नेपाली फुटबलमा नयाँ ‘पावर हाउस’ बन्दै मछिन्द्र क्लब

नेपाली घरेलु फुटबलमा केहि सिजन अघिसम्म मच्छिन्द्र क्लबलाई सायदै कसैले उपाधि दाबेदारका रूपमा हुने गर्थ्यो। तर अहिले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिको प्रमुख दाबेदारका रूपमा मच्छिन्द्र छ। नेपाली घरेलु फुटबलमा केहि सिजन अघिसम्म मच्छिन्द्र क्लबलाई सायदै कसैले उपाधि दाबेदारका रूपमा हुने गर्थ्यो। तर अहिले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिको प्रमुख दाबेदारका रूपमा मच्छिन्द्र छ।

नेपाली फुटबलमा नयाँ ‘पावर हाउस’ बन्दै मछिन्द्र क्लब

काठमाडौं। नेपाली घरेलु फुटबलमा केहि सिजन अघिसम्म मच्छिन्द्र क्लबलाई सायदै कसैले उपाधि दाबेदारका रूपमा हुने गर्थ्यो। तर अहिले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिको प्रमुख दाबेदारका रूपमा मच्छिन्द्र छ। अन्य ठूला मानिएका क्लबहरूले उसलाई पछ्याइरहेका छन्।

२०७६ को लिग अगाडिसम्म मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबाहेक अन्य कुनै क्लबलाई लिग च्याम्पियन मान्न फुटबलप्रेमी हिचकिचाउँथे। हुन पनि २०५२ सालयता भएका १२ ‘ए’ डिभिजन लिगमा यी तीनबाहेक अन्य एउटा पनि क्लबले लिग उपाधि उचाल्ने आँट नै गर्न सकेका थिएनन्।

नेपाली फुटबलमा यी तीन क्लबको एकछत्र राज चलिरहँदा २०७६ को लिग उपाधिको प्रतिस्पर्धामा मच्छिन्द्र क्लब ‘आउट अफ सिलेबस’ को रूपमा आइपुग्यो।

उक्त लिगको छैटौँ चरणको समाप्तिपछि मात्र लिगको पहिलो स्थानमा उक्लेको मछिन्द्रले यसपछि शीर्ष दुईभित्र रहेर नै लिगको अन्तिम खेलसम्म उपाधि दौडमा नेपाल आर्मी क्लबलाई टक्कर दिइरह्यो।

लिगको अन्तिम खेलमा आर्मीलाई नै १-० गोल अन्तरले पराजित गर्दै क्लब इतिहासमा नै पहिलो पटक लिगको उपाधि मात्र जितेन कि नेपाली घरेलु फुटबलमा नयाँ ‘पावर आउस’को रूपमा उदायो।

क्लबको यसअघिको सबैभन्दा राम्रो प्रदर्शन भनेको २०७० सालमा लिगको उपविजेता बन्नु थियो। यसपछि चार वर्ष लिग भएन। एकै पटक २०७५ मा भएको अर्को संस्करणको लिगमा भने खराब प्रदर्शन गरेको मच्छिन्द्र क्लब अन्तिम दुईमा पर्‍यो। तर धन्न त्यो वर्ष एन्फाले रेलिगेसनबिनाको लिग गरेकाले पुनः ‘बी’ डिभिजनमा झर्नबाट जोगिएको थियो।

यसरी भाग्यले बचेको मछिन्द्रले एकाएक अर्को वर्ष कसरी लिग च्याम्पियन बन्ने ल्याकत राख्यो त?

मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवाल भन्छन्,“बिना रेलिगेसनको लिगमा मछिन्द्रको एक अंक काटियो। यसपछि क्लबको म्यानेजर अनिल श्रेष्ठले बरु जेसुकै होस्, राम्रो खेलाडी अनुबन्ध गरेर लिग च्याम्पियन हुने लक्ष्य नै राखेर अघि बढ्ने प्रण गरे।”

यसपछि श्रेष्ठले २०७५ को लिग च्याम्पियन मनाङबाट खेलिरहेका ६-७ जना खेलाडीहरूलाई एकै पटक टिममा भित्र्याए। प्रवेश कटुवाल प्रशिक्षकको रूपमा टिममा अनुबन्धित भए। उनले पूर्वक्लब झापा-११ को टिमबाट पनि केही राम्रा खेलाडी मछिन्द्रमा ल्याए।

त्यो वर्ष मछिन्द्रमा नेपाली राष्ट्रिय टिमका अधिकांश खेलाडी थिए। क्लबले राम्रा खेलाडी टिममा भित्र्याउन राम्रो रकम खर्चेको थियो।

कटुवाल थप्छन्,“फुटबल भनेको राम्रो टिम वर्क हो। क्लब, खेलाडी र कोचको राम्रो कम्बिनेसन नै हाम्रो सफलताको आधार बन्यो। यो सबै लिग च्याम्पियन बन्ने योजनाको एउटा मूर्तरूप नै थियो। जुन खेलाडी टिममा ल्याइयो तिनीहरूसँग पहिले नै काम गरिसकेको थिए। एउटा राम्रो टिम बनाएर च्याम्पियन नै हुने भनेर लागको थियौ। त्यैअनुसार नै परिणाम प्राप्त भयो।”
लिगका १३ खेल खेल्दा एक खेल मात्र हारेको मछिन्द्रले अघिल्लो वर्षको अन्तिम दुई स्थानमा रहेकोले एक अंक पनि काटेर पनि लिग जित्न सफल भयो।

तर, एएफसीको क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले २०७६ को लिग च्याम्पियनको रूपमा छनोट भएर पनि एएफसी कप खेल्न पाएन। उसको ठाउँमा लिगको उपविजेता नेपाल आर्मी क्लबले एएफसी कप खेल्न पायो।

हातमा आइसकेको प्रतियोगिता फुत्कँदाको चोट त्यो बेला क्लबका खेलाडी प्रशिक्षक र समर्थक सबैमा थियो। तर अहिले अवस्था फरक छ। मछिन्द्रले एएफसीको क्लब लाइसेन्स पनि पायो।
जारी लिगका सातौँ चरणको समाप्तिसम्ममा अग्रस्थानमा रहने टिमले यो पटकको एएफसी कप खेल्न पाउँथ्यो। जसका लागि मनाङले दिएको प्रतिस्पर्धालाई पन्छाउँदै लिगको सातौँ चरणको समाप्तिसम्ममा लिगमा एक अंकको अग्रताका साथ मच्छिन्द्र यो पटक भने एएफसी कपको लागि छनोट भयो।

छनोटपछि मछिन्द्रका कप्तान सुजल श्रेष्ठले भने, “पहिला आर्मीले एएफसी कप खेलेको देख्दा निकै दुःख लागेको थियो। हामीले लिग जितेर पनि एएफसी लाइसेन्स नभएको कारणले खेल्न पाएनौं। तर यसपालि खेल्ने मौका पाएका छौ, निकै खुशी छौं।”

गत वर्ष एएफसी कप खेल्ने नपाएको पिडाका कारण यो पटक टाइटल डिफेण्ड गर्ने र एएफसी कप खेल्ने योजना अनुसार नै मछिन्द्रले टिमको तयारी गरेको थियो। जसअनुसार क्लब सफल पनि भयो।
“एएफसी कपमा नेपालबाट पहिला पनि अन्य क्लबले खेलिसकेका छन्। तर यो पटक हामी त्यो भन्दा पनि माथिल्लो लेभलमा पुग्ने लक्ष्य छ। एएफसी कपमा हाल हामीले सुरुमा खेल्ने छनोट चरण हो। नेपालको लिगको र्‍याङकिङ कमजोर रहेकोले एएफसीले छनोट चरणमा पारेको छ। छनोट चरण पार गर्न सकेमा बलिया टिमसँग प्रतिस्पर्धा हुनेछ। जस्तै भारतको आईएसअल खेल्ने क्लबहरू।” कटुवालले नेपालभ्युजलाई बताए।

उनका अनुसार मछिन्द्रसँग यो वर्ष पनि लगभग गत संस्करणको लिग विजेता टिमको नै खेलाडी छन्। जसमा केहि नयाँ युवा खेलाडी पनि थपिएका छन्। उनी भन्छन्, “लिगको सुरुआतमा पनि हाम्रो योजना लिग डिफेण्ड गर्ने नै थियो। अहिले लिगमा मनाङ भन्दा १ र अन्य क्लब भन्दा ६ अंकको। यो नै हाम्रो फाइदा हो उपाधि रक्षाको लागि। लिगको शुरुआतमा गरेको योजनाअनुसार नै सफल भइरहेकोले प्लान ‘बी’मा जानुपर्ने आवश्यकता भएको छैन।”

सन् १९७३ मा स्थापना भएको यो क्लब २०६२ सालमा पहिलो पटक ‘बी’ डिभिजन लिगमा च्याम्पियन बनेर ‘ए’ डिभिजनमा उक्लेको थियो। १५ वर्षपछि मछिन्द्रले ए डिभिजन लिग उपाधि जित्यो। अब एएफसी कप खेल्न अन्य केही खेलाडी र सकेसम्म विदेशी खेलाडी पनि थपेर टिमलाई अझ बलियो बनाउने क्लबको योजना छ।

जारी लिगका पनि आठ खेलसम्म अपराजित मच्छिन्द्र लिगको पहिलो स्थानमा छ भने उपाधिको प्रबल दाबेदारको रूपमा उ नै अगाडि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved