एम्बुलेन्सबाट थुतेर असईको हत्या गर्ने १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

एम्बुलेन्सबाट थुतेर असईको हत्या गर्ने १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

जनकपुरधाम । मधेश आन्दोलनका क्रममा मृत्यु भएका असई थमन बहादुर विक हत्याकाण्डमा पक्राउ परेका १९ जनाको सम्पत्ति रोक्का गर्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ।

उक्त क्रममा प्रहरी सहायक निरीक्षक (असई) विक घाइते भएका थिए। उनलाई उपचारका लागि जनकपुरधाम लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीहरूले कुटपिट गरी हत्या गरेका थिए।

मधेश आन्दोलनको बेला २५ भदौ २०७२ मा महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत विकलाई एक्लै पाएर आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका-२ स्थित हाटबजारमा कुटपिट गरेका थिए।

आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई उद्धार गरी उपचारका लागि जनकपुरधाम लगिएको थियो। तर महोत्तरी गाउँपालिकाका सोनउखरा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले निर्घात कुटपिट गर्दा उनको ज्यान गएको थियो।

प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले प्रतिवादी कौशलकुमार यादव, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, अनिल ठाकुर र विकी साहको सम्पति रोक्का राख्न आदेश जारी भएको अदालतका स्रेस्तेदार मदन जयसवालले जनाए।

महोत्तरी जिल्ला अदालतको आदेशानुसार उल्लेखित प्रतिवादीको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको तर निज प्रतिवादी हालसम्म पक्राउ नपरेको र अदालतमा उपस्थितसमेत नभएको देखिएको हुँदा उनीहरूको अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का राख्न आदेश दिइएको हो ।

यसै घटनामा संलग्न रहेको ओरोपित मधेश प्रदेश (प्रदेश नं. २) का तत्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा २०७५ साउन २८ गते र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे २०७५ साउन २९ गते साधारण तारिखमा रिहा भएका थिए । उनीहरूमाथि पनि विक हत्या प्रकरणको मुद्दा चलिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved