महिनावारीबारे गलत अभ्यास हटाउन पुरुषको भूमिका महत्वपूर्ण हुन्छ : लक्ष्मी न्यौपाने (भिडिओ)

महिनावारी हुनु भनेको प्रजनन् क्षमता भएको संकेत हो। महिनावारी भएन भने पो पीर हो त ! महिनावारी भएन भने पो जँचाउनुपर्ने, किन भएन भनेर प्रश्न गर्ने हो। त्यस कारण यो जरुरी छ।

महिनावारीबारे गलत अभ्यास हटाउन पुरुषको भूमिका महत्वपूर्ण हुन्छ : लक्ष्मी न्यौपाने (भिडिओ)

नारीको महिनावारीसम्बन्धी अनुभवहरूलाई समेटेर तयार पारिएको पुस्तक ‘ती चार दिन’ हालै बजारमा आएको छ। उक्त पुस्तककी लेखिका हुन्- लक्ष्मी न्यौपाने। उनले दुई दशकभन्दा लामो समयदेखि नारीका हक, अधिकारबारे वकालत गर्दै आएकी छन्।

महिनावारीको सवाललाई पर्घेलेर समाजबाट छानिएका २२ जना नारी पात्रहरूको महिनावारी यात्राका कथाहरू उक्त पुस्तकमा समेटिएको छ। सामाजिक र राजनीतिक रूपमा अगाडि आएका महिलाको अनभूतिलाई पुस्तकको स्वरुप दिएको उनले बताइन्।
उनै लेखिका न्यौपानेसँग नेपालभ्यूजका लागि सुनीता साखकर्मीसमृद्धा केसीले गरेको संवाद :

महिनावारीकै विषयमा पुस्तक किन लेख्नुभएको ?

महिनावारी भनेको मानिस जन्म हुने रगत हो। सृष्टिलाई निरन्तरता दिने तत्व हो, त्यो रगत। त्यो रगतलाई हामीले पनि छोइछिटो गर्ने, लुकाएर राख्ने, घाम हेर्न नहुने भन्ने कुरा भोगेर आएको अनुभव हामीसँग छ।

अहिले हामीमा पनि परिवर्तन आएको छ। त्यस्तो परिवर्तन सम्भव छ है भन्ने सन्देश दिन महिनावारीको विषमा पुस्तक छानेको हो।

मैले कथा लेख्छु भनेर जागिर छाडिदिएँ। मेरा केही कथाहरू प्रकाशित पनि भएका छन्। महिनावारीसम्बन्धी पनि लेख्नुपर्छ भनेर सोच बनाएँ।

पात्रहरू छनौट कसरी गर्नुभयो ?

लकडाउनको अगाडि योजना बनायौँ। अब अन्तर्वार्ता लिने भनेर तय गर्यौँ। राजनीतिक क्षेत्र, सामाजिक क्षेत्रमा योगदान दिने अगुवा नारीहरूलाई ल्यायौँ।

सन्देश पनि जाओस् भनेर नाम छनौट गर्यौँ। भोलि उहाँहरूलाई देखेर उहाँका कुराहरू अनुशरण गर्ने समाजमा हुन्छ। विशेष राजनीतिक क्षेत्रमा योगदान दिएका सामाजिक क्षेत्रका युवा छान्यौँ। उनीहरूले गरेको परिवर्तनलाई अरुले पनि अनुशरण गरुन् भनेर पात्रको नाम छनौट गर्यौँ तर त्यही बेलामा लकडाउन भयो।

अन्तर्वार्ता लिने क्रममा भेट्नुपर्ने थियो तर कोरोनाको डर थियो। कोरोना लागेको घरको मानिसलाई छिःछि-दूरदूर गरेर ‘बाइकट’ गर्ने अवस्था थियो। त्यस्तो अवस्थामा पनि सबै व्यक्तित्वले सहयोग गर्नुभयो।

धेरैले भेटेर कुरा गर्नुपर्छ भन्नुभयो। कतिपयलाई ‘स्काइप’ ‘म्यासेञ्जर’ बाट भिडिओ कल गरेर अन्तर्वार्ता लिएँ। मध्य-कोरोनामा हामीले अन्तर्वार्ता लिएका थियौँ।

अन्तर्वार्ताका आधारमा मैले नै किताब लेखेँ। यसमा मेरोसहित २२ जनाको कथा समेटेका छौँ। पुस्तकमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसदहरू- पार्वती विशुन्के, थममाया थापा, डिना उपाध्याय, बिमला राई पौडेल र नीरादेवी जैरू, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, कांग्रेस नेतृ डिला संग्रौला, पूर्वमन्त्री हिसिला यमी, पोषणविद् डा. अरुणा उप्रेती, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, पूर्वमिस-नेपाल अनुष्का श्रेष्ठ, अधिकारकर्मीहरू- डा. रेणु अधिकारी, दुर्गा सोव, राधा पौडेल लगायतको ‘चार दिन’को कथा छ।

पात्रको कथा सुन्दै गर्दा के-कस्तो भिन्नता र समानता पाउनुभयो ?

उहाँहरू छाउपडी भोग्ने पनि हुनुहुन्छ। हामी छाउपडीको मात्रै कुरा गर्छाैँ तर सम्भान्त शिक्षित वर्ग पनि अहिलेसम्म पनि ऋषि पञ्चमीलाई पछ्याउने, पाप हो, पखाल्नुपर्छ भन्ने खालको चिन्तन अहिले पनि छ। यसमा पनि सबैजसो परिवर्तन भएको छ।

दैलेखकी सांसद पार्वती विशुन्केको परिवार राजनीतितर्फ पनि आकर्षित भएकोले उहाँले छाउपडी भोग्नु परेन। उहाँलाई एक साता अरुको घरमा लुकाइएको रहेछ तर डडेलधुराकी नीरादेवी जैरूले भोग्नुभयो।

भोगेका मान्छेमा परिवर्तन आएको छ। आफ्ना छोराछोरीलाई महिनावारी हुँदा ‘सेलिब्रेसन’ गरेको थियो। विमला राई पौडेलको परिवारले ‘सेलिब्रेसन’ गरेको थियो। त्यसैले परिवर्तन सम्भव छ।

फलफूल, फर्सी, काँक्रो छुँदा कुहिने भन्ने खालको जीवनबाट हुर्किएर आएकाले बिस्तारै परिवर्तन गर्ने, छोराछोरीलाई महिनावारी बार्न नलगाउने कथा छ।

नेपालमा महिनावारी हुँदा महिलालाई सामाजिक रूपमा हुने विभेदबाहेक अरु कस्ता- कस्ता जटिलता छन् ?

अहिले महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याडमा सरकारले कर लगाएको छ। प्याडलाई विलासिताको सामान भनेर कर लाग्ने गरेको छ। त्यो कर तत्काल हट्नुपर्छ। रगतलाई रोक्न प्रयोग गरिने प्याड औषधिका रुपमा प्रयोग हुनुपर्ने हो तर विलासिताको सामान कसरी भयो ? प्याडमा घुस खाएको पनि समाचार आइरहेको छ।

गुणस्तरीय प्याड नदिएकोले बालबालिकाले प्याड प्रयोग गर्नै छोडिदिए जबकि त्यसमा अरबौँ खर्च भएको छ। जाबो प्याडमा त घुस खाने भनेपछि कस्तो मानसिकता होला ? त्यसतर्फ निगरानी गर्नुपर्छ। पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग बढी गर्नुपर्छ। हामीले परिवर्तनका कथालाई बढीभन्दा बढी ल्याउनुपर्छ।

कानून पनि यसमा कडा छैन। मुलुकी आचारसंहिता धारा १६८ मा तीन महिना कैद वा तीन हजारसम्म जरिवानाको कुरा छ। त्यो केही सजाय होइन। कडा कानून छैन।

डिलबहादुर विश्वकर्माविरुद्ध २०६३ मा मुद्दा परेपछि मात्रै कार्यनीति आयो नत्र थिएन। अहिले ‘राष्ट्रिय महिनावारी नीति २०७५ को मस्यौदा’ तयार छ, तर कार्यान्वयन छैन। हाम्रो उद्देश्य कडा कानून निर्माणका लागि पनि हो। सृष्टिको निरन्तरता दिने रगतलाई पाप भन्ने प्रथालाई अन्त्य गर्न सर्वाेच्च अदालतले निर्णय गरिसकेपछि त्यसलाई कार्यान्वयनमा लानुपर्छ।

पुस्तकमा मूल्य किन नराख्नुभएको ?

यसमा समेटिएका अनुभूतिको मूल्य नै छैन। यो अमूल्य छ। यो पुस्तकमा समेटिएका कथाहरू गाउँ-गाउँमा पुग्नुपर्छ। त्यसैले स्थानीय तहले यो पुस्तक जिम्मा लियोस्। हामीले त तयार गरिदिएको हो। गाउँ-गाउँसम्म हात-हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो।

महिनावारी महिलाको मात्रै समस्या हो भन्ने सोचाइ छ। यसमा पुरुषको भूमिका हुन्छ वा हुँदैन ?

पुरुषमा पनि पिताको भूमिका एकदम ठूलो हुन्छ। घरमा पिताले अलि कडा नगरिदिएपछि सबैले कुरीतिलाई मान्ने हुन्छ।

बुवा, दाजुभाइले महिनावारी सामान्य हो, तिमीहरूले बार्नुपर्दैन भन्ने खालको सचेतना फैलाउने हो भने परिवर्तन सहज हुन्छ। त्यसैले सचेतना महिलालाई मात्रै नभई पुरुषलाई पनि दिन जरुरी छ।

छोरीसँग बढी नजिक हुने भएकोले आमाले त गर्नुपरिहाल्यो तर बुवाहरूले पनि यसमा जिम्मेवारी लिनुपर्छ। यसलाई पर्वका रूपमा मनाउनुपर्छ।

महिनावारी हुनु भनेको प्रजनन् क्षमता भएको संकेत हो। महिनावारी भएन भने पो पीर हो त ! महिनावारी भएन भने पो जँचाउनुपर्ने, किन भएन भनेर प्रश्न गर्ने हो। त्यस कारण यो जरुरी छ।

महिनावारीसँगै जोडिएका संस्कृति छन्, त्यसलाई कसरी हेर्नुहुन्छ ?

नेवार समुदायबाट आउनुभएकी नेतृ हिसिला यमी लगायतको सानैमा गुफा राखेको प्रसंग छ। बेलविवाह भनेर सानैमा विवाह गर्ने परम्परा पनि छ। ६/७ वर्षको बच्चाले के बुझेको हुन्छ र, बिहेको विचार उसको दिमागमा भर्ने ? विवाह भयो भने सिन्दुर-पोते खोल्नुपर्दैन भन्ने सोच रहेछ। त्यो नराम्रो हो।

हामी बालविवाहको कुरा गर्छाैँ भने यो पनि त सम्बन्धित छ। कुमारी राख्ने परम्परा राम्रो होइन भनेर आवाज उठाइरहेको हो। उसको पढाइ, स्वच्छन्दताका पक्षमा आवाज उठाइरहेको हो। प्रथा भन्दैमा सबैलाई स्वीकार गर्नपर्छ भन्ने छैन। राम्रा र उपयुक्त कुरा स्वीकार गर्ने हो। यस्ता कुरालाई विरोध गर्न सकेनौँ भने अधिकारवादी नै भएनौँ।

महिला स्वास्थ्य र महिनावारी कसरी जोडिएको हुन्छ ?

एकदमै जोडिएको छ। त्यतिबेला पौष्टिक आहारको आवश्यकता हुन्छ। परिवारमा राम्रो वातावरण हुनुपर्छ। प्याड राम्रोसँग सरसफाइ गरेनौँ भने पाठेघरको क्यान्सर हुनेगरेको छ।

स्वास्थ्यसँग जोडेर लग्यो भने महिनावारीको मुद्दालाई सचेतना जगाउन सहज हुन्छ। अध्ययनको क्रममा महशुस गर्यौँ- दूध खान हुँदैन, पौष्टिक आहार खान हुँदैन भन्ने सोच छ, त्यो हट्नुपर्छ।

स्वास्थ्यको हिसाबले पनि धेरैलाई पेट दुख्ने, वान्ता हुने समस्या हुन्छन्। ‘मेनोपज’ को कुरा पनि उठाएको छैन। महिनावारी सुक्ने अवस्थामा पनि मानसिक समस्या उत्पन्न हुने, मरौँ-मरौँ लाग्ने, श्रीमान्-श्रीमतीको सम्बन्धमा दरार आउने हुन्छ किनभने यौन चाहना कम हुन्छ। स्वास्थ्यसँग जोडिएको हुन्छ।

स्वच्छ र स्वस्थ महिनावारी बनाउने विधि छन् ?

महिनावारी हुँदा प्रयोग गरिने प्याड सहज उपलब्ध गराउनुपर्छ। उनीहरूलाई प्रयोग गर्ने विधि सिकाउनुपर्छ। बजारमा पाइने प्याडले वातावरण प्रदूषणको समस्या पनि निम्त्याइरहेको छ। त्यसैले पुनःप्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्छ।

आजकल कप पनि आएको छ। पुनः प्रयोग गर्न सकिन्छ। प्याडसँग जोडिएको सरसफाइ सिकाउनुपर्छ।

प्याड दुईटा प्रयोग गर्दा पनि सोफामा रगत लागिसकेको हुन्छ। त्यो देखेर छिःछि गरिन्छ। लाजको विषय बनाइन्छ। कतिको त धेरै रगत बग्ने हुन्छ, कसैको कम हुन्छ।

ग्रामीण भेगमा महिलाले महिनावारीका समयमा लगाएको सारीको मुजा च्यापेर हिँड्छन्। मेरो आमाले पनि त्यही गर्नुभएको थियो। झिँगा भन्काएर सफा नगर्ने, पछाडि रगत लागेको देख्नुपर्छ। त्यसैले सरसफाइ सिकाउनुपर्छ।

महिनावारी भएको बेला अरुलाई छुनुहुँदैन भनिन्छ तर भारी बोक्न लगाइन्छ। त्यसैले यसका लागि जनचेतना फैलाउनुपर्छ।


Comment

3 thoughts on “महिनावारीबारे गलत अभ्यास हटाउन पुरुषको भूमिका महत्वपूर्ण हुन्छ : लक्ष्मी न्यौपाने (भिडिओ)

  1. धेरै सान्दर्भिक र राम्रो अन्तर्वार्ता । तर, लेखिका शब्द अलि बिझाउने खालको । अबका दिनमा शिक्षिका, लेखिका, पीडिता यावत शब्द असान्दर्भिक भइसके । मान्छेका रुपमा हेरौं । लेखक भने भइहाल्यो नि । आगामी दिनमा मेरो विचारमा ध्यान जाओस है । हैन भने यसो गर्नुको औचित्य पुष्टि होस् ।

  2. लछ्मी जी धेरै धेरै बधाई ‌‌कासाथै धन्यवाद छ समय सान्दर्भिक लेखको लागि । यस सन्दर्भमा मलाइ के लाग्छ भने महिनाबारी हुँदा अहिले को जस्तो प्याड पनि नहुने जताकतै रगत लाग्ने र शरीर बाट धेरै रगत निस्केर कम्जोर हुने हुनाले ती चार दिन काम नगरेर छुट्टै बस्ने सन्सकार हुनसक्छ तर यसलाई धार्मिक रूपमा रुपान्तरण गरि सजाय दिने कुसन्सकारको रूपमा परिवर्तन हुदै आएको देखिन्छ । आजको दिन सम्म पनि दुर दराज का गाउँ बस्तीहरुमा जहा गरिबीले जकडिएको छ , प्याड के हो थाहा छैन, त्यहा बगेको रगतलाइ कसरि सम्हालने ? उपाय एकै छ , चार दिन छुट्टै बस्ने, छुट्टै कपडा, छुट्टै बिस्तारमा, छुट्टै भाडाकुडा आदि आदि……….?? गाउँ बस्तीहरुको कुना कन्दरा मा चेतनाका साथै प्याड सुबिधा उपलब्ध गराउन स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुले तिब्र र नियमित रूपमा अभियान सञ्चालन गर्न सख्त आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved