प्रधानमन्त्री कप क्रिकेटः पुलिसको लगातार दोस्रो जित, आर्मी पराजित

१३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पुलिसले अन्तिम दुई ओभर खेल्नु अगाडि ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो।

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटः पुलिसको लगातार दोस्रो जित, आर्मी पराजित

काठमाडौं। नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गरेको छ।

करण केसीको उत्कृष्ट बलिङको मद्दतमा पुलिस क्लबले लगातार दोस्रो जित हात पार्‍यो।

सोमबार त्रिवि खेल मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी अन्तिम एक बल खेल्नु अगाडि १३७ रनमा अल आउट भएको थियो।

आर्मीलाई सस्तैमा समेट्न करण केसीले चार ओभरमा मात्र १७ रन दिएर चार विकेट लिएका थिए। दुई क्याच पनि लिएका उनी प्लेयर अफ दी म्याच घोषित भए।

आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४४ रन र ओपनर सोमपाल कामीले ४२ रनको योगदान दिएका थिए।

१३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पुलिसले अन्तिम दुई ओभर खेल्नु अगाडि ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३५ रन जोडेका थिए। त्यस्तै राशिद खानले २८ रनको योगदान दिएका थिए।

त्यसैगरी, अर्को खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले पराजित गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै १२० रन जोडेको थियो।

कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३६ रन जोडेका थिए। जवाफमा १२१ रनको सहज लक्ष्य पछ्याएको प्रदेश १ को इनिङलाई कर्णालीका बलर अनुज चुनाराले ध्वस्त पारे।

उनले ३.५ ओभरमा मात्र १६ रन खर्चेर चार विकेट लिएपछि प्रदेश १ १८ औं ओभरमा मात्र ८९ रनमा अलआउट भयो।

समूहचरणको दोस्रो खेलमा कर्णालीको यो पहिलो जित हो भने प्रदेश १ को लगातार दोस्रो हार हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved