नयाँ वर्ष : दुई कविता

नयाँ भएको संकेत त
त्यहाँ हुनुपर्छ- प्रजातन्त्रको, लोकतन्त्रको
नयाँ वर्ष !

नेपालभ्युज

नयाँ वर्ष : दुई कविता

नयाँ वर्ष ! तिमीलाई मैले पटकपटक भनेँ

-कलानिधि दाहाल

कलानिधि दाहाल

नयाँ वर्ष !
तिमीलाई मैले
पटकपटक भनेँ
धेरै पटक भनेँ
तिमी साँच्चै नयाँ भएर आऊ
सप्तरंगी मात्र होइन
सहस्र रङ बोकेर आऊ

आग्रह राख्यौ कि
दुराग्रह ठान्यौ ?
वर्ष हरेक तिम्रा आगमनमा
तिनै बिग्रेका मनहरू छन्
भत्केका तनहरू छन्
बारुद जलेका जनहरू छन्

टपक्क टापुमा फुलेर
बास्नाभरि हिमाल उछाल्छौ त
के भयो र खै ?
जहाज हवाईजहाजमा यात्रा उड्ने
थोरै छन्- यहाँ
प्राडोपजेरोको प्याला गुड्ने पनि
थोरै छन्- यहाँ, विराट धर्तीमा
यिनलाई-
न तिम्रा आगमनको पर्वाह छ
न पर्खाइको आवश्यकता छ
सदावहार
शिशिरमा पनि तातिएकै छन्- यिनीहरू
ग्रीष्मा पनि समग्र शीतलतामा
साटिएकै छन् यिनीहरू

वर्षाको हिलोले
औँलामा-
बेसार आवश्यक छैन- यिनलाई
हिउँदको ठिहीले
चिथराको जोरजाम, सम्झनु छैन- यिनलाई
गुराँसको सुन्दरता
आँखाआँखामा सजाउने फुर्सद छैन यिनलाई
भोड्काले मात्तिएका यिनीहरू
कतै स्वस्तिष्कमा सुसाइड गर्दैछन्
कतै ¥याडिसनमा रंगेहात
नांगा युगल बनेर पक्राउ पर्दैछन्
कतै टपबारमै टपटपबाट
निर्लज्ज हाम्फाल्दैछन्

नयाँ वर्ष !
तिमीलाई मैले पटकपटक
धेरै पटक भनेँ
अब आउँदा
तारेसितारे होटल होइन
हिमालको तल्लो चोटिबाट
कोटिकोटि गौंडाहरू उक्ल
जहाँ असंख्य मान्छेका
नुनिला चित्कारहरू बिच्छिएका छन्
आङ उजाड र पेट पेरुङ्गा भएका छन्
न त उनीहरू
चारोको चौडाइँ चुम्न सक्छन्
न त गुराँस सौन्दर्य
आँखाभरि अटाउन सक्छन्
न त आङभरि चिथरा पैरेर
निर्भीक- हिँड्न पाउँछन्
मुस्कानका कुरै छाड
आँसु पुछ्ने हत्केला पनि
ओभाना छैनन्- तिनीहरूसँग
शीत छल्ने छानाको कुरै छोड
चेतनाको बत्ती बल्ने
दाना पनि छैनन्- तिनीहरूसँग

नयाँ वर्ष !
तिमीलाई मैले
पटक पटक धेरै पटक भनेँ
पटपटी फुटेर
छर्छर्ती रगत निस्केका
मोहक वर्षाका चप्पल भएर आऊ
बक्वासको खेतीमा
विलासको रजाइँ गर्न पल्केका
नेताका कथित जेताका
गुण्डाका
चोर, डाँका र छुल्याहाका
शिरसम्म
तिम्रा पाइतालाले टेकेर
गुलाफका हातहरू
प्रितिका हरिया पातसँगै सजाएर
खोंचखोंचमा ओर्ल
झुप्राझोपडीमा फैल
सौन्दर्यको बत्ती त
त्यहाँ बल्नुपर्छ- मानवताको
नयाँ भएको संकेत त
त्यहाँ हुनुपर्छ- प्रजातन्त्रको, लोकतन्त्रको
नयाँ वर्ष !
तिमी त्यतातिर ओर्ल- अब।

०००

नववर्ष ! स्वागतम्

-हेमचन्द्र पोखरेल

नवीनता ली नववर्ष आयो
बर्साइ हर्षाम्बु बहार ल्यायो
भए पुराना दिन ती बितेका
जागे नयाँ भावहरू सुतेका

वसन्तका साथ नवीन वर्ष
सर्वत्र सौन्दर्य र शान्ति छर्छ
वसन्तमा यो नववर्ष हाम्रो
वसन्त नै हो नववर्ष हाम्रो

नवीनता पर्वत टाकुरामा
नवीनता पल्लव आँकुरामा
आयो नयाँ कोमलता लतामा
चढ्यो नयाँ यौवन बालतामा

खुले गला कोकिलका समस्त
संगीतको साधनमाथि मस्त
चराचुरुङ्गी सब गाउँदाछन्
वसन्तको चाड मनाउँदाछन्

छ यौवनोल्लास मुनामुनामा
नशा फिँजाई दिलका कुनामा
फक्री सबै कुड्मल खिस्स हाँसे
झुलेर हावासँग प्रेम गाँसे

धूलो तुवाँलो सब भो सखाप
दिनेशमा सुस्त चढ्यो प्रताप
नवीनताको छ अवश्य मोल
कैयन् पुराना पनि छन् अमोल

उनै पुराना तरुमाथि आज
नयाँ नयाँ पल्लवको छ ताज
प्राचीन छोएर नयाँपनाले
प्रफुल्ल बन्छन् मृदु भावनाले

विचारका पत्र झरी पुराना
पल्हाउँछन् नूतन भाव नाना
प्रसून ताजा उनमाथि फुल्छन्
जो विश्वका कानूनभित्र खुल्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved