कोभिडको चंगुलबाट उम्केर सामान्य अवस्थामा फर्किएको खेलकुद

कोभिडको चंगुलबाट उम्केर सामान्य अवस्थामा फर्किएको खेलकुद

काठमाडौं। वर्ष २०७८ खेलकुदको पुनरागमनको वर्ष हो। यसैकारण नेपाली खेलकुदका लागि मात्र होइन विश्व खेलकुदका लागि नै यो वर्षलाई उपलब्धिमुलक मान्नुपर्छ।

अघिल्लो वर्ष (वि.स.२०७७) कोभिड–१९ का कारण विश्व नै ठप्पजस्तै थियो। जसबाट खेलकुद जगत् पनि अछुतो रहन सकेन। बिस्तारै विश्वभरिका मानिसमा कोभिडबाट भाग्नेभन्दा पनि यसलाई आत्मसात गरेर जीवन चलाउनुको विकल्प नभएको बोध हुन थाल्यो।

हुन त यसैवर्षको वैशाखमा कोभिडका कारण नेपालमा लकडाउन भएको थियो। केही महीना सकसपूर्ण रहे। दैनिक संक्रमित हुने र ज्यान गुमाउनेको संख्या ठूलो थियो यसका बाबजुद कोभिडबाट बच्दै र जुध्दै आफ्नो नियमित कर्मलाई निरन्तरता दिने काम भयो।

विभिन्न बाध्यकारी नियम लगाएर भएपनि नेपालमा खेलकुद गतिबिधि पनि चलायमान भयो। विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना भए।

पुरानै ट्याकमा फर्केपछि उपाधि र उपलब्धि हासिल भए, यसबाहेक नेपाली खेलकुदका प्रमुख अवयबजस्तै मानिने : विवाद र  हस्तक्षेपकारी राजनिति वर्षभरी नै चलिरह्‍यो।

क्रिकेटले धेरै गुमायो, थोरै पायो

नेपाली क्रिकेटले यो वर्षको सुरुआतमा घरेलु सिरिजको उपाधि जितेको थियो। वर्षको अन्त्य पनि अर्को घरेलु सिरिजको उपाधिसँगै सुखद रुपमा गर्यो। तर वर्ष को पूर्वार्द्ध र उत्तरार्द्धमा हासिल भएको खुसीका आधारमा मात्रै समग्र नेपाली क्रिकेटको मूल्याङ्कन गर्न सकिँदैन।

यसबीच नेपाली क्रिकेटले धेरै गुमाएको छ। एक, विश्वकप छनोटको अवसर। दुई, नेपाली राष्ट्रिय टिमको एकता। र तीन, पारस खड्का।

फेरि एकपटक गुमेको विश्वकपको अवसर

यो वर्ष नेपाली क्रिकेटलाई दोस्रो पटक विश्वकप खेल्ने सुवर्ण मौका थियो। तर ओमानमा भएको विश्वकप छनोट प्रतियोगितामा नेपालले सबै खेल जित्यो, जित्नुपर्ने एक निर्णायक खेल बाहेक।

छनोटको समुह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले यो एक खेल जितेको भए यसै वर्ष अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउँथ्यो। तर सेमिफाइनलमा यूएईसँगको एक खेलको हारले यो वर्ष पनि विश्वकप यात्रामा पूर्णविराम लाग्यो।

नेपालले खेलेका पछिल्ला १० टी–ट्वान्टी खेलमा ९ खेल जितेको थियो। हारेको एक खेल भनेको त्यही विश्वकप छनोटको यूएईसँगको सेमिफाइनल खेल हो। सबैभन्दा महत्वपूर्ण र निर्णायक एक खेल हारेपछि बाँकी नौ खेल जितेको के काम ?

सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप पुर्‍याएका प्रशिक्षक पुबुदुको लक फ्याक्टरले पनि यो पटक नेपालको भाग्य बदल्न सकेन आठ वर्षपछि फेरि विश्वकप खेल्ने नेपालको आशा सकियो।

क्यान खेलाडी विवाद र टुटेको टिम

यो वर्ष नेपाली क्रिकेटमा धेरै झमेला भए। नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान र खेलाडीबीचको विवादका कारण एक समय नेपाली क्रिकेट नै दुर्घटनाउन्मुख थियो।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी तथा फाष्टबलरद्वय सोमपाल कामी र कमल सिंह ऐरीले क्यानले वार्षिक सम्झौताका लागि गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझेको प्रतिक्रिया मिडियामार्फत दिएका थिए।

यसैमा टेकेर क्यानले अनुशासन उल्लघंनको कारण देखाउदै चारै खेलाडीलाई कारबाही गर्‍यो। यी चारै खेलाडलाई कारबाहीस्वरुप सन् २०२२ को खेलाडी सम्झौतामा सुरुको ६ महीनाका लागि समावेश नगराउने निर्णय भयो।

ज्ञानेन्द्रको कप्तान दिपेन्दको उपकप्तान पद पनि हट्यो भने सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिइयो। पहिले टी–ट्वान्टी र त्यसपपछि एकदिवसीय टिमको कप्तान पनि सन्दीप नै बने।

यसपछि नेपाली क्रिकेट टिम दुई खेमामा बाँडियो, पुरानो कप्तान समर्थक एक समूह र नयाँ कप्तान समर्थक अर्को समूह। टिम भित्रको एकता पनि सकियो। यो कारबाही पछि खेलाडीहरुले राष्ट्रिय टिममा सहभागी नहुनेसम्मको निर्णय गरेका थिए।

यो सबै विवादको जड थियो क्यान भित्रको राजनिति र स्वार्थ समूहहरूको खेलाडी प्रयोग। खेलाडीले राष्ट्रिय टिम नै परित्याग गर्ने भएपछि फेरि नेपाली क्रिकेटमा आईसीसीको प्रतिबन्ध लाग्न सक्ने अवस्था आएको थियो।

तर, यसै वर्ष दोस्रो कार्यकालका लागि प्रमुख प्रशिक्षक बनेर आएका पुबुदु दासनायके नेपाली क्रिकेटका संकटमोचक बने। पुबुदले खेलाडी र क्यानबिचको झगडा मिलाउन मध्यस्तकर्ताको भूमिका निभाए। क्यान र खेलाडीबिच वार्ता भयो, कारबाही फिर्ता भयो, तर ज्ञानेन्द्रको कप्तानी फिर्ता भएन।

अन्त्यमा क्यानले सबै कुरा मिलायो, अथवा मिलेजस्तो भयो। सन्दीपको कप्तानीमा नेपाली टिमले विश्वकप छनोटसँगै थुप्रै खेल पनि खेल्यो। नेपाली टिमको विवाद सतहमा सकियो। तर टिमभित्र विभाजन अझै बाँकी नै छ। गुटमा विभाजित टिमका खेलाडीमा एकता अझै पनि बनिसकेको छैन।

पारस युगको अन्त्य

यसै वर्षदेखि नेपाली क्रिकेटबाट एक स्वर्णीम युगको पनि अन्त्य भयो जब पारसले गत साउनमा अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे। नेपाली क्रिकेटको वर्ष २०७८ को यो अर्को एउटा दुखद् घटना थियो।

सन् २००२ देखि नेपाली क्रिकेटको मुलधारमा प्रवेश गरेका उनी करिब १८ वर्ष यहाँ रहँदा नेपाली क्रिकेटको पर्यायजस्तै नै बनेका थिए। उनकै कप्तानीमा सन् २०१४ मा नेपालले पहिलो पटक र एक पटक मात्र टी–ट्वान्टी विश्वकप खेलेको थियो।

पारस कै कप्तानी र प्रदर्शनको योगदानमा सन् २०१० मा आईसीसीको विश्व क्रिकेट लिग डिभिजन–५ मा रहेको नेपालले आठ वर्षको अवधिमा लिग डिभिजन–५,४ र ३ को उपाधि जित्दै डिभिजन–२ सम्म पुगेको थियो। सन् २०१८ मा नेपालले आईसीसीको एकदिवसिय मान्यता प्राप्त गर्दा पनि पारस नै कप्तान थिए।

उनको सन्याससँगै नेपाली क्रिकेटको एक सफल युगको पनि अन्त्य भयो।

कालो बादलमा चाँदीको घेरा

विवाद र टिममा विभाजन भएपनि यो वर्ष नेपाली क्रिकेटमा केही राम्रा संकेत देखिएका छन्। पारस युगको अन्त्यसँगै नेपाली क्रिकेट पुस्ता हस्तान्तरणको क्रममा छ। युवा खेलाडी केन्द्रित राष्ट्रिय टिम निर्माणको प्रक्रिया थालिएको यो वर्ष झन्डै एक दर्जन नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यू गरेका छन्।

धेरै खेलाडीहरुले आशालाग्दो प्रदर्शन गर्दै नयाँ रेकर्डहरु पनि बनाए। सन्दीप एकदिवसीय र टी–ट्वान्टी दुबै फर्म्याटमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। दीपेन्द्रले टी–ट्वान्टी क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटरको रेकर्ड राखे।यस्ता धेरै रेकर्ड यस वर्ष नेपाली खेलाडीहरूले बनाएका छन्।

गत वैशाखमा नेपालमै आयोजना भएको नेदरल्याण्डस् र मलेसियासमेत सहभागी त्रिकोणत्मक टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको थियो। यसै सिरिजमार्फत नेपालको प्रमुख कमजोरीको रुपमा रहेको ब्याटिङमा निकै सुधार देखिएको थियो। तर सुधारको संकेत देखाएका पूर्वप्रशिक्षक डेभ वाटमोर आठ महीना पनि नटिकी नेपाली क्रिकेटबाट बिदा भए।

यसपछि वर्ष को अन्त्यमा पनि नेपालले पीएनजी र मलेसिया सम्मिलित घरेलु त्रिकोणत्मक टी–ट्वान्टी सिरिजको उपाधि जित्यो। यसै सिरिजमा गरेको सान्दार प्रदर्शनका कारण वर्षको अन्तिम दिनमा अलराउण्डर दीपेन्द्र सिंह ऐरी आईसीसीको विश्व वरियतामा शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी बने। उनी टी–ट्वान्टी फर्म्याटको अलराउण्डरतर्फ १० स्थानमा परेका हुन्।

फुटबलमा सफलताको वर्ष

कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीको आगमनले यो वर्ष नेपाली फुटबललाई निकै चर्चा र उचाईमा पुर्‍यायो। उनकै प्रशिक्षणमा वर्ष २०७८ मा राष्ट्रिय फुटबल टिमले ऐतिहासिक सफलता प्राप्त गरेको थियो।

नेपाली फुटबल इतिहासकै हालसम्मकै ठूलो उपलब्धिको रुपमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको उपविजेता बन्न सफल भएको थियो।

माल्दिभ्स्मा भएको साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपालले २८ वर्षमा पहिलो पटक फाइनलसम्म पुग्ने इतिहास रचेको थियो। तर फाइनलमा भने चिर प्रतिद्धन्दी भारतसँग पराजित भएपछि उपाधि जित्नबाट भने बन्चित बन्यो।

अलमुताइरीले प्रशिक्षण सम्हालेयता नेपालले अन्तर्राष्ट्रिय खेलमा फरक शैली र सुधारिएको खेल देखाउन थालेको छ।विशेषगरी सधैंजसो फरवार्ड लाइनमा चुक्ने गरेको नेपाली फुटबलको स्तरलाई उनले उकास्ने संकेत गरिसकेका छन्।

यो वर्ष नेपालले १४ अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दा पाँच खेलमा जित हात पारेको थियो भने दुई खेलमा बराबरी गरेको थियो। पहिलो पटक अप्रिकी मुलुकसँग प्रतिस्पर्धा गरेको नेपालले मौरिसससँगको दुबै मैत्रिपूर्ण खेल समान १–० ले जितेको थियो।

यस वर्षको शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि भने नेपाली फुटबलको नयाँ शक्तिको रुपमा उदाएको मच्छिन्द्र क्लबले जित्यो। लिगमा अपराजित रहदै मच्छिन्द्र लगातार दोस्रो वर्ष ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको थियो।

मैदानबाहिर पनि छाए अलमुताइरी

यो वर्ष टिमसँगको सफलताका कारण मैदानभित्र र आफ्नै हर्कतका कारण मैदानबाहिर पनि अलमुताइरीको चर्चा भयो। उनी कहिले एन्फा पदाधिकारीसँगको विवादका कारण सन्चार माध्यमको हेडलाइन बने। त कहिले समाजिक सञ्जालमार्फत नेपाली टिम छाड्ने घुर्की लगाएर चर्चामा आए।

साफ च्याम्पियनसिपपछि उनी नेपाली टिमबाट झन्डै अलग्गिसकेका थिए। तर अखिल नेपाल फुटबल संघ (एन्फा) उनलाई मनाउन सफल भयो र उनी नेपाली फुटबलमा तीन वर्षका लागि अनुबन्धित भए।

सफलता र विवादको वर्ष

वर्षको शुरूमा कोभिडका कारण नेपालमा पनि कतिपय खेलकुद गतिविधि अवरुद्ध भए, प्रतियोगिताहरु रोकिए। तर २०७८ को अन्त्यमा आइपुग्दा नेपाली खेलकुद पुरानै लयमा फर्किएको भान हुन्छ।

अन्तर्राष्ट्रिय स्तरमा जस्तै नेपालमा पनि वर्षको पूवार्द्धमा फुटबल, क्रिकेट जस्ता विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरु बिना दर्शक नै सन्चालन गरिएको थियो। हाल भने कोभिडको प्रभाव खासै नभएकाले पूर्ण दर्शकका साथ खेलहरू संचालन भैरहेका छन्।

यो वर्ष जापानमा आयोजना भएको विश्व खेलकुदको कुम्भ मेला, टोकियो ओलम्पिकमा सधैंजसो यो पटक पनि नेपालको सहभागिता कर्मकाण्डीमात्रै रह्यो।यो पटक ओलम्पिकमा नेपालको तर्फबाट पाँच खेलाडी समावेश थिए।

तर सबै खेलाडी पहिलो चरणबाट नै बाहिरिए। पौडीतर्फ गौरिका सिंह र अलेक्जेण्डर शाह तथा सुटिङमा कल्पना परियारले भने ओलम्पिकका दौरान राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए।

यही वर्ष नेपालका युवा ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहालले विश्व ब्याड्मिन्टनको जुनियर (यू–१९) तर्फको वरियताक्रममा पहिलो स्थान प्राप्त गर्दै नयाँ इतिहास कोरे। यसअघिसम्म ओलम्पिकको मान्यता प्राप्त खेलमा नेपालको कुनै पनि खेलाडीले विश्व नं १ स्थान प्राप्त गरेक थिएनन्।

यसै वर्ष भलिबलतर्फ भने नेपाली महिला टिमले एसियन सेन्ट्रल जोन च्याम्पियनशिपको उपाधि जित्यो। महिला टिम लगातार दोस्रो संस्करणको उपाधि जित्दै इतिहास रच्न सफल भएको थियो।

यो वर्ष नेपली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) भने नेतृत्व विवादका कारण अदालतमा अल्झिरह्यो र यसको मुल कारण थियो परिषदको नेतृत्व गर्ने सदस्य सचिवको राजनितिक नियुक्ति।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि गत कार्तिकमा राखेपका तत्कालीन सदस्यसचिव रमेश कुमार सिलवाललाई पदबाट बर्खास्त गरियो। उनलाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।

सिलवालको बर्खास्तीसँगै देउवा सरकारमा टंकलाल घिसिङ राखेपको सदस्य सचिव पदमा नियुक्त भए। यसपछि सरकारले नियम विपरीत आफूलाई बर्खास्त गरेको भन्दै सिलवालले अदालतमा रिट दायर गरेका थिए। जसकारण राखेप सदस्य सचिवविहीन बन्दा नेपाली खेलुकदका धेरै काम कारबाही ठप्प भएको थियो।

गत साता सर्वोच्च अदालतले सिलवालको  रिट खारेज गरेपछि बल्‍ल घिसिङले सदस्य-सचिवका रूपमा आफ्नो जिम्मेवारी सम्हाल्न पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved