एमसीसी चीनविरुद्धको अमेरिकी घेराबन्दी हो : जनमोर्चा उपाध्यक्ष पौडेल

एमसीसी सम्झौतालाई नेपालको कानूनभन्दा माथि राखिएको हुनाले सरकारले पारित गरेर मात्रै पर्याप्त नभएको पौडेलले बताइन्। सोही कारण संसद्ले नै पारित गर्नुपर्ने व्यवस्था गरिएको उनले बताइन्।

नेपालभ्युज

एमसीसी चीनविरुद्धको अमेरिकी घेराबन्दी हो : जनमोर्चा उपाध्यक्ष पौडेल

काठमाडौं। सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी चीनविरुद्ध घेराबन्दी भएको बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीबारे आफ्नो धारणा राख्दै पौडेलले एमसीसीमार्फत नेपाललाई चीनको विरुद्धमा प्रयोग गर्न खोजिएको बताइन्।

“आईपीएसको मुख्य लक्ष्य चीनविरुद्धको घेराबन्दी हो। त्यसका लागि नेपाललाई प्रयोग गर्न खोजिएको छ,” उपाध्यक्ष पौडेलले भनिन्, “कुनै पनि देशलाई सैन्य रणनीतिका लागि नेपाललाई उपयोग गर्न दिइनु असंलग्न परराष्ट्र नीतिविपरीत छ।”

एमसीसी सम्झौतामा अमेरिकाको कानून उल्लंघन गरेमा वा अमेरिकी हितविपरीतका काम भएमा सम्झौता निलम्बन हुने उल्लेख भएको पौडेलले बताइन्। भनिन्, “सम्झौता पारित भएपछि नेपालले अमेरिकी कानूनको प्रचलित र भविष्यको कानून पनि मान्नुपर्ने हुन्छ । सधैं नेपाल अमेरिकाको सुरक्षा हितअनुकूल नै रहनुपर्ने हुन्छ । नेपालले एकपल्ट सम्झौता गरेपछि यसैमा बाँधिनुपर्ने हुन्छ।”

एमसीसी सम्झौतालाई नेपालको कानूनभन्दा माथि राखिएको हुनाले सरकारले पारित गरेर मात्रै पर्याप्त नभएको पौडेलले बताइन्। सोही कारण संसद्ले नै पारित गर्नुपर्ने व्यवस्था गरिएको उनले बताइन्।

“अमेरिकाले चीनको हौवा खडा गरेर एमसीसी पारित नगरेमा आफूसँगको सम्बन्धमा पुनर्विचार गर्ने धम्की पनि दिएको छ,” पौडेलले भनिन्, “तर, नेपालले चीनका कारण होइन, नेपालको सार्वभौमिकतामा असर पर्ने भएकाले यसको विरोध गरेको हो।”

उपाध्यक्ष पौडेलले एमसीसी सम्झौता खारेज गर्न अनुरोध पनि गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved