“ए डिभिजन क्लबले रिलिज नगरे खेलाडीले एनएसएल खेल्न पाउँदैनन्”

नेपालको फ्रेन्चाइज लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी चैतको अन्तिम सातादेखि आयोजना हुँदैछ। यो प्रतियोगिताका लागि आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीले शुक्रबार खेलाडी अक्सन गर्दैछ।

“ए डिभिजन क्लबले रिलिज नगरे खेलाडीले एनएसएल खेल्न पाउँदैनन्”

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग कमिटी प्रमुख विज्ञानराज शर्माले यदि ‘ए’ डिभिजन क्लबले खेलाडीहरूलाई रिलिज नगरे ती खेलाडीले आसन्न नेपाल सुपर लिग फुटबल प्रतियोगिता (एनएसएल) खेल्न नपाउने बताएका छन्।

नेपालको फ्रेन्चाइज लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी चैतको अन्तिम सातादेखि आयोजना हुँदैछ। यो प्रतियोगिताका लागि आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीले शुक्रबार खेलाडी अक्सन गर्दैैछ।
शुक्रबारको अक्सनअघि फ्रेन्चाइज क्लबहरूले धमाधम टिमको मार्की खेलाडी पनि घोषणा गरिरहेका छन्।

यो लिगका लागि फ्रेन्चाइज क्लबहरूले खेलाडी अनुबन्धन गरिरहँदा हाल नेपाली फुटबलमा एउटा द्धन्द चलेको छ। द्धन्द हो शहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिगका क्लबका बिचमा खेलाडी अनुबन्धनका सम्बन्धमा।

हाल नेपालमा अधिकांश खेलाडी यसै हप्ता सम्पन्न ‘ए’ डिभिजन लिगका क्लबहरूमा अनुबन्धित छन्। ‘ए’ डिभिजन लिगका क्लबहरू आफ्नो खेलाडीहरूलाई एनएसएलका लागि फ्रेन्चाइज क्लबहरूमा आबद्ध हुन दिन चाहँदैनन्।

‘ए’ डिभिजन क्लबहरूले लिग सकिए पनि मोफसलका धेरै प्रतियोगिता खेल्न पनि बाँकी नै छ।
त्यसैले ‘ए’ डिभिजन लिगका आठ क्लबहरूले प्रेस विज्ञप्ती नै जारी गरी क्लब अन्तर्गत रहेका खेलाडीहरूलाई अन्य क्लबमा दर्ता नगराउन एन्फासँग आग्रह गरेको छ। त्यस्तै आफू अन्तर्गत रहेका खेलाडीहरूको अक्सनको लागि पनि आफूहरूसँग छलफल हुनुपर्ने माग राखेको छ।
यो विषयमा एन्फाका लिग कमिटी प्रमुख शर्मा भन्छन्,“यो लिगका लागि अक्सन छिटो गर्न लागेकाले मार्की खेलाडीको घोषणा पनि छिटो गर्नुपरेको हो। एउटै खेलाडीले एकै समयमा दुई फरक क्लबसँग सम्झौता गर्न मिल्दैन। तर हाल खेलाडी अनुबन्धन मात्र गरेको हो। ए डिभिजन क्लबसँग खेलाडी रिलिजको प्रक्रिया सुरु भैसकेको छ। एनएसएल सुरु हुने बेलासम्म सबै मिल्छ।”
यदि ए डिभिजन क्लबले खेलाडी रिलिज गरेनन् भने के हुन्छ त?

“यदि क्लबले खेलाडीहरूलाई रिलिज नगरे ती खेलाडीले एनएसएल खेल्न पाउँदैनन्।” उनले थपे।
उनी आफै एनएसएलको डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सको टिम डाइरेक्टर समेत हुन्।
डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सले गोलकिपर विकेश कुथुलाई, विराटनगर सिटी एफसीले रञ्जित धिमाललाई र धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई यो सिजनको मार्की प्लेयरको रुपमा निरन्तरता दिएको घोषण गरिसकेका छन्।
उता यो वर्षको नवप्रवेशी क्लब मध्येको एक झापा फुटबल क्लबले पनि राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टलाई अनुबन्धन गरिसकेको छ।

गतबर्ष नेपालका विभिन्न शहर केन्द्रित सात टिमले यो लिगमा सहभागिता जनाएका थिए भने यो पटक लिगमा तीन टिम थप गरी टिम संख्या १० पुर्‍याइएको छ।
यी दुवै लिग घरेलु फुटबलका दुई फरक शैलीका लिग हुन्। शहिद स्मारक ‘ए’ डिभिजन लिग नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने सबैभन्दा ठुलो र पुरानो घरेलु लिग हो।

नेपाल सुपर लिग भने गत वर्षदेखि एउटा निजी कम्पनीले आयोजना गर्न थालेको फ्रेन्चाइज लिग हो। तर यो लिगलाई पनि अखिल नेपाल फुटबल संघको नै प्राविधिक सहयोग रहेको छ।
नेपाली फुटबलको विकास लागि यस्ता व्यावसायिक घरानाको लगानी रहेको फ्रेन्चाइज लिगहरू हुनु एकदमै अत्यावश्यक कुरा हो। यस्ता लिगहरूले गर्दा नै खेलाडीहरूको व्यावसायिक करियर र खेलेर बाँच्न सक्ने अवस्थामा सुधार हुन्छ।

तर, दुवै लिगसँगै अन्य प्रतियोगिता पनि सर्वोच्च संस्थाको नाताले एन्फाले खेलाडीको सही व्यवस्थापन गर्नु आवश्यक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved