प्रिय पात्र

पाभेल : प्रिय र अविस्मरणीय पात्र

‘आमा’ उपन्यासको पात्र पाभेलको जीवनचरित्रको विकास अत्यन्तै स्वाभाविक लाग्छ। पाभेलको परिवारको वेदनामय, मार्मिक र सङ्घर्षशील जीवनले धेरैभन्दा धेरै दुःखी मानिसको प्रतिनिधित्व गरेको छ। यस अर्थमा पनि पाभेल प्रिय पात्रको रूपमा चर्चित छ।

पाभेल : प्रिय र अविस्मरणीय पात्र

रूसी साहित्यमा, विशेष गरी रूसी आख्यानमा अधिक प्रयोग हुने पात्रहरूका नाममध्ये एउटा हो- पाभेल। रूसका केही ठूला साहित्यकारहरूले ‘पाभेल’ नामको पात्रलाई आफ्ना रचनाको प्रमुख पात्र बनाएको पाइन्छ। कतिपयले सामान्य पात्रलाई पनि पाभेल नाम दिएका छन्।

कुनै समय नेपाली साहित्यमा दुई-चार नाम अधिक प्रयोगमा रहन्थे। राम, श्याम, सीता, गीता, हरि, कृष्ण, सुभद्रा, पार्वतीजस्ता नाम अधिकांश साहित्यकारले कतै न कतै प्रयोग गरेको पाइन्थ्यो। तर अहिले नेपाली साहित्यमा नयाँनयाँ नामका पात्रको प्रयोग गर्ने सिलसिला बढेको छ। पहिले-पहिले नेपाली साहित्यमा जस्तै रूसी साहित्यमा पनि पाभेल, इभान, एरिना, आन्द्रेई, नतासा, अलेक्सान्ड्रा, मिखाइल, निकोलाई जस्ता नामहरू बढी प्रयोग हुने गरेका थिए, जसलाई ‘कमन’ नाम मानिन्थ्यो।

साहित्यमा सकारात्मक भूमिकाको पात्र होओस् वा नकारात्मक, नायक होओस् वा खलनायक, सशक्त भूमिकाको पात्रको नाम दिनुपर्दा रूसी साहित्यमा कतिपय लेखकले पाभेल नाम दिएको पाइन्छ। लेखकहरूले त्यसरी पाभेल नाम बढी प्रयोग गर्नुमा ‘कमन’ पाठकको रुचिलाई पनि ध्यान दिएको अनुभव हुन्छ।

प्रसङ्ग रूसका विश्वप्रसिद्ध साहित्यकार माक्सिम गोर्कीको ‘आमा’ उपन्यासको दोस्रो प्रमुख पात्र ‘पाभेल’ को हो। यस उपन्यासमा प्रमुख पात्रको रूपमा पेलागुयेया भ्लासोभा छिन्, जो पाभेलकी आमा हुन्। उनीजस्तो प्रियपात्र त अरू को होला र ? उनी त सबैकी आमाजस्ती छिन्, ती आमा जो सारा क्रान्तिकारीकी आमा बन्न पुगेकी छिन्।

मैले पढेका विभिन्न लेखकका विविध कृतिका पात्रहरूमध्ये मनपर्ने पात्रहरू पनि धेरै छन्। जुन रचना मन पर्छ, त्यसको पात्र पनि मन परिहाल्छ। तथापि, मैले यहाँ रोजेको पात्र भने गोर्कीको ‘आमा’ उपन्यासको पाभेल नै हो। इभान तुर्गनेभको ‘पिता र पुत्र’ (फादर एन्ड सन) को बजारोभ पनि उत्तिकै मनपर्ने पात्र हो। पुराना र नयाँ सम्बन्ध, मूल्य अनि मान्यताका बिचको द्वन्द्वमा आफ्नो बलशाली उपस्थिति जनाउने बजारोभ सदा स्मरणीय पात्रको रूपमा रहेको छ। नेपाली साहित्यमा पनि धेरै प्रिय पात्रहरू छन्। तथापि, यतिबेला म ‘आमा’ उपन्यासको पाभेललाई नै प्रिय पात्रको रूपमा सम्झिन पुगेको छु।

‘आमा’ उपन्यास पढ्ने जोसुकैलाई पनि पाभेल मन नपर्ने भन्ने होला र ? यो मेरो अन्तर्मनको प्रश्न हो। त्यसैले यो उपन्यास पढ्ने अधिकांशलाई पाभेल पात्र नै प्रिय लाग्ने अनुमान मेरो छ।

पाभेल मूलभूत रूपमा सर्वहारावर्गको पात्र हो। ऊ कारखानामा मजदुरी गर्छ। ऊ शोषित, पीडित र दमित छ। त्यसैले उसमा छट्पटी पनि छ। अनेकन् दुःखकष्टसँग सङ्घर्ष गर्दै ऊ आफ्नो जीवनलाई बिस्तारै बुझ्न थाल्छ। त्यसै क्रममा ऊ अरूलाई पनि बुझ्न पुग्छ। समाज र देशलाई पनि बुझ्न पुग्छ। त्यसपछि उसमा जागृत हुन्छ- समाजवाद, क्रान्ति र मुक्तिको सपना।

पाभेल क्रान्तिकारी पात्र हो। ऊ निडर छ, निःस्वार्थी छ र परिवर्तनकामी छ। ऊ जीवनवादी छ। त्यसैले भविष्यप्रति आशावादी पनि छ। परिवर्तनका लागि गतिशील उसको जीवनले अन्ततः एउटा दृढ सङ्कल्प गर्नपुग्छ- क्रान्ति र मुक्ति।

आमा पेलागुयेयालाई पाभेल पनि बाबुजस्तै पशुतुल्य हुने हो कि भन्ने चिन्ता थियो। तर पाभेल समाजवादी साथीहरूसँगको सङ्गतमा क्रान्तिकारी बन्न पुग्यो। छोरो क्रान्तिकारी भएर हिँड्न थालेकोमा शुरुमा उनलाई डर पनि लाग्यो। तैपनि बाबुजस्तो पशुतुल्य हुनुभन्दा क्रान्तिकारी हुनु राम्रो भनेर उनले चित्त बुझाइन्। पाभेलका समाजवादी साथीहरूको बोली, व्यवहार र कामबाट उनी आफैँ उत्साहित हुन थालिन्। उनी पाभेल र उसका समाजवादी साथीहरूलाई स्नेहका साथ सहयोग गर्न लागिन्। पाभेलले आमाबाट मायामात्र पाएन, क्रान्तिकारी बनेर अगाडि बढ्ने कुरामा प्रेरणा पनि पायो।

पाभेल मजदुरहरूको हकहितको पक्षमा दिन-प्रतिदिन सक्रिय बन्दै गयो। हुँदाहुँदा ऊ मजदुर मुक्तिकै योद्धा बन्न पुग्यो। एकपटक कारखानाको मालिकले मजदुरहरूको ज्याला कटौती गर्ने सूचना टाँस्यो। सारा मजदुर दुःखी भए। तर पाभेलले ज्याला कटौतीविरुद्ध आन्दोलित हुन आह्वान गर्‍यो। मजदुरहरूका बिचमा उसले रगत उम्लिने भाषण गर्‍यो। सबै मजदुर पाभेलको समर्थन गर्दै उसैको पक्षमा लागे। क्रान्तिकारी भाषण गरेर मजदुरलाई भड्काएको आरोपमा पाभेल गिरफ्तारीमा पर्‍यो। उसलाई जेलमा राखियो।

आफ्नो छोरो गिरफ्तारीमा परेकोमा आमा दुःखी त थिइन् नै तर निराशचाहिँ थिइनन्। उनी छोराका साथीहरूलाई सघाउन थालिन्। ठाउँठाउँमा पर्चा बाँड्ने काममा पनि उनी खटिइन्। बिस्तारै आमा आफैँ पनि क्रान्तिकारी काममा सक्रिय हुन थालिन्। पाभेल जेलबाट निस्केपछि आमा छोरा नै क्रान्तिमा सक्रिय भए। मे दिवसका दिन मजदुरहरूलाई भेला गरेर गीत गाएको र भाषण गरेकोमा पाभेललाई फेरि गिरफ्तार गरियो। मजदुरहरूको असल नेताका रूपमा चिनिएको पाभेलको पटक-पटकको गिरफ्तारीबाट मजदुरहरू पनि आक्रोशित भए। पाभेल क्रान्तिप्रति झनै समर्पित बन्न पुग्यो। उसकी आमा पनि छोरा र उसका साथीहरूलाई साथ दिँदै गाउँगाउँमा पुगेर पर्चा बाँड्न थालिन्।

तत्कालीन जारशाहीका अदालतहरू पनि शासकहरूकै हितमा चल्थे। न्यायाधीशहरू न्याय दिनेभन्दा पनि शासकको आदेशमा फैसला दिन्थे। तर पाभेल त्यस्ता न्यायाधीशहरूका अगाडि पनि झुकेन। जेलमा रहेको पाभेलले अदालतमा न्यायाधीशका अगाडि बयान दिँदा पनि क्रान्तिकारी भाषणमै बयान दियो। उसले मालिकहरू र शोषकवर्गको पतन अवश्यम्भावी रहेको र सर्वहारा मजदुरहरूको विजय सुनिश्चित भएको घोषणा अदालतमै गर्‍यो। उसले अदालतमा गरेको त्यो भाषण निकै चर्चित रह्यो। त्यस भाषणलाई छापेर पनि बाँडिएको थियो। त्यसरी बाँड्ने काममा उसकी आमासमेत लागेकी थिइन्।

निष्ठा र समर्पणका साथ क्रान्तिमा लागेकै कारण मजदुर वर्गमा मात्र होइन, पाभेल रूसी समाजकै लोकप्रिय प्रतिनिधिपात्रको रूपमा रहेको छ। क्रान्तिप्रति समर्पित सर्वहारा नेताको रूपमा यो पात्र प्रशंसनीय रहेको छ। बोल्सेभिक क्रान्ति मजदुरहरूकै बलमा सम्पन्न भएको थियो। ‘आमा’ उपन्यास त त्यसअघि नै लेखिएको थियो। तैपनि, बोल्सेभिक क्रान्ति सफल बनाउने मजदुरहरूमा उही पाभेल पात्रकै प्रशंसक लाखौँ पाभेलहरू थिए।

लेखकले पात्र चयन गर्नु वा पात्रको नाम दिनुमात्र ठूलो कुरो होइन। त्यो पात्र आफ्नो भूमिकामा कतिको प्रभावशाली छ भन्ने कुराको बोध पाठकले गर्नसक्नु पर्छ। ‘आमा’ उपन्यासको पाभेल अनेक विशेषताका कारण आफूप्रति पाठकलाई आकर्षित गर्ने क्षमता राख्छ।

पाभेल सर्वहारा वर्गको प्रतिनिधि पात्र भएकाले गरिब तथा विपन्न समुदाय र दुःखकष्टमा जीवन धानिरहेका सबैको उसप्रति सहानुभूति र समर्थनको भावना जागृत हुन्छ। उपन्यासमा वर्गीय प्रतिनिधित्वको एउटा सफल उदाहरणको रूपमा पाभेल रहेको छ।

कारखानामा काम गर्ने र सामान्य आम्दानीमा असाध्यै कष्टका साथ बाँच्ने मजदुरहरूको दयनीय अवस्थाको प्रतिनिधित्व पाभेलले गरेको छ। यस अर्थमा रूसी मजदुरहरूको ठूलो हिस्सालाई पाभेलको भूमिकाले समेटेको छ। कुनै पनि श्रमिकका लागि सम्मानित र गर्व गर्न लायक पात्रको रूपमा उपन्यासमा पाभेलको उपस्थिति देखिन्छ।

ऊ क्रान्तिकारीमात्र छैन, क्रान्तिप्रति अघोरै निष्ठावान पनि छ। अहिले जस्ता मानिसलाई क्राान्तिकारी ठानिँदैछ, त्यस्तासँग पाभेललाई तुलना गर्नै मिल्दैन। पाभेलको त्याग, निष्ठा र क्रान्तिप्रतिको समर्पणले उसप्रति कुनै पनि पाठकको मनमा सम्मानको भाव जागृत हुन्छ।

आमा पेलागुयेयाजस्तै पाभेल पनि शुरुदेखि अन्तसम्मै आपूmप्रति आकर्षण जगाउन सफल पात्र हो। आन्दोलनहरूमा देखिने अराजकता, पलायन र षड्यन्त्रहरूका विरुद्ध अटल सङ्घर्ष गरेर अगाडि बढ्ने कुरामा पाभेल उदाहरणीय रूपमा प्रस्तुत भएको छ। आफूप्रति उपन्यासका पाठकलाई सहानुभूतिशील बनाउन पनि पाभेल सफल पात्र हो।

कतिपय कृतिमा पात्रको विकास अत्यन्तै अस्वाभाविक र कृत्रिम लाग्छ। तर ‘आमा’ उपन्यासको पात्र पाभेलको जीवनचरित्रको विकास अत्यन्तै स्वाभाविक लाग्छ। पाभेलको परिवारको वेदनामय, मार्मिक र सङ्घर्षशील जीवनले धेरैभन्दा धेरै दुःखी मानिसको प्रतिनिधित्व गरेको छ। यस अर्थमा पनि पाभेल प्रिय पात्रको रूपमा चर्चित छ।

जस्तोसुकै दुःख र दमन सहन तयार हुनु तर फासीवादी सत्तासँग कुनै पनि हालतमा नझुक्नु, बरू त्यस सत्ताका विरुद्ध निरन्तर प्रतिरोधमा डटिरहनु पाभेलको चरित्र हो। अरूलाई आन्दोलित हुन आह्वान गर्नेमात्र होइन, आफैँ आन्दोलनमा सरिक भएर आन्दोलन सञ्चालन गर्ने काम पाभेलले गरेको छ। त्यसैले उसले धेरै दुःख पनि पाएको छ। ऊ आन्दोलनमा लागेर, आन्दोलनबाटै जन्मिएको सर्वहारा नेता हो। उसको क्रान्तिकारी व्यक्तित्वको निर्माण आन्दोलनबाटै भएको छ। उसको यस्तो व्यक्तित्वले पनि पाठकलाई प्रभावित गर्ने काम गरेको छ।

यस उपन्यासका कतिपय घटनामा गोर्की आफैँ पनि उपस्थित भएझैँ लाग्छ। किशोर अवस्थाका गोर्की र पाभेलको जीवनका कतिपय दुःख र सङ्घर्षका घटनामा समानता पनि पाइन्छ। यस दृष्टिले पनि पाभेल प्रिय र अविस्मरणीय पात्रका रूपमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved