नेपाली युवती र चिनियाँ युवाको प्रेमकहानी

नबोले नि माया लाग्ने रैछ सान्नानी …

प्रेम कहानीलाई बिट मार्दै रबिनाले सुनाइन् ‘उध्रिएको ट्राउजरबाट बसेको माया रफ्फु जत्तिकै बेजोडले बस्यो। मैले त त्यो ट्राउजर अझै जतनले राखेकी छु।’

नबोले नि माया लाग्ने रैछ सान्नानी …

माया व्यक्त गर्नका लागि के चाहिन्छ? लामा लामा प्रेमपत्र, घण्टौँसम्म टेलिफोनमा कुराकानी, भेटघाट, मिठा सायरी अथवा कवितात्मक शैलीमा मन्त्रमुग्ध बनाउने शिल्पी।

अनि कहिलेकाँही एक शब्द नबोलिकन पनि माया बस्छसामान्य जीवनमा त्यस्तो नहुनु पर्ने हो। चलचित्र अथवा आख्यानमा त प्रश्वस्तै देख्न सकिन्छ/पढ्न सकिन्छ। कहिलेकाहीँ कसैको प्रेम कहानी यस्तो हुन्छ जुन कहानी पढ्दा रोचक मात्र होइन पत्याउनै नसकिने खालको पनि हुन्छ। 

त्यही भएर भनिएको होला, माया मुटुमा बस्छ। मुटुमा भएको भावनालाई ओठले होइन आँखाले व्यक्त गर्छन्। ओठबाट शब्दहरू खुस्किनुभन्दा पहिले आँखा बोलिसकेका हुन्छन्।

प्रेम दिवसका अवसरमा सकुन्तला, रबिना र माया तीनजना नेपाली युवतीले चिनियाँ युवासँग गरेको प्रेम र विवाहको रोचक घटना यहाँ प्रस्तुत गरिएको छ। यो प्रेमकहानीले नेपाल र चीनबीचको संस्कृतिलाई जोडेको छ। सरगमाथा जत्तिकै उचाइको प्रेम र हिउँ जस्तै पवित्र भावनाले उनीहरूको दाम्पत्य जीवनलाई सुखद र समृद्ध बनाएको छ।

उध्रिएको ट्राउजरबाट पलाएको प्रेम

सोलुखुम्बुको साबिक कांगेल गाविसकी सकुन्तला राई र नेचा बतासेकी रबिना राई काठमाडौँ आएर बालुवाटारमा एउटा टेलरिङ पसल खोलेर बसेका थिए। चिनियाँ दूताबास नजिकै रहेको टेलरिङमा नयाँ कपडा सिलाउने र पुराना पनि रफ्फू गर्ने काम थियो उनीहरूको।

सन् २००८ मा चिनियाँ दूताबासले नयाँ भवन बनाउँदै थियो। भवन निर्माणका क्रममा केही चिनियाँ कामदारहरू त्यहाँ काम गरिरहेका थिए। त्यसरी काम गर्ने व्यक्तिहरूमा चीनको आन्हुई प्रान्तका स खाइमिन र चियाङ छु पनि थिए।

एक दिन स खाइमिन र चियाङ छु रबिना र सकुन्तलाको टेलरिङ पसलमा आए। केहीबेर उभिए र यताउति हेर्न थाले। रबिना र सकुन्तला पनि पहेँलो अनुहारका कलकलाउँदा चिनियाँ युवा देखेर खित्खिताउन थाले।

दुई मध्ये एक चिनियाँलले हातको इसाराले केही भन्न खोजे। रबिना र सकुन्तालाई चिनियाँको इसाराले झनै हँसायो। एउटा प्लास्टिको झोलाबाट स खाइमिनले उध्रिएको ट्राकसुटको ट्राउजर झिकेर देखाए। अघिदेखि गरेको इसारा त उध्रिएको ट्राउजरलाई रफ्फु गर्नुपर्ने पो भनेका रहेछन् चिनियाँहरूले।

कुरा बुझेपछि चारैजना एक हलको मेलो हाँसे। ट्राउजर छोडेर चिनियाँहरू फर्किए। रबिनाले राम्ररी उक्त ट्राउजरको उध्रिएको भाग सिलाइ दिइन्। भोलिपल्ट चिनियाँहरू आएर ट्राउजर लिएर गए। हुनसक्छ उनीहरूले ट्राउजरसँगै नेपाली माया पनि पोको पारेर लगेका थिए। अलिक पर्तिर पुगेर पसलतिर फर्किएर हेरे चिनियाँ युवाले। यता पसलबाट सकुन्तला र रबिना पनि उनीहरूलाई नै हेरिरहेका थिए। आठओटा आँखाको उक्त ठोक्काइले चारैजनाको मनलाई घाइते बनाइदियो।

त्यसपछि पनि उनीहरू पसलमा आइरहन्थे। उनीहरू आउँदा दुवै राई युवतीलाई पनि रमाइलो लाग्थ्यो। पसलमा चिनियाँ आएर के गर्नु र! राई युवतीलाई न चिनियाँ बोल्न आउँथ्यो न चिनियाँ युवालाई नेपाली बोल्न। उनीहरू आँखाको हेराइबाटै मौन संवाद र ओठको मुस्कानबाट एक अर्कालाई अभिवादन गर्थे।

टेलरिङ पसलको टेबुलमा एउटा कपि थियो। उक्त कपिमा कपडा सिलाउन आउने व्यक्तिको नामसँगै शरीरको नाप टिपेर राखिएको थियो। एकदिन चियाङले त्यही कपीमा आफ्नो मोबाइल नम्बर लेखेछन्। पछि कपि पल्टाउँदै गर्दा फोन नम्बर भेटियो। त्यो फोन नम्बर चिनियाँ युवाले नै लेखेको होला भन्ने उनीहरूले शंका गरे।

दिउँसो रबिनाले त्यो मोबाइल नम्बरमा डायल गरिन्। उताबाट कुनै चिनियाँले फोन उठायो। के भन्ने के भन्ने भयो रबिनालाई। केही साता अगाडि उनलाई कुनै नेपाली साथीले तीनओटा चिनियाँ शब्द सिकाएको थियो। उनले हत्त न पत्त आफूले जानेको त्यही तीनओटा शब्द बोलिन्। उनले भनेकी थिइन् ‘ओ आई नी’। त्यसको अर्थ के हुन्छ उनलाई थाहा थिएन। उताबाट चिनियाँले फर्काएको जवाफ पनि उनले बुझिनन्।

साँझ फेरि दुवै चिनियाँ युवा पसलमा आए र भने ‘ओ ये आई नी’। रबिनाले भनेका तीनओटा शब्दमा चियाङले एउटा शब्द थपेको सम्म हेक्का भयो रबिनालाई। तर अर्थ के हो थाहा भएन।

रबिनालाई चिनियाँ भाषा सिकाउने ती नेपाली व्यक्ति फेरि एकदिन पसलमा आएको मौकामा उनले ‘ओ आई नी’ भनेको के हो भनेर सोधिन्। अर्थ थाहा पाएपछि रबिना झसङ्ग भइन्। चिनियाँ भाषामा ‘ओ आई नी’ भनेको त ‘आई लभ यू’ पो हुँदोरहेछ।

‘अनि ओ ये आई नी भनेको चाहिँ के नि?’ सोधिन् रबिनाले।।

ती साथीले जवाफ दिए ‘आई लभ यू टू’ अर्थात् म पनि तिमीलाई माया गर्छु।

त्यसपछि रबिना र सकुन्तला मरिमरी हाँस्न थाले। उनीहरूले बुझ्दै नबुझी जिस्क्याएको त बिचरा चिनियाँ युवाहरूले साँच्चै भन्ठानेर पसलमा साँझैपिच्छे धाउन थालेको उनीहरूले भेउ पाए।

पसलमा रबिनाकी दिदीकी छोरी पनि आइरहन्थिन्। उनी भरखर कक्षा ११ मा पढ्दै थिइन्। एक दिन रबिनाले चियाङलाई हातको हाउभाउले जिस्क्याउँदै भनिन् ‘यो मेरी दिदीको छोरी। तिमी यसलाई बिहे गर। मेरी दिदीको छोरी बिहे गरेपछि मलाई सासू भन्नुपर्छ। त्यसो गरेपछि मलाई औँठी किनिदिनुपर्छ तिमीले।’

चियाङ त्यतिबेला निकै युवा देखिन्थे। उनको लामो कपाल थियो। रबिना जिस्क्याउँदै भन्थिन् ‘तिमीहरूको जोडी पनि मिल्छ।’

चियाङ भने पसलमा आएर रबिनाको छेउमा बसिरहन्थे। रबिनाकी भतिजीप्रति चियाङले कुनै चासो देखाएनन्। अनि सकुन्तलाले रबिनालाई जिस्क्याउन थालिन् ‘छोरी लैजा भन्दा आमा पो ताक्छ त यो चिनियाँ त। छोरीभन्दा आमा तरुनी बोलको कुमार बस्नेत दाइको गीत जस्तै भयो कि के हो।’ रबिना र सकुन्तलाको टेलरिङ पसल कुमार बस्नेतकै घरमा थियो।

दूताबासभित्र चिनियाँ कामदारलाई बिहानै ब्रेकफास्टसँगै उसिनेको अण्डा पनि दिइँदोरहेछ। आफूले ब्रेकफास्टमा पाएको उसिनेको अण्डा चियाङले सधैँ गोजीमा बोकेर बुटिकमा ल्याएर छोड्थे। नेपाली बजारमा पाइनेजस्तो सेतो नभएर कालो अण्डा थियो त्यो। बिहानै चियाङ लमकलमक गर्दै बुटिकतिर आएपछि सकुन्तलाले रबिनालाई ‘तेरो कालो अण्डा आयो’ भन्दै जिस्क्याउँथिन्।

सकुन्तला रबिनाभन्दा ४ वर्ष जेठी थिइन्। रबिना गम्भीर स्वभावकी तर सकुन्तला चन्चले।

उता चियाङभन्दा स छ वर्ष जेठा थिए। अनि स गम्भीर थिए भने चियाङ चन्चले।

उमेर र बानी बेहोराका हिसाबले सकुन्तला र चियाङ अनि रबिना र सको जोडी मिल्दो थियो। तर चियाङले पहिले नै रबिनालाई मन पराइसकेका थिए। अब उमेर र बानी बेहोरा दुवै उल्टापाल्टो पो भयो। सकुन्तला र सबीचमा १० वर्षको फरक थियो भने रबिना र चियाङबीचमा ६ महीनाको।

आँखाको भाव र सांकेतिक सारमा उनीहरू कुराकानी गर्न थाले। जिस्कदा जिस्कदै उनीहरूबीचमा प्रेम बस्यो। सकुन्तला र रबिनाले एकदिन दुवै चिनियाँलाई भने ‘हामीलाई साँच्चै माया गर्ने हो भने बिहे गर्नुपर्छ।’ चिनियाँले हुन्छ भनेर तुरुन्तै स्वीकार गरेको संकेत गरे।

बिहे गर्ने कुरामा सहमति भएपछि रबिना र सकुन्तलाले संकेतबाटै चिनियाँ युवालाई बिहेका लागि सिन्दुर, पोते, चुरा, मंगलसूत्र, ‌औँठी चाहिने भन्दै किन्न लगाए।

एक दिन चारैजना सुटुक्क बुढानिलकण्ठ मन्दिरमा गए। त्यतिन्जेलसम्म सकुन्तला र रबिनाले चिनियाँसँग बिहे गर्दै गरेको कुरा आफन्त र घरपरिवारमा भनेका थिएनन्। कुनै चिनेको मान्छे नभेटियोस् भनेर उनीहरू अलिक टाढा रहेको बुढानिलकण्ठ मन्दिरमा पुगेका थिए। एकजना बाहुन बाजेलाई दक्षिणा दिएर चाँडो मन्त्र भनेर बिहे सकिदिन अनुरोध गर्दै थिए। सकुन्तलाले मन्दिरको दर्शन गर्न लाइन बसेका मान्छेको भीडमा आफ्नी छ्यामा (सानीमा) नाता पर्नेलाई झलक्क देखिन्। उनीहरूको सातोपुत्लो उड्यो। छ्यामाबाट छलिँदै उनीहरूले चाँ-चाँडो बिहे सके।

चिनियाँले नेपाली युवतीको गलामा मंगलसूत्र लगाइदिए। सिउँदोमा सिन्दुर भरिदिए। औँलामा औँठी लगाइदिए। टापटिप बिहे सकेर उनीहरू तुरुन्तै त्यहाँबाट फर्किए।

घरमा चिनियाँसँग बिहे गरेको पत्तो दिएकै थिएनन् तर त्यही राति ठमेलको होटलमा चारैजनाले सुहागरात मनाउन भ्याए।

रबिनाले सकुन्तलाको घरमा जाने र सकुन्तलाले रबिनाको घरमा जाने भनेर आफन्तलाई ढाँटेका थिए।

भावना र मनसँगै शारीरिक रुपमा आपसमा साटिइसकेका उनीहरूलाई मनको भाषा बुझ्न न कुनै लिपि चाहियो न त कुनै सुझबुझ। उनीहरूको मायामा न संस्कृति तगारो बन्यो न धर्म।

बिहे गरेर केही दिनपछि नै चिनियाँ युवाहरू स्वदेश फर्किए। केही समयपछि दुवै चिनियाँ युवाहरू आफ्नी प्रेयसीलाई चीनमा ल्याउने तयारी गरी नेपाल जानका लागि ल्हासा पुगे। ल्हासास्थित नेपाली महावाणिज्य दूताबासले सलाई भिसा दिएन। उनी पहिले नै पर्यटन भिसामा ६ महीना नेपाल बसिसकेका थिए। चियाङ चाहिँ नेपाल बसेको ६ महीना भएको थिएन। त्यसैले चियाङले मात्र भिसा पाए। सका लागि अर्को वर्षसम्म कुर्नुपर्ने भयो। भरखर अक्टोबर लाग्दै थियो। अझै तीन महिना कुर्न उनी तयार थिएनन्। सले चियाङलाई रबिनासँगै सकुन्तलालाई पनि लिएर आउन भने र आफू तिब्बतमै बसे।

रबिना र सकुन्तालले पनि सोलुखुम्बुमा गएर पासपोर्ट बनाए। गाविसमा गएर अविवाहित रहेको सिफारिस झिके।

सकुन्तला भन्छिन्, ‘घरमा त हामीले एकपटक चीन जाने हो। मिलेमा उतै बिहे गरेर बस्ने नभए केही दिन घुमेर फर्किने भनेका थियौँ। तर रबिना त गर्भवती भइसकेको रहेछ। चिनियाँले बिहे गरेन भने त अप्ठ्यारो पो पर्छ कि भन्ने चाहिँ लागेको थियो।’

सकुन्तला र रबिना पर्यटन भिसामा सन् २००८ को अक्टोबरमा चियाङका साथमा चीन उडे। आन्हुई प्रान्तमा आएर चिनियाँ कानूनअनुसार बिहे दर्ता गराए। उनीहरूले घरमा भनेजस्तो त्यतिकै नेपाल फर्कनु परेन। बरु चिनियाँ परिवारमा घुलमिल भएर बसे, विदेशी बुहारी र विदेशी श्रीमतीका रुपमा।

भाषा फरक, भूगोल फरक, संस्कृति फरक, जीवनशैली फरक, समाज फरक। स र चियाङको घर चीनको आन्हुई प्रान्तमा भए पनि बसमा यात्रा गर्दा तीन घण्टाको दूरीमा रहेको छ।

चीन आएको ६ महीनापछि सन् २००९ को अप्रिलमा रबिनाले छोरी जन्माइन्। सन् २००९ को अन्तमा सकुन्तलाले पनि छोरा जन्माइन्। अहिले रबिनाको चारजनाको परिवार र सकुन्तलाको तीन जनाको परिवार मज्जाले बसेको छ। उनीहरू फरर चिनियाँ भाषा बोल्ने भइसकेका छन्।

आफ्नो प्रेम कहानी सुनाउने क्रममा सकुन्तलाले भनिन्, ‘हामी त आधुनिक भृकुटी हौँ। फरक एउटै छ, स्रोङचोङ गम्पोले नेपालबाट भृकुटीलाई बिहे गरेर ल्याएको केही समयपछि चिनियाँ युवतीलाई भृकुटीको सौता भित्र्याएका थिए रे। हाम्रो श्रीमान्‌ले चाहिँ त्यस्तो आँट गरेका छैनन्।’

प्रेम कहानीलाई बिट मार्दै रबिनाले सुनाइन् ‘उध्रिएको ट्राउजरबाट बसेको माया रफ्फु जत्तिकै बेजोडले बस्यो। मैले त त्यो ट्राउजर अझै जतनले राखेकी छु।’

प्रेम टुट्ने डरले बिहे अगाडि नै गर्भाधान

सकुन्तला र रबिनाको जस्तै मिठो प्रेम कहानी छ सिन्धुपाल्चोक तातोपानीकी माया मगरको। उनी काठमाडौँ ढल्कोमा बसेर सीतापाइलामा रहेको सोफा उद्योगमा सिलाइ सिक्ने काम गर्दै थिइन्। आजभन्दा १३ वर्ष अगाडि माया २१ वर्षकी थिइन्।

डोलो र गोरो अनुहार भएकी मायामाथि धेरैले आँखा लगाएका थिए। प्लस टू पढ्दैदेखि उनलाई प्रेम प्रस्ताव गर्ने कति थिए कति। उनले भने कसैलाई  बाल दिइनन्। जब सोफा कारखानामा सिलाइ सिक्न गइन् उनलाई कसैले पछ्याएजस्तो लाग्यो। पछ्याउने व्यक्ति नेपाली नभएर एउटा चिनियाँ ठिटो थियो। त्यो ठिटोले मायालाई खुबै ख्याल विचार गर्न थालेको मायाले चाल पाइन्।

मायाको पछाडि हात धोएर मरिहत्ते गर्ने ठिटो चीनको चच्याङ प्रान्तका २६ वर्षे तन्नेरी छन हुइचुन थिए। छन पनि त्यही सोफा कारखानामा काम गर्थे। सोफा कारखानाको साहुजी चिनियाँ भएकाले काम गर्न चीनबाट नेपाल पुगेका थिए छन।

तन्नेरी चिनियाँ छनले मायालाई मन पराए तर भन्ने अवस्था रहेन। छनलाई नेपाली नआउने अनि माया चिनियाँ फिट्टो नबुझ्ने। नबोलेर के भयो र मान्छेले सबैभन्दा पहिले थाहा पाउने भनेकै मनको भाषा हो। मायालाई आभाष भयो चिनियाँ ठिटोले मन पराएको। गुडिया जस्ती मायाले शुरुमा छनलाई पनि वास्ता गरिनन्।

माया भन्छिन्, ‘कस्ता कस्ता नेपाली ठिटाहरू पछि लाग्दा त बाल दिएकी थिइनँ। विदेशी केटालाई मन पराउने त कुरै थिएन। त्यही भएर केही दिन उसको आनाबानी र बानी बेहोराको निगरानी गरेँ।’

मायालाई अरु साथीहरूले पनि छन इमानदार र राम्रो बानी बेहोरा भएको केटा भनेर प्रशंसा गरे। बिस्तारै मायाको मन पग्लियो। आपसमा बुझ्ने भाषा नभए पनि हाउभाउमै प्रेम स्वीकार गरेको छनक दिइन् मायाले। कारखानामा काम गर्ने एकजना नेपालीलाई चिनियाँ भाषा पनि आउँथ्यो। छनको सन्देश ती व्यक्तिबाट मायाको कानसम्म आउन थाल्यो। मिहिनेती र मिलनसार लागेपछि मायाले त्यही नेपाली व्यक्तिमार्फत सन्देश पठाइन् ‘बिहे गर्ने भए नेपाली चलनअनुसार मेरो घरमा माग्न आउनू।’

पाँचजना दाजु र एउटी दिदीकी प्यारी कान्छी बहिनी माया घरकी पुतली थिइन्। दाइहरूसँग अत्यन्त डराउँथिन्। उनीहरूको आदेश कहिल्यै उलङ्घन गर्दिनथिन्। चलचित्रको कथा जस्तै भयो मायाको प्रेम कहानी। दाइहरू उनका प्रेममा डरलाग्दा भिलेन बनेर उभिए। कुनै पनि हालतमा चिनियाँसँग बिहे गर्न नदिने भन्दै मायालाई घरमै थुनेर राखिदिए।

घरमा थुनिएकी माया आँखा छलेर चिनियाँ युवा छनलाई भेट्न थालिन्। उनको मनमा अनौठो जुक्ति फुर्‍यो। उनले हाँस्तै भनिन् ‘यही चिनियाँबाट गर्भवती भएपछि दाइ मान्नुहुन्छ होला भन्ने ठानेर मैले छनलाई भनेँ। उनले पनि हुन्छ त्यसै गरौँ भन्यो। अनि म गर्भवती भएँ।’

गर्भवती भएपछि दाइले त्यही चिनियाँसँग बिहे गराइ दिन्छन् भन्ने मायाको सोझो सोचाइ पनि त्यतिबेला फेल भयो जब उनका दाइले भने ‘अस्पताल लगेर गर्भपतन गराइदिन्छु र कुनै नेपाली केटा खोजेर बिहे गराइदिन्छु।’

माया र छनसँग अब एउटै विकल्प बाँकी थियो भागेर चीन फर्कने। त्यतिबेलासम्म मायाले पासपोर्ट बनाएकै थिइनन्। एकजना दलाललाई भनेर पासपोर्ट बनाइन्। पाँच हजार रुपैयाँ पर्ने पासपोर्टलाई उनले बीस हजार तिर्नुपर्‍यो। अनि लुकिछिपी चिनियाँ दूताबासमा गएर भिसा लगाइन् र सुटुक्कै छनसँग चीन उडिन्।

दाइहरूले नमाने पनि मायालाई आमाले चाहिँ साथ दिएकी थिइन्। चीनको चच्याङ प्रान्तको निङ्पोमा आएपछि उनले आफ्ना दाइहरूसँग कुरा गर्न खोजिन् तर दाइहरू मायासँग फोनमा बोल्नै चाहेनन्। दाजु बहिनीको सम्बन्ध नै सकिए जस्तै भयो।

सन् २०१० मा छोरी जन्मिएपछि मायाले छोरीको फोटो दाइलाई पठाइ दिइन्। हँसिलो भान्जी देखेपछि बल्ल दाइहरूको मन पग्लियो। त्यसपछि त मायाका दाइहरू निङ्पोमा रहेको मायाको घरमा नियमित आउजाउ गर्न थाले। उनका दाइहरू पनि चीनबाट सामान लगेर नेपालमा व्यापार गर्ने भएकाले नियमित चीन आउने गरिरहन्छन्।

एक शब्द चिनियाँ भाषा नसिकीकन माया चीनमा आइपुगिन्। माया भन्छिन्, ‘शुरु शुरुमा सांकेतिक रुपमा कुरा हुन्थ्यो हामीबीचमा। इसाराबाटै काम चलाइयो धेरै दिनसम्म।’

बिस्तारै मायाले चिनियाँ भाषा सिकिन्। अहिले त उनी फरर चिनियाँ बोल्छिन्। चिनियाँकै जस्तो अनुहार भएकाले उनलाई सबैले चिनियाँ नै भन्ठान्छन्।

मायालाई चिनियाँ साथीहरूले ‘आई’ भनेर बोलाउँछन्। चिनियाँ भाषामा ‘आई’को अर्थ माया हुन्छ। छोरी तीन वर्षकी भएपछि मायाले सन् २०१४ मा छोरा जन्माइन्। अहिले त मायाकी छोरी उनको कुमसम्म आउने भइसकिन्। छोरीसँग हिँड्दा चिनियाँले ‘दिदी बहिनी हो?’ भनेर सोध्ने गरेको माया सुनाउँछिन्।

उनीहरूले त्यसो भन्दा मायालाई त खुशी नै लाग्छ रे तर छोरी चाहिँ झर्कदै भन्छिन् रे ‘ह्या ममी हिल जुत्ता लगाएर हिँड्नू।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved