गीत/संगीत

देशप्रेम र जीवनबोधका गुञ्जन

उपभोक्तावादी संस्कृतिको बढ्दो प्रभाव र प्रसारका कारण मानिसभित्र हुनुपर्ने न्याना संवेदना बिस्तारै आर्द्र बन्दैछ। नैतिकता, इमानजस्ता पक्षहरुको सिला खोज्नुपर्ने अवस्था सिर्जित हुँदैछ। विश्वासको खेतबारीमा खडेरी लागेको छ।

नेपालभ्युज

देशप्रेम र जीवनबोधका गुञ्जन

गीत-संगीतलाई मनोरञ्जनको लहरमा राखिँदै आयो, पहिलेदेखि नै। तर संगीत विशुद्ध मनोरञ्जनको माध्यम मात्र होइन। गीत-संगीतलाई सार्थक र उद्देश्यपरक धरातलमा उभ्याउन सकिने दृष्टान्त धेरै पहिलेदेखि नै हामीकहाँ देखिँदै आएको छ। त्यही क्रमसँगै सर्जक वासुदेव अधिकारीद्वारा शब्दवद्ध गीतहरुका एल्बम ‘घाम आउँछ, छाया दिन्छ’ भित्रका गीतहरु सार्थक संगीतप्रति रुचि राख्नेहरुलाई फरक स्वाद दिन तत्पर देखिन्छन्।

बुद्ध, आफैंमा पवित्र नाम। शताब्दीयौंपूर्व राजसी सुविधा र सान त्यागेर सामाजिक उत्पीडन, भेदभाव र विभेदविरुद्ध उभिएका ती महान् व्यक्तित्वले तत्कालीन समाजलाई नयाँ सिद्धान्त र मार्गदिशा दिए। उनको सिद्धान्तलाई पछ्याउनेहरु आजपर्यन्त छन्। विडम्बना के भइदियो भने बुद्धद्वारा प्रतिपादित सैद्धान्तिक विचारलाई समाजका धुर्तहरुले धर्मको रुप दिए र बुद्धलाई एक धार्मिक अभियन्ताको रुपमा पुज्न थाले। अधिकारीले भने बुद्धको शुद्ध मन र चिन्तनजस्तै हुन सबैप्रति आग्रह गरेका छन्-

‘बुद्ध बन बुद्ध बन
शुद्ध बन शुद्ध बन
बुद्धबाटै फेला पर्‍यो शुद्धताको मुल धन…।’

विगतमा नेपाली समाज एक दशकसम्मै युद्धको भुङ्ग्रोमा फस्यो। नेतृत्व तहबाट देशमा आमुल परिवर्तन ल्याउने स्वप्न बाँडेर थुप्रै युवायुवतीलाई युद्धको मोर्चामा हिँडाइयो। युद्धको भुमरीमा परेर थुप्रै कल्कलाउँदा ज्यान माटामा मिले, बगरमा पुरिए। द्वन्द्वको आकस्मिक अवतरण त भयो तर हिजोका दिनमा युद्ध लडेकाहरु भने आज व्यथाको चाङ लगाएर बाँच्न बाध्य छन्। योद्धाहरुका कथा-व्यथालाई यसरी उजागर गरिएको छ-

‘हिजो कत्रो युद्ध लडेँ फौजी बाघ बनी
दुस्मनलाई छपाछपी काटेँ साग भनी
गोलीसँगै काल आयो कसो कसो बाँचेँ
या’मानको तक्मा थाप्दा कति कति नाँचेँ…।’

अझै पनि फराकिलो छ, शहर र ग्रामीण बस्तीबीचको दूरी। हुन त, अधिकांश ग्रामीण बस्ती सञ्चार, यातायातको पहुँचमा पुगिसकेका छन्। सूचना जगतमा आएको क्रान्तिले ग्रामीण जनजीवनलाई सहजता दिलाएको प्रत्याभूति पनि गर्न सकिन्छ। तर राजधानीमा बसोवास गर्नेहरुले जति सुविधा पाएका छन्, ग्रामीण भेगमा बस्नेहरु भने त्यति सुविधा पाउनबाट वञ्चित नै छन्। यिनै यथार्थ यो गीतमा व्यक्त छ-

‘साउने झरी घाँस कति काटेँ पानीमा
डल्ला फोर्दा हजुरलाई सम्झेँ सानिमा
बाआमालाई मनाएर गाडी चढेँ म
गाडी चढ्न लाग्दा झण्डै झण्डै लडेँ म…।’

सर्जक अधिकारीका गीति-सिर्जनामा प्रखर रुपमा देखिन्छन्- जीवनबोध। उनका गीतहरुमा जीवनका राग सुन्न सकिन्छन्, जीवनका ढुकढुकी छाम्न सकिन्छन्। मानिसका बाँच्ने उत्साह सञ्चरित छन्, उनका गीतहरुमा। प्रकृतिभित्रका अनेक जीवमध्ये एउटा जीव कमिलालाई उदाहरण दिएर लेखिएको यो गीतमा टड्कारो रुपमा जीवनबोध झल्किन्छ-

‘समय छ अमिलो पानी धमिलो
भुइँमा मस्त काममा व्यस्त हेर कमिलो…।’

कतै सिंगो मानव जीवनको स्पन्दन नै रोकिने त होइन ? यस्तो गहन प्रश्नले मानव जातिलाई अँठ्यायो, केही वर्षपूर्व। २०७६ सालको जाडो मौसमयता पूरै विश्वलाई कोभिड-१९ को महामारीले गाँज्यो। पृथ्वीको उत्तरी गोलाद्र्धबाट सुरु भएको महामारी-यात्रा सिंगो विश्वभरि नै फैलियो र लाखौँलाई सिकार बनायो। महामारीको तीव्र फैलावट र त्यसको त्रासबाट बँच्न कुँजिएका नेपालीहरु लामो समयसम्म गतिरुद्ध रहे। यही मार्मिक कथ्यांशलाई यी हरफले प्रतिविम्बित गरेका छन्-

‘सास रै’छ सास
जीवन त खास
सास बिना हुन्न रै’छ
धरतीमा बास…।’

हरेक देशका नागरिक आफ्नो राष्ट्रियताप्रति सचेत, अडिग र प्रतिबद्ध रहन्छन्। कुनै छिमेकी मुलुकले कुनै पनि प्रकारको हस्तक्षेप गरे सहन सक्दैनन्। अझ सीमा मिचे भने त सहन सक्ने प्रश्नै भएन। लामो समयदेखि नेपाल-भारतबीच सीमा क्षेत्रमा समस्या देखिँदै आएको छ। अझ, कालापानी-लिपुलेक-लिम्पियाधुराको विषयमा त दुई देशबीच देखिएको टड्कारो समस्या यथावत नै छ। सीमाको विषयमा छिमेकीले देखाउँदै आएको रवैयाप्रति यस्तो छ, गीति-आक्रोशः

‘हिजो पनि हाम्ले माटो कसैलाई दे’नौँ
साँध मिची मिचिकन अरुको नि ले’नौँ
कुनै दिन साम्राज्यको गीत गाइएन
कसैको नि एक चिम्टी हाम्लाई चाहिएन…।’

उपभोक्तावादी संस्कृतिको बढ्दो प्रभाव र प्रसारका कारण मानिसभित्र हुनुपर्ने न्याना संवेदना बिस्तारै आर्द्र बन्दैछ। नैतिकता, इमानजस्ता पक्षहरुको सिला खोज्नुपर्ने अवस्था सिर्जित हुँदैछ। विश्वासको खेतबारीमा खडेरी लागेको छ। यस्तो बेला नैतिकता, इमान र विश्वास कायम राख्नुपर्ने सन्देश प्रवाहित तुल्याउन यो गीत सक्षम देखिएको छ-

‘घाम आउँछ, छाया दिन्छ
मनले त्यसै माया चिन्छ
इमानको बास्ना मीठो
रोक्ने ठाउँ कसले दिन्छ ?’

प्राकृतिक, जैविक, सांस्कृतिक, सामाजिकलगायत विविधता भएको मुलुक हो- नेपाल। सबै जातजातिको फूलबारी। हरेक क्षेत्रमा विविधता भएको नेपाल प्राकृतिक स्रोत, साधन र खनिज सम्पदाहरुले पनि भरिपूर्ण छ। प्राकृतिक सुन्दरताको त कुरै नगरौं। संसारको अग्लो हिमचुलीदेखि बुद्धको जन्मथलोसम्म हो, यही देश। देशको विविध पक्षलाई झल्काउन यो गीत अग्रलहरमा उभिएको छ-

शालिग्राम कहाँ होला संसारमा खोज
गैंडासित सेल्फी हान्न नेपाल नै रोज…।’

नौ वटा गीत समेटिएको ‘घाम आउँछ, छाया दिन्छ’ मा माधुर्य संगीत भर्ने सर्जकहरु क्रमशः मनोहर सुनाम, बलराम समाल, विकास चौधरी, रुपक चौधरी, नारायण लामा, मधुकर लोहनी रहेका छन् भने स्वर राजेशपायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, बलराम समाल, सञ्जय तुम्रोक, मधुकर लोहनी र दीपेन्द्रविक्रम थापाका रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved