अनुमानित ३४ लाखमध्ये ३० लाख बालबालिकाले लगाए कोरोना खोप

सहप्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरे।

नेपालभ्युज

अनुमानित ३४ लाखमध्ये ३० लाख बालबालिकाले लगाए कोरोना खोप

काठमाडौं। सरकारले अनुमानित ३४ लाखमध्ये ३० लाख बालबालिकाले कोरोना खोप लगाएका बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अनुसार नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरुले खोपको पहिलो मात्रा लगाइसकेका छन्। यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको उनले बताए।

“१२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित रुपमा ३४ लाख जति खोप लगाउनु पर्नेछ । मोडेर्ना र फाइजरको खोप एक मात्रा प्रयोग भएको तथ्यांक हेर्दा ३० लाखको हाराहारी प्रयोग भएको देखिन्छ,” अधिकारीले भने, “त्यस्तै, ११ लाख जतिले दोस्रो मात्रा पनि लगाएको देखिन्छ । जुन खोप हामीले १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुलाई लगाइरहेका छौँ । ४ लाख जति बालबालिकाहरु खोप लगाउन बाँकी हुनुहुन्छ । उहाँहरुलाई पनि चाँडै खोप लगाइसक्न सक्छौँ भन्ने हिसाबले काम गर्दैछौँ ।”

यसैबीच, सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई सहज बनाएको छ । कोरोना जोखिमका कारण आंशिक रुपमा रहेको निषेधहरु हटाउँदै सरकारले जनजीवन सहज बनाउने निर्णय गरेको हो।

काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानका सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै सरकारले फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरुलाई सञ्चालन गर्ने निर्णय गरेर जनजीवनलाई थप सहज बनाएको हो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

अधिकारीले कोरोनाका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताए।

“हामीले जोखिमबाट शतर्कता अपनाउनु पर्ने, सावधान रहनुपर्ने कुराहरु छँदैछन्,” अधिकारीले भने, “सबै कुराहरुको विश्लेषण गर्दा अहिले पछिल्लो अवस्था जनजीवनलाई पनि सहज बनाउँदै जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्दै जाँदा सबैलाई सहज हुने भन्ने सोचेर सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ ।”

सहप्रवक्ता अधिकारीले कोरोना संक्रमण भएर निको हुनेको संख्या बढी रहेकोले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताए।

सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्था हेर्ने हो भने दैनिक रुपमा संक्रमण पुष्टि हुनेहरुको संख्या कम हुँदै गएको छ । अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि सुधार हुँदै आइरहेको अवस्था छ । यद्यपी कोरोनाको जोखिम भने कायम छ ।

सहप्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved