हेटौंडा। बागमती प्रदेशको प्रदेशसभा चालु नवौं अधिवेशनको नवौं बैठक आज बस्दै छ। आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि १४ फागुनका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरिरहेका कारण बागमती प्रदेशको प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन। सरकारले चालु हिउँदे अधिवेशन अन्त्यको तयारीसमेत गरेको छ।
प्रतिपक्षीले करिब तीन महीनादेखि सदन अवरुद्ध गरिरहेको र अझै पनि अवरोध जारी रहे अधिवेशन अन्त्यको तयारीमा सरकार रहेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए। बजेट अधिवेशनको तयारी पनि गर्नुपर्ने भएकोले सरकार चालु अधिवेशन अन्त्य गर्ने सोचमा छ।
७ र ८ पुसमा दुई दिन चलेको बैठकमा नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक अनिश्चित भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरूको सरकारले ल्याएका महत्वपूर्ण योजनाहरू कटौती गरेकोले आफूहरूले विरोध गरेको जनाएको छ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल सरकारले ल्याएको प्रदेश गौरवको आयोजनाको रूपमा रहेको सुरुङ मार्ग र विद्युतीय बस खरिदको योजना अहिलेको गठबन्धन सरकारले स्थगित गर्ने निर्णय गरेपछि प्रतिपक्षीमा असन्तुष्टि देखिएको हो।
“जथाभावी रकमान्तर गरेर पनि प्रदेश सरकारले राम्रो काम गरेको छैन,” प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले भने, “अघिल्लो सरकारका योजनाहरू किन कटौती गरियो ? अहिले किन कार्यकर्ता पोस्ने गरी हजारौं टुक्रे योजना ल्याइयो ? यी विषयहरूमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ।”
१४ फागुनमा सहमति भएरै बैठक आह्वान भए पनि प्रतिपक्षीले अवरोध गर्ने संकेत पाएपछि अन्तिम समयमा आएर बैठक स्थगित भएको थियो। करिब एक दर्जनभन्दा धेरै ऐन संशोधन गर्ने तयारी प्रदेश सरकारले गरिरहेको भए पनि प्रदेशसभा अनिश्चित बन्दा कानून निर्माण प्रक्रिया ठप्प छ।
यता, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने प्रमुख प्रतिपक्षी दलको नियत नै अवरोध गर्ने मात्रै रहेको आरोप लगाएका छन्। सरकार सदन चलाउन तयार रहेको भन्दै उनले एमालेको प्रश्नको जवाफ पनि सरकारले दिने बताए।
सरकारका प्रवक्ता खनालले एमालेको अवरोधका कारण पटकपटक बैठक स्थगित गर्नुपरेको बताए ।