प्रिय पात्र

धारासँगै बगेर किनारा पहिल्याउने मेरा पात्र

समाजका आम मानिस जस्तैः धारासँगसँगै बग्दै बिस्तारै पानी काटेर सोद्देश्य किनारा पहिल्याउने तथा प्राप्त गर्ने पात्रहरूले बढी प्रभावित गर्छन्। मेरा पात्रहरू नेपाली साहित्यका पाठकहरूका निम्ति अपरिचित हुन सक्दछन्। किनभने यिनीहरू धेरैजसो मैथिली साहित्यका छन्।

धारासँगै बगेर किनारा पहिल्याउने मेरा पात्र

अधिकांश पुस्तकका पात्रहरू मेरो मन–मस्तिष्कमा पढुन्जेल मात्र बसेका हुन्छन्। बिस्तारै प्रायजसो पाखा लाग्दै जान्छन्। तर अनुवादको क्रममा आएका पात्रहरू अपेक्षाकृत बढी समयसम्म मानसपटलमा छाइरहन्छन्। मैले मैथिली र नेपाली भाषाबीच अनुवादको क्षेत्रमा पनि केही काम गरेको हुँदा प्रायः तिनै कृतिका पात्रहरू मलाई बढी प्रिय लाग्ने गर्दछन्।

अनुवादको क्रममा चरित्रलाई गहिराइमा गएर बुझ्ने, मनन गर्ने अवसर मिल्ने हुँदा पात्रको छापसमेत हृदयमा गहिरिएरै पर्न जाँदोरहेछ। कतिसम्म भने कनकमणि दीक्षितको भक्तप्रसाद भ्यागुतोको नेपाल भ्रमण– ‘धुमधामको घुमघाम’ मैथिलीमा अनुवाद गरिसिध्याएपछि भ्यागुतोमा समेत मैले मानवीय छवि देख्न थालेको थिएँ। यसको असर खासगरी बाइक चलाउँदा देखिने गथ्र्यो। एकसुरमा बाइक चलाइराख्दा कतैबाट उफ्रिँदै कुनै भ्यागुतो आइपुग्दा अनायासै मेरा खुट्टा ब्रेकमा कस्सिन्थे। एक दुई पल्ट त बाइक नै पल्टेला जस्तो पनि भएको थियो। यो उपक्रम लामो समयसम्म मेरो जीवनमा चलिरह्यो। यो त लेखकले भ्यागुतोका माध्यमबाट लेखनीमा भर्न सकेको जीवन्तताको कुरा भयो, तर मलाई मन पर्ने अधिकांश पात्रसँग त्यस्तै अनुवादकै क्रममा घनिष्ठता भएको मेरो ठम्याइ रहेको छ।

मलाई चमत्कारपूर्ण व्यक्तित्ववाल पात्रहरूले खासै प्रभावित गर्दैनन्। समाजका आम मानिस जस्तैः धारासँगसँगै बग्दै बिस्तारै पानी काटेर सोद्देश्य किनारा पहिल्याउने तथा प्राप्त गर्ने पात्रहरूले बढी प्रभावित गर्छन्। मेरा पात्रहरू नेपाली साहित्यका पाठकहरूका निम्ति अपरिचित हुन सक्दछन्। किनभने यिनीहरू धेरैजसो मैथिली साहित्यका छन्। त्यस्ता केही प्रमुख पात्रहरू निम्नानुसार छन्ः

१. खट्टर काका
समाजका हरेक पक्ष, क्रियाकलाप, सांस्कृतिक प्रचलन, धार्मिक मान्यताहरूलाई सूक्ष्म रूपले नियाल्दै तिनका केस्रा–केस्रा केलाएर सटिक टिप्पणी गर्ने पात्र हुन्– खट्टर काका। यिनी मैथिल समाजका हरेकजसो परम्पराबारे पर्याप्त चासो र यथेष्ट जानकारी राख्छन्। यी परम्परा, मान्यता र विश्वासहरू कसरी मिथिला समाजकै प्रगतिपथमा तगारा बनी बसेका छन् भन्ने कुरामा आम पाठकलाई सहमत गराइछाड्ने यिनको तर्क र प्रस्तुति रहेको हुन्छ। कुनै पनि परम्परा, प्रवृत्ति, तथ्यलाई विनातर्क स्वीकार गरिनुहुन्न भन्नेमा उनी दृढ देखिन्छन्।

दैनन्दिनीका ससाना कुराहरूमा दर्शनको सन्धान गर्न सक्नु र कुराकुरामै प्रचुर हास्य–विनोद सिर्जना गर्नु खट्टर काकाका अतिरिक्त विशेषता हुन्। सरसरी हेर्दा उनी भोजनप्रिय छन्। मनग्य खान्छन्, भाङको नशामा लट्ठिएका हुन्छन्, गफ चुट्छन्। यस्ता प्रवृत्तिहरूले उनी एक परम्परावादी ब्राह्मणका रूपमा देखिन्छन्। तर ब्राह्मणत्वका नाममा षड्यन्त्रमूलक ढङ्गले निमुखाहरूलाई पछाडि पारिएको कुरामा उनको रत्ति पनि विमति देखिन्न।

धामी–झाँक्री, पूजा–पाठ, आयुर्वेद, मोक्ष, वेद आदिका नकारात्मक पाटाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै हामीकहाँ यिनैमा अल्झाएर मानिसलाई युगानुरूप प्रगतिपथमा हिँड्नबाट वञ्चित गराइएको विश्वास राख्छन्। उनी परम्परालाई विज्ञानको कसीमा पर्गेल्नुपर्ने, अन्धविश्वासलाई तर्कले दूर गर्ने, अकर्मण्यतालाई विकासले उछिन्ने योद्धाका रूपमा देखिन्छन्। मिथ्यावादिता, अकर्मण्यता, पाखण्ड, आत्मवञ्चना जस्ता दुर्गुणहरूले नै हाम्रो समाज पछाडि परेको ठम्याइलाई उनी पश्चिमाहरूको विकासको उदाहरणबाट पुष्टि गर्दछन्।

यद्यपि, खट्टर काका कुनै आख्यान साहित्यका पात्र होइनन्। दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका हरिमोहन झाद्वारा रचित विनोदवार्ता ’खट्टर काकाक तरङ्ग’का प्रमुख पात्र हुन् यिनी। तर आजभन्दा ७० वर्षअघि जतिखेर खासगरी मिथिला समाज अन्धविश्वास र परम्पराको अँध्यारोमा गजधुम्म थियो, त्यतिखेर त्यसै समाजको एउटा सामान्य एवं अभिन्न अङ्गका रूपमा उपस्थित भएर हरेक सामाजिक विकृतिहरूमाथि उनले जसरी खुलेआम प्रहार गरे, त्यसले गर्दा खट्टर काका परम्पराका बीच उदाएका एक आधुनिक चेतसम्पन्न क्रान्तिकारी व्यक्तित्वका रूपमा स्थापित हुन पुगे।

प्रहार यस्तो तर्कपूर्ण एवं त्यसको शैली यति विनोदमय थियो कि पाठकहरू सहज रोमाञ्चका साथ त्यसलाई आत्मसात गर्न पुग्थे। यस पात्रको लोकप्रियता कतिसम्म रह्यो भने अद्यापि खट्टर काका एक काल्पनिक पात्र नभई वास्तविक मानिस नै हुन् भन्ने धारणा थुप्रैले पालेका छन्।

२. मनचन डोम
डा. धीरेश्वर झा ‘धीरेन्द्र’ को कथा ‘सुगरक बाप’ (सुँगुरको बाउ) का केन्द्रीय पात्र हुन्– मनचन डोम। गाउँघरमा मनचनमा भनी बोलाइने मनचन कर्मशील तथा आफैमा मस्त रहने व्यक्ति हुन्। दैनिक गुजारा चलाउन बाँसको चोयाका सामग्रीहरू बनाएर बेच्ने गरेका मनचनले ऋण काढेर ल्याएको एक जोडी सुँगुरबाट थुप्रै आशाहरू पालेर राखेका हुन्छन्। ऋण तिर्नेदेखि लिएर सानो घडेरीसम्म जोर्ने सपना साँचेको मनचनले सुँगुर जोडीबाट आठ–दश थान पाठापाठीको आशा गरेकोमा जम्मा एउटा पाठो पाउँछन्। चित्त बुझाएर त्यही एउटा पाठोलाई पनि बडो मिहिनेत र मनोयोगले पाल्छन्। मनचनका लागि पाठो सपना मात्र होइन, आत्मसंवाद गर्ने एक प्रमुख पात्र पनि बन्न पुग्छ।

बिस्तारै पाठोको पुष्ट हुँदै गएको पुठोले आफ्नो मनसुबा पूरा हुनेमा मनचन विश्वस्त हुन थाल्छ। नभन्दै एक दिन राम्रो दाममा पाठो बिक्री हुन्छ। तर ग्राहकले लिएर गएदेखि नै ऊ खिन्न देखिन थाल्छ। बुढीलाई भन्छ– ‘हेर न आज सुँगुरको खोरमा चालचुलै छैन। पाठो गएदेखि सुँगुर–सुँगुर्नी उदास जस्ता देखिन्छन्।’

यस्तै तर्कनामा कोल्टो फेर्दै मनचनले रात बिताउँछन्। बिहानीपख आँखा लागेको मात्र के थियो, सुँगुरको खोरमा ख्वाँक–ख्वाँक सुनिन थाल्छ। के भएछ भनी हेर्न जाँदा सुँगुरको पाठो खोरभित्रै देखिन्छ। केहीबेरमै पाठो किनेर लगेका मानिसहरू खुरको डाम पछ्याउँदै आइपुग्छन्। सुरूमा त बेचिसकेको पाठो फेरि चोरेर ल्यायौ भनेर झगडा गर्छन् तर पछि मनचनले पाठो आफै आएको विश्वास दिलाएपछि मान्छन्। उनीहरूले पाठोलाई फेरि लिएर जाने सुरसार गरेपछि मनचनले भित्रबाट पैसा ल्याएर आफ्नो पैसा लग भनेर फिर्ता दिन्छन्। उनीहरूले बरु अझै पैसा थपेर दिने प्रस्ताव पनि गर्छन्। तर मनचनले यो पाठो मेरो घर छाड्न चाहँदैन भने जति दिए पनि बेच्दिनँ, यहीँ बुढो भएर मर्छ भन्दै खोरको ढोका लगाउँछन्।

यसरी एउटा पशुसँग जोडिएको आत्मीयताका अगाडि मनचनले देखाएको मानवीय संवेदनाको उच्चताले गर्दा डा. धीरेन्द्रको यो पात्रले मेरो मनमा गहिरो स्थान बनाएको छ।

३. बिजली र कलपू
आख्यानकार ललितको उपन्यास ’पृथ्वीपुत्र’ उसो त सर्वहारा वर्गको सङ्घर्षको दस्तावेजका रूपमा चर्चित रहेको छ। तर यसका सहायक पात्र बिजली र जमिनदार कल्पनाथ मिश्र उर्फ कल्पूको प्रेमगाथाका सन्दर्भमा देखिएको दुवैको चरित्रले मानसमा विशिष्ट छाप छोड्दछ।

बिजली नायक सरूपकी दिदी हो, जो माइतीको माया र कल्पूको आकर्षणले गर्दा विवाहित श्रीमान्कहाँबाट भागेर माइती आउँछिन्। कल्पनाथ मिश्र विधुर जमिनदार हुन्। दुवैबीच जातीय, वर्गीय रूपमा ठूलो खाडल छ। तर पनि दुवैले आपसी प्रेममा उच्चकोटीको आदर्श प्रस्तुत गर्दछन्। अनैतिक जस्तो देखिने प्रेममा पनि नैतिकता र मानवीयताको पथबाट दुवै विचलित हुँदैनन्। कल्पू जाति, वर्ग सबैका विरुद्ध गएर बिजलीलाई वैधानिक रूपले अपनाउन तयार हुन्छन् तर बिजली आफ्नो प्रेम कल्पूको जीवनमा वर्ण–व्यवस्थाको रापले कुनै दाग नलागोस् भन्ने सोचेर भन्छिन्– ‘यो जुनीमा मलाई तिम्रो छहारी मात्रै भए नि पुग्छ।’

४. इलैया र टुटे पण्डित
नेपाली साहित्यमा मेरो प्रिय आख्यानकार हुन्– नयनराज पाण्डे। उनका पात्रहरू मलाई प्रायः जीवन्त र मानसमा छाप छोड्ने प्रकृतिका लाग्छन्। त्यसमध्ये पनि उनको उपन्यास ’लू’ का पात्रहरू इलैया र टुटे पण्डितले मलाई बढी प्रभावित गरेका छन्। इलैयाको उपद्रयाहा स्वभाव परिस्थितिजन्य घटना–परिघटनाहरूबाट छिप्पिँदै आक्रोश र अराजकताको हदसम्म पुगिसक्दा पनि ऊभित्रको मानवता सशक्त रूपमा उपस्थित रहनु र त्यसले कुनै प्रतिफल वा प्रदर्शनको चाहनासमेत नगर्नु उसको प्रमुख वैशिष्ट्यका रूपमा चित्रित भएको छ।

आफ्नी आमाको अकाल मृत्यु, त्यसपछि सौतेनी आमा ल्याएपछि बाबुसँग समेत विरक्ति हुँदाहुँदै पनि उसले त्यही सौतेनी आमाप्रति पनि नजानिँदो पाराले देखाएको आत्मीयताले उसको चरित्रलाई एउटा बेग्लै आयाम दिन्छ। एउटा ढुङ्गा जस्तो मुटुवाला युवकको रूपमा देखिएको इलैयामा वस्तुतः हृदयभरि प्रेमको चाहनाले त्यस्तो अवस्था सिर्जना गरेको थाहा पाइन्छ। तर उसको हृदय प्रेमिल नै हो भन्ने कुरा उसले ज्यान फालेर माया गर्ने नुसरतलाई आफ्नो बनाउन नसकेपछि उसको प्रेम सफल पार्न गरेको योगदानबाट प्रष्टिन्छ। उपन्यासमा यो चरित्र फिल्मीझैँ लागे पनि यस्ता चरित्रहरू हाम्रै समाजका यथार्थ पनि हुन् र यस्ता पात्रले अप्रत्याशित रूपमा समाजलाई सकारात्मक टेवा पुर्‍याइरहेका हुन्छन्।

हरेक रोगको उपचार नुस्खामय ढङ्गबाट जान्ने व्यक्तिको रूपमा देखिने, हरेक ठाउँमा आफूलाई लालबुझक्कडको रूपमा प्रस्तुत गर्ने, कट्टर हिन्दू टुटे पण्डितले गाउँ नै हिन्दू–मुस्लिम दङ्गाको आगोमा दन्किरहेको बेला सम्पूर्ण मुसलमानहरूलाई आफ्नो घरमा संरक्षण दिएर मानवताको जुन मिसाल देखाएका छन्, त्यसले गर्दा यी पात्र पनि मलाई निकै प्रिय लागेको हो।

५. सोमदत्त साहु
महाकवि विद्यापतिका संस्कृत कथाहरूको सँगालो ‘पुरुष परीक्षा’ का अनेकौँ पात्रहरूले प्रभावित गर्दछन्। ‘पुरुष परीक्षा’ सिङ्गो भारतवर्षमै उच्चकोटिको कथासाहित्यमा परिगणित हुन्छ। संस्कृतका ‘पञ्चतन्त्र’ र ‘हितोपदेश’पछिको अमूल्य निधि मानिने संस्कृतको यो कथाकृतिलाई उपर्युक्त कथासाहित्यभन्दा किन पनि विशिष्ट मानिन्छ भने जहाँ ती दुई कृतिमा पशुपंक्षीजस्ता पात्रहरू तथा अस्वाभाविक प्रकृतिका घटनाहरूका माध्यमबाट नैतिकताको पाठ पढाइएको छ भने यसमा मानवीय चरित्रको स्वाभाविक तथा तथ्यपरक चित्रणबाट कथाहरूको सिर्जना गरिएको छ। ६ सय वर्षअघिको समयमा हाम्रै मिथिलाभूमिमा यस उचाइको कथा सिर्जना हुनु आफैमा गौरवको विषय पनि हो।

‘पुरुष परीक्षा’ का ४४ कथामध्ये ‘चुक्लीको कथा’ का पात्र साहुकार सोमदत्तले पनि मलाई प्रभावित गरेका छन्। आफैले शिक्षादीक्षा दिलाई पालन–पोषण गरेका ब्राह्मणपुत्रले राजदरबारमा जागिर खान थाले पनि आफ्नो धर्मपिता सोमदत्त साहुसँग खर्च माग्न छोड्दैन। साहुले ‘अब तिमी आफै कमाउने भयौ, त्यसैले आफ्नो खर्च उठाउ, घर खर्चमा सघाउ’ भन्दा उल्टो ‘तिम्रो धन कहाँ–कहाँ छ भन्ने कुरा राजालाई भनेर झ्यालखाना पठाइदिन्छु’ भन्ने धम्की दिन्छ। डराएर सोमनाथले ब्राह्मणले भनेअनुसार नै आफ्नो सम्पत्ति उसलाई दिन थाल्छन्।

साहुकी श्रीमतीले राजाकहाँ गएर आफ्नो धर्मपुत्र ब्राह्मणबारे साँचो कुरा बताउन गरेको आग्रहको जवाफमा साहु भन्छन्– ‘मैले पनि राजाकहाँ गएर चुक्ली नै लाएँ भने त उसमा र ममा फरक नै के रह्यो र ? ऊ आफ्नै कर्मले एकदिन नष्ट हुनेछ।’ यसपछि सोमदत्त ‘पिशाच, चुक्लीखोर र कुकुर– यी तीनै लोभले अन्धा हुने गर्दछन्, यिनीहरूबाट सुरक्षित रहँदै समय बिताउनका लागि अलि–अलि दिएर यिनीहरूलाई भुल्याइराख्नुपर्छ’ भन्दै उपयुक्त समयको प्रतीक्षाका साथै क्षुद्रबुद्धि ब्राह्मणलाई तह लाउने प्रयास गर्न थाल्छन्। नभन्दै क्षुद्रबुद्धि ब्राह्मणको महत्वाकांक्षा र उद्दण्डता बढ्दै गएर जब ऊ राजा चन्द्रगुप्त र मन्त्री राक्षसलाई समेत एकार्काको चुक्ली लाउने हदसम्म पुग्छ, तब सोमदत्तको पहलमा सबै कुरा खुलस्त हुन्छ र ब्राह्मणको सर्वश्वहरण गरी उसलाई समुद्र कटाइन्छ।

अन्य कृतिका पात्रहरूमा महेन्द्र मलङ्गियाको ‘काठक लोक’ नाटकका बाबाको सत्य–निष्ठा र ज्याद्रोपना, डा. राजेन्द्र विमलको कथा ‘रामेछापक श्रवण कुमार’ का मातापिताको सेवाभाव र सन्तानको कर्तव्य निर्वहनका अगाडि आफ्नै अस्तित्वलाई धूलीसात गर्ने श्रवण कुमार, श्यामसुन्दर शशिको ‘जनकाक विद्रोह’ कथाका जनकाले गाउँका युवाहरूलाई पहलवानीतर्फ डोर्‍याएर जमिनदार मुनी सिंहसँग सङ्घर्षका लागि लिएको सङ्कल्पले पनि मलाई प्रभावित गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved