत्युलाई यो हदसम्म वेवास्ता गर्छन् भन्ने शायद् कसैले सोचेकै हुँदैन। मैले पनि सोच्नै सक्दिनँ तर पद-प्रतिष्ठाको तृष्णाले यति क्रूर पनि बनाउनसक्छ मान्छेलाई !

मैले अर्को खादाधारी कार्यकतालाई पनि सोधेँ। उनले चाहिँ त्यो मृत्युबारे थाहा पाएका रहेछन्। उनले भने, “यही बाटोमा बस्ने मान्छे हो।”

उनको जवाफमा पनि किञ्चित समवेदना थिएन। कांग्रेसको झण्डा बोकेको टोलीले मन्दिरबाट दक्षिण हुँदै उत्तरको बाटो तर्फ लाग्यो। म भने अवाक बनुर उनीहरूलाई हेरिरहेँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved