पूर्व उपराष्ट्रपती पुनका परराष्ट्र सल्लाहकार गुरुङ विरुद्ध सुन तस्करी प्रकरणमा आज अभियोग पत्र दर्ता गरिने

नेपालभ्युज

पूर्व उपराष्ट्रपती पुनका परराष्ट्र सल्लाहकार गुरुङ विरुद्ध सुन तस्करी प्रकरणमा आज अभियोग पत्र दर्ता गरिने

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङ (जोन) विरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ ।

सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरिसकेकाले आज अभियोगपत्र अदालतमा दर्ता गराइने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने भएको हो ।

गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँबराबरको बिगो कायम गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए ।

घलेमाथि अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको खुलेको हो । घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको पुष्टि भएको हो ।

उक्त समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । अंकित अग्रवालले भनेको स्थानमा सुन लगिदिने काम मीन घले र जोन भन्ने जीवन गुरुङले लगिदिने गरेका थिए ।

पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन । अनुसन्धान गर्ने निकायको नजरमा उनी फरार थिए ।

भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो । ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन् ।

सुन तस्करको गिरोहसँग प्रत्यक्ष संलग्न रहेको र त्यही धन्दा चलाउन जीवन गुरुङले उपराष्ट्रपतिसँगको पहुँचको दुरूपयोग गरी राज्यसंयन्त्रलाई समेत प्रभावित पारेको अनुन्धानको निष्कर्ष छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved