ढिलो विवाह र करिअरको दबाबमा दम्पती, जटिल बन्दैछ सन्तान उत्पादन (भिडिओसहित)          

ढिलो विवाह, बदलिँदो जीवनशैली र करिअर बनाउने बाध्यताका कारण चाहे महिलामा गर्भधारण र गर्भ खेरजाने समस्या बढ्दो छ भने पुरुषहरूमा पनि बाँझोपन समस्या बनिरहेछ।

ढिलो विवाह र करिअरको दबाबमा दम्पती, जटिल बन्दैछ सन्तान उत्पादन (भिडिओसहित)          

काठमाडौं। आमा बन्ने चाहनाले चार वर्षदेखि मिरा (नाम परिवर्तन) काठमाडौंका धेरै अस्पताल पुगिन्। तर अहिलेसम्म पनि समस्या समाधान नहुँदा उनको तनाव बढ्दै गइरहेछ।

२९ वर्षे मिराको सात वर्ष पहिला बिहे भएको थियो। दम्पतीले नै तत्काल बच्चा नजन्माउने योजना बनाए। चार वर्षपछि भने बच्चा जन्माउने योजना बनाए। तर एक वर्षसम्म घरमै कोसिस गर्दा पनि गर्भ नबसेपछि उनी अहिले तनावमा छिन्।

मिरालाई डाक्टरले पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)को समस्या रहेको बताएका छन्। महिलाको शरीरमा अस्वाभाविक रूपमा एन्ड्रोजेन (पुरुष हर्मोन) उत्पादन हुने समस्यालाई पीसीओएस भनिन्छ।

“अस्पताल जाँदा अरू कुनै पनि समस्या छैन अलिकति तौल घटाउनु भन्नुहुन्छ, तौल पनि नघटाएको होइन”, उनले भनिन्, “पीसीओएसकै कारण अहिले मिन्स (रजस्वला) पनि निकै ढिलो भइरहेको छ। त्यसैले अण्डा नबन्ने र बने पनि नफुट्ने समस्या बढ्दै गएको भन्दै डाक्टरले सुई लगाएर अण्डा बनाउने र फुटाउने गर्नुभयो। पाँचपटक आइयूआई (महिलाको अण्डा फुटेको दिनमा पुरुषको राम्रो वीर्य निकालेर पाठेघरमा राख्ने प्रक्रिया) गर्न लगाउनुभयो। त्यो पनि गरेँ। अन्तिम पटक आइयूआई गर्दा बच्चा पनि बस्यो तर दुई महिनापछि आफै खेर गयो।”

आमा बन्ने उपयुक्त उमेर घर्किँदै गएकाले झन् बढी तनाव हुने उनले बताइन्।

काभ्रेकी ३५ वर्षीय सुनमायाले पनि मीरालेजस्तै समस्या भोगिरहिछन्।

१६ वर्षकै उमेरमा बिहेको भएको थियो उनको। बिहे भएकै वर्ष गर्भवती पनि भएकी थिइन् तर गर्भ लामो समयसम्म रहन सकेन। तीन महिनामै खेर गयो। यो समस्या पटकपटक दोहोरिइरह्यो। ६-७ महिनाको फरकमा गर्भ बस्ने र २-३ महिनामा खेर जाने भइरह्यो।

चार पटकसम्म बच्चा खेर जाँदासम्म उनले कतै उपचार गराएकी थिइनन्। शुरुमा त श्रीमान् र घरपरिवारको दबाबमा झारफुक र उपचार गर्नतिर लागिन्। त्यतिकैमा १७ वर्ष बिते तर समस्या समाधान भएन। उपचारको खोजीमा सुनमाया दम्पती वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ डा. तुम्ला लाकौल शाहसँग जाँच गर्न लगे।

डा. शाहले २० वर्ष नपुग्दै बिहे गर्दा पाठेघर परिपक्व नभएकाले बारम्बार गर्भ खस्ने समस्याले नै गर्भ नरहने जटिलता निम्त्याएको बताइन्। उपचारपछि सुनमाया गर्भवती भइन्। पहिलाकै जस्तो गर्भ खस्ने समस्या नदोहोरीयोस भनेर डाक्टरले ९ महिनासम्म पूर्णरूपमा बेड रेस्ट गर्न लगाइन्।

“डाक्टरले जे–जे भन्नुभयो त्यो सबै गर्दै गएँ। नौ महिनासम्म केही काम गरिनँ। ३३ वर्षको उमेरमा एकै पटक छोराछोरीलाई जन्म दिएँ, आज पनि १७ वर्षसम्मको त्यो पिडा सम्झिदा आँखा रसाउँछन्”, उनले पीडा पोखिन्।

गर्भ नरहने समस्याको अर्को पीडित हुन् सबिता (नाम परिवर्तन)। डाक्टरहरूले ६ पटकभन्दा बढी नगर्ने सल्लाह दिने आइभीएफ उनले १५/२० पटकसम्म गरिसकिन्। दुईपटकसम्म आइभीएफ पनि गरिन। श्रीमतीको परिपक्व अण्ड र श्रीमान्को वीर्य लिएर गर्भ बाहिर निसेचन गराई गर्भाशयमा राख्ने प्रविधि हो, आइभीएफ। त्यति गर्दा पनि बच्चा बसेन।

बच्चा जन्माउने रहरले कहाँ मात्रै पुगेकी छैनन् उनी। ३५ वर्षीय सबिता बच्चा जन्माउने रहरले १२ वर्षदेखि विभिन्न अस्पताल र डाक्टरकहाँ धाइरहेको सुनाउँछिन्।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल गएपछि समस्या समाधान भएको अनुभव उनले सुनाइन्।

“प्रसूतिमा पनि सबै जाँच गरियो तर केहि पनि देखिनँ,” उनले भनिन्, “आइभीएफ गर्नकै लागि यहाँ आएको थिएँ तर आइभीएफ गर्नु भन्दा पहिले डाक्टरले आइयूआई गर्न लगाए र गरेँ पनि तर सोच्दै नसोचेको भयो यो पटक गर्भ बस्यो।”

अहिले सबिता गर्भवती भएको १३ हप्ता पुगिसक्यो। निकै खुशी छिन् उनी।

बढ्दो छ समस्या

पछिल्लो समय यसैगरी गर्भ नरहने वा रहेको गर्भ पनि खेर जाने समस्या बढ्दो छ। प्रसूति अस्पतालको निःसन्तान उपचार केन्द्रमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. ज्वाला थापाका अनुसार त्यहाँ दैनिकजसो ५०देखि ६० जना महिला यस्तै समस्या लिएर आउने गरेका छन्।

“अधिकांश महिला बच्चा नै नबस्ने, बसे पनि खेर जाने र एउटा बच्चा भएको १० वर्षसम्म अर्को नहुनेजस्ता समस्या लिएर आउने गरेका छन्”, डा. थापाले भनिन्।

नेपालमा कति जनामा बाँझोपनको समस्या छ भन्ने यकिन तथ्यांक छैन।  १५ देखि २० प्रतिशत महिलामा यस्तो समस्या रहेको स्त्री रोग विशेषज्ञहरूको धारणा छ। तीमध्ये १५ प्रतिशतमा कारण नै पत्ता लगाउन नसकिएको उनीहरू बताउँछन्।

“अहिलेसम्म नेपालमा कति जनामा बाँझोपनको समस्या देखिएको छ भनेर आजसम्म पनि डाटा हुन नसक्नु हाम्रो दुर्भाग्य हो”, वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको टिप्पणी छ।

धेरै विवाहित जोडीमा यो समस्या देखिइरहेको उनले बताए। पहिला जाँच गर्न आउनेमध्ये ५० प्रतिशतमा मात्रै यो समस्या देखिने गरेकोमा अहिले ८० प्रतिशतमा देखिने गरेको उनको अवलोकन छ।

आफूले दैनिक हेर्ने बिरामीको चापलाई मध्ये नजर गर्दै बाँझोपनको समस्या नेपालमा २०–२५ प्रतिशत पुगिसकेको हुन सक्ने अनुमान उनले गरे।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नुतन शर्माले पनि पछिल्लो १५ वर्षमा २ देखि ३ गुणाले बाँझोपनाको समस्या बढेको बताइन्। उनका अनुसार उनीकहाँ आउने आधाभन्दा बढीमा यस्तो समस्या छ।

ढिलो विवाह मुख्य कारण

स्त्री रोग विशेषज्ञहरू गर्भधारणमा आइरहेको समस्या धेरै कारणहरूको परिणाम भएको ठान्छन्। ती मध्ये प्रमुख हो, ढिलो विवाह।

“पहिले २२–२३ वर्षमा बिहे गरेर बच्चा जन्माउने गर्थे त्यस बेला अहिलेको जस्तो समस्या थिएन,” डा. शर्मा भन्छिन्, “अहिले प्रायले भविष्य बनाउने अनि मात्र बच्चा जन्माउने लक्ष्य राख्छन् तर प्रजनन क्षमताका लागि उमेरले निकै ठुलो भूमिका खेल्छ भन्ने कुरा भुल्छन्।”

आखिर कस्तो भूमिका खेल्छ त उमेरले ? डा. शर्माका अनुसार २२  देखि २९ वर्षसम्म महिलाको पाठेघर र त्यहाँ हुने अण्डाको विकास प्रक्रिया बच्चा जन्माउन उपयुक्त हुन्छ। उमेर बढ्दै जाँदा अण्डाको गुणस्तर घट्दै जान्छ भने पाठेघरमा मासु पलाउने लगायतका समस्या देखिन थाल्छन्।

“जन्मेदेखि नै केटी मान्छेले फिक्स अण्डा लिएर आउँछन्। महिनैपिच्छे त्यो अण्डा घट्दै जान्छ त्यसकारण केटी मान्छेले समयमै बच्चा जन्माउन निकै आवश्यक छ”, डा. शर्मा भन्छिन्।

डा. ज्वाला थापा पनि ढिलो विवाहलाई नै मुख्य कारण मान्छिन्।

“अहिले भविष्य बनाउने चक्करमा ३०–३५ वर्षमा बिहे गर्छन्। यो उमेरमा बिहे गर्दा महिलाको अण्डा बन्ने क्षमतामा कमी आइसकेको हुन्छ जसले गर्दा आमा बन्नका लागि निकै समस्या हुने गर्छ”, डा. शर्मा भन्छिन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुम्ला लाकौल शाह पनि बच्चा जन्माउने उमेर ढिलो हुँदा बाँझोपनको समस्या बढेको धारणा राख्छिन्।

“अहिले प्रायजसो दैनिक बाँझोपनको समस्या लिएर ३० वर्ष कटिसकेका महिलाहरू आउने गर्छन्, उनीहरूमा बच्चा नै नहुने भन्ने त हुँदैन तर अलि गाह्रो चाहि हुन्छ”, डा. लाकौलले भनिन्।

उनका अनुसार बदलिँदो जीवनशैली, खानापिन र तनावले गर्दा अहिले ३० वर्ष भन्दा अगाडि नै अण्डा बन्ने क्षमतामा बिस्तारै कमी आइरहेको छ।

महिलामा गर्भधारण हुन नसक्नुको अर्को प्रमुख कारण हो पीसीओएस। यसका कारण महिलाहरूमा नियमित रजस्वला नहुने तथा अण्डा नबन्ने डा. नुतन शर्माको धारणा छ।

“पिसिओएसले मुख्य गरेर ओभुलेसन (अण्डनिष्कासन) नै हुन नदिने भएले बच्चा बस्दैन”, उनले भनिन्, ‘‘तर पिसिओएस त्यति ठुलो समस्या होइन, तौल कम गर्ने, औषधि खाने र स्वास्थ्य जीवनशैली अपनाएपछि पिसिओएस हराउँदै जान्छ र बच्चा बस्ने सम्भावना रहन्छ।”

साथै जथाभावी गर्भपतन गर्दा पनि बाँझोपन आउन सक्ने डा. शर्माले सचेत गराइन्।

गर्भ खेर जाने समस्या पनि बढ्दो

बच्चा बसेर पनि गर्भ खस्ने समस्या पनि अहिले धेरै जनामा देखिएको स्त्री रोग विशेषज्ञ डा.जागेश्वर गौतमले बताए।

“बाँझोपन त बढ्दै गइ नै रहेको छ,” उनले भने, “यो सँगै गर्भ बसेर खेर जाने समस्या पनि बढ्दो नै छ।”

पहिलोपटक गर्भ खेर गएको छ भने मुख्य कारण भ्रूण नै हो। ३० प्रतिशत मात्रै अन्य कारणले खेर जान्छ। तर तीन वा चार पटकसम्म गर्भ खेर गएमा संक्रमण, हर्मोनको गडबडी, पाठेघरको बनावट र वंशाणुगत समस्याहरू कारक हुनसक्ने उनले औँल्याए।

पुरुषमा पनि बढ्दै छ बाँझोपन

महिलामा गर्भधारण र गर्भ खेरजाने समस्या बढेजस्तै पुरुषहरूमा पनि प्रजनन क्षमतामा ह्रास आइरहेको चिकित्सकहरूको धारणा छ।

डा. तुम्ला लाकौल शाहका अनुसार गर्भ नरहने समस्या लिएर आएका पुरुषमध्ये सयमा ७० देखि ८० जनासम्ममा बाँझोपन देखिने गरेको छ। बाँझोपन पनि दुई थरी छ। कसैको एउटा पनि बच्चा भएको छैन भने कतिपयमा एउटा भएर अरू बच्चा हुन नसकेको छ।

“गाडी धेरै चलाउने, गर्मीमा काम गर्ने, ल्यापटपमा धेरै काम गर्ने र सूर्तिजन्य पदार्थ सेवन गर्ने गर्दा पुरुषको वीर्यमा धेरै असर पार्ने भएकाले उनीहरूमा पनि बाँझोपन बढ्दै गइरहेको छ”, डा. शाहले भनिन्।

कतिपय पुरुषहरूमा जन्मजात नै प्रजनन अङ्गको विकास नभएकाले वा शुक्रकिटको मात्र कम हुने हुनाले वा मासु पलाएर शुक्रकीट आउने ठाउँ अवरुद्ध हुँदा पनि बाँझोपन देखिने उनले बताइन्।

६ देखि ८ घण्टा सुत्ने, रक्सी, चुरोट नखाने, व्यायाम गर्ने, खानापिनमा धेरै ध्यान दिने र स्वास्थ्य जीवन शैली अपनाउँदा यस्तो समस्या कम हुँदै जाने उनको सुझाव छ।

चाहिन्छ सरकारको भूमिका

एकातिर सन्तान जन्माउने संख्या नै कम हुँदै गएको छ भने अर्कोतर्फ गर्भधारण नै नहुने समस्या बढेको छ चाहे पुरुषमा समस्या भएर होस् वा महिलामा। परिणाम हालै सार्वजनिक जनगणनाले देखाएको छ। २०६८ मा जनगणना हुँदा एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेकोमा अहिले ०.९३ प्रतिशत मात्रै छ। यसैले पनि सरकारले यो समस्याको निराकरण गर्न भूमिका खेल्नुपर्ने डा. भोला रिजालको तर्क छ।

“बाँझोपन सबैमा हुन सक्छ भन्ने पीडा बुझेर सरकारले जसरी क्यान्सर, मिर्गौला र अन्य रोगमा गरेको एक लाख रुपैयाँ सहयोग गरेको छ, त्यसरी नै निःसन्तान दम्पतीलाई पनि एकै लाखमात्र सहयोग गर्‍यो भने पनि यो जस्तो पुण्यको काम अरू हुने थिएन होला”, डा. रिजाल भन्छन्।

त्यसो त सरकारले बाँझोपनको समस्यामा सघाउन केही काम गरेको पनि छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसुलभ दरमा सेवा दिने गरी केही ठाउँमा यसको उपचार केन्द्र खोल्ने योजना बनाएको डा. रिजाल बताउँछन्।

“सरकारले केही हदसम्म यसमा काम त गरेको छ तर यति मात्रैले पुग्दैन अझै व्यापक रूपमा लैजानुपर्छ” उनले भने, ‘‘ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखेर हुन्छ कि कसरी हुन्छ सरकारले यसमा पहल गर्नुपर्छ।”

बाँझोपन बढ्दै गइरहेकाले नेपाल सरकारलाई यस विषयमा केहि  सुझाव दिइरहेको डा.जागेश्वर गौतमले बताए।

सरकारले परिवार संयोजनको अवधारण ल्याएको तीन वर्ष जति भएकाले निःसन्तान दम्पतीको उपचार सर्वसुलभ दरमा गर्नका लागि केहि व्यवस्था ल्याउन लागेको समेत उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved