प्रिय पात्र

मलाई मन परेका चार नारी पात्र

शरीरको चाहना बुझेको हुनाले नै उसले सोमदत्तलाई मनुवा दहमा नुहाइदिएर आदिवासी युवकझैँ सिँगारपटार गरी ओठमा चुम्बन खाएर यौनसम्बन्ध राख्न सक्ने उत्तेजित बनाएर पठाउँछे। उसमा रहेको अबोधपन, प्रेमको नैसर्गिक स्वरुपको आराधना, जमिनसित जोडिएको स्वभाव र तर्कशीलताले ऊ प्रिय लाग्छ।

मलाई मन परेका चार नारी पात्र

आख्यान विधा पात्रको चरित्रका कारण नै बढी बलशाली हुन्छ भन्ने म ठान्दछु। वास्तवमा पात्रको चरित्रमा उतारचढाव ल्याउनका लागि नै त्यसमा आकर्षक घटना र सोही अनुकूलको परिवेशको संयोजन कुशलतापूर्वक गरिएको हुन्छ। मैले पढेका केही आख्यानमा मन परेका पात्रको कुरा गर्ने हो भने त लामै होला। त्यसैले हतपती बिर्सन नसकिने विशेष गरी महिला पात्रहरूको सन्दर्भ मात्र यहाँ प्रस्तुत गरिएको छ। त्यस्ता केही पात्रहमा बसन्तिया, सुवानी, सकम्बरी र सुम्निमा पर्छन्।

बसन्तिया : पारिजातको उपन्यास ‘परिभाषित आँखाहरू’ की सहायक पात्र हो बसन्तिया। राजनीतिक संस्कारबिना नै स्कुल पढ्दा पनि विद्यार्थीमाथि हुन थालेको अन्यायका विरुद्धमा उभिने उसको आफूले गर्छु भनेर सोचेको कामकुरा गरिछाड्ने ढिँड्याहा स्वभावले मलाई अत्यन्त सम्मोहित गरेको छ। स्कुलमा एसएलसीको फारम भर्ने बेलामा शिक्षकले उसको नाम बसन्तियालााई परिवर्तन गरेर वसन्ती राख्न प्रस्ताव गर्दा जाति जनाउने आफ्नो नाम परिवर्तन गर्न नचाहेको उसको निर्णय स्वपहिचानबोधको अब्बल उदाहरण हो। त्यसैगरी आफूलाई मन नपरेको केटासित बिहे हुने निश्चित भइसकेपछि आफ्नो पढाइ र भविष्य सम्झिएर एक वचनमै राजन सरसँग भाग्ने निर्णय गर्नु, उपन्यासकी केन्द्रीय पात्र बिज्जीलाई असहज परिस्थितिमा पनि दह्रो साथ दिनु र अन्तिममा बलात्कारपछि हत्या गरिएकी बिज्जीको न्यायका लागि निडर भएर सङ्घर्षमा लागिरहनुले पनि मलाई उसको चरित्र खास लागेको छ।

सुवानी : पारिजातकै अर्को उपन्यास ‘अनिदो पहाडसँगै’ मा पूर्वी पहाडबाट पढ्न काठमाडौं आएकी जनजातीय पात्र हो सुवानी। पढ्दापढ्दै राजनीतिक संस्कार प्राप्त गरेर हरेक खालका उत्पीडनविरुद्ध लड्ने ऊ पार्टीको सङ्गठननिर्माणमा पनि अब्बल छे। उसको जुझारु स्वभाव निकै प्रिय लाग्छ। गाउँदेखि नै पछ्याउने केटाले बलात्कार गर्दा पनि निडर भई सीमान्तकृत समुदायको हितका निम्ति हिँडेकी सुवानीले दूध लिन पसल गएको बेला जिस्क्याउने केटालाई थप्पड लगाएर आफ्नो बलशाली पहिचान दिएकी छ। प्रगतिवादी नेपाली उपन्यासमा चित्रित सुवानी विशेष पात्र हो, जसले राजनीतिलाई नेतृत्वमा लिन्छे र कामकै क्रममा उसको हत्या हुन्छ। सङ्घर्षकी एउटी स्वप्निल चरित्र हो ऊ, सधैँ जीवन्त र उद्देश्यपूर्ण क्रियामा अथक परिश्रम गर्ने। उसले गरेका हरेक हिम्मतिला कामको सम्झनाले गौरवबोध गराउँछ मलाई।
सकमबरी : पारिजातको ‘शिरीषको फूल’ उपन्यासकी सकमबरी मेरी अर्की प्रिय पात्र हो। उसको सुन्दर पक्ष भनेको पुरुषसँग हाक्काहाक्की बोल्ने र प्रत्यक्ष चुनौती लिने क्षमता हो। सुयोगवीरलाई सबै सन्दर्भमा उसले तार्किक जवाफ दिन सक्षम छे र जीवनका बारेको उसको चिन्तन बलियो देखिन्छ, यद्यपि उसको सोच जीवनमुखी छैन तर ऊ आफ्नो सिद्धान्तमा अडिग छे। उसका हरेक निर्णय वैयक्तिक र अद्भुत छन्। कपाल पालेको मन पराएको भन्दा अर्को दिन कपाल ठुट्टै पारेर काट्नु, चुरोट नखाऊ भन्दा दशओटा खाइदिन्छु भन्नु, क्यान्सर लाग्ला भन्दा स्वागत छ भन्नु र चुम्बन गर्दा त्यसकै कारणले मृत्युवरण गर्नु उसको विशिष्ट पक्ष हुन्। बोलीको कठोरपन र पुरुषको दोहोलो काढ्न सिपालु सकमबरी नेपाली साहित्यकै अद्वितीय पात्र लाग्छ मलाई। उसको मृत्युन्मुख प्रवृत्ति कमजोरी हो। त्यसैले उसको अस्तित्वलाई निभाएको छ। तर, झट्ट पात्र सम्झिनुपर्दा सकमबरी नै मन पर्छ। पारिजातलाई जीवन्त बनाउने एउटी क्षमतासहितकी पात्र हो ऊ।

सुम्निमा : विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ उपन्यासकी सुम्निमा मलाई खुब मन पर्ने पात्र हो। उसको चिन्तन भौतिकवादी छ। उसको सोच माटोसित जोडिएको छ। उसको आकांक्षा सांसारिक भोगमा लक्षित छ। प्रेमलाई उसले शरीरको यौनचाहनासित जोडेर हेरेकी छ। जीवनका बारे उसमा कुनै आडम्बर र झुटो कल्पना छैन। त्यसैले उसले सोमदत्तलाई गरेको प्रेम निश्छल लाग्छ। कर्तव्यबाट पनि ऊ सोमदत्तजस्तो विमुख देखिन्न। शरीरको चाहना बुझेको हुनाले नै उसले सोमदत्तलाई मनुवा दहमा नुहाइदिएर आदिवासी युवकझैँ सिँगारपटार गरी ओठमा चुम्बन खाएर यौनसम्बन्ध राख्न सक्ने उत्तेजित बनाएर पठाउँछे। उसमा रहेको अबोधपन, प्रेमको नैसर्गिक स्वरुपको आराधना, जमिनसित जोडिएको स्वभाव र तर्कशीलताले ऊ प्रिय लाग्छ। अन्त्यमा आफ्नी छोरी र सोमदत्तको छोरालाई सम्झाएको कुराले उसप्रति झन् आस्था जगाउँछ।

समष्टिमा हेर्दा कृतिका पात्रहरू काल्पनिक मात्र होइनन्, तिनले वास्तविक मानवीय क्षमता र कमजोरीको प्रतिनिधित्व गरिरहेका हुन्छन्। उल्लिखित चार पात्रमा पनि उदारका साथै र केही कमजोर पक्ष पनि छन्, त्यसैले ती झन् मन पर्ने भएका हुन्। आदर्श पात्र र पश्चगामी चरित्रले मलाइ्र्र आकर्षित गर्दैनन्, तिनीहरूप्रति दया वा सहानुभूति मात्र प्रकट गर्न सकिन्छ, तिनमा घत पार्ने वा हृदयलाई तान्ने क्षमता पाइन्न। सङ्घर्षलाई पनि जीवनको एउटा शिक्षाका रुपमा लिने, प्रतिरोध गर्न सक्ने र समानुभूतिको स्वभाव भएका बसन्तिया, सुवानी, सकमबरी र सुम्निमा नै नेपाली आख्यानमा पाइने मेरा सर्वप्रिय पात्र हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved