फेरि उकालो लाग्यो कोरोना ग्राफ, कस्तो छ सरकारको तयारी ?

ओमिक्रोन समुदायस्तरमा फैलिसकेको कुरामा दुईमत रहेन। तर यसले डेल्टा जति जटिल समस्या नल्याउने भएकाले कतिपय संक्रमित व्यक्ति घरमै बसेर पनि बिना चेकजाँच निको भइसकेक हुनसक्छन् : डा शेरबहादुर पुन

फेरि उकालो लाग्यो कोरोना ग्राफ, कस्तो छ सरकारको तयारी ?

काठमाडौं। नेपालमा केही समय कम देखिएको कोरोनाको संक्रमणदर फेरि उकालोलाग्दो छ। १९ पुसमा २ दशमलव ६ प्रतिशतमा झरेको संक्रमणदर अहिले ह्वात्तै बढेर ९ दशमलव १० प्रतिशतमा पुगेको छ।
दशैं–तिहारअघि ५ प्रतिशतमा रहेको संक्रमण दर तिहारपछिको चहलपहलले ८ मा पुग्यो। त्यसयता विगत डेढ महिनासम्म दैनिक ३ सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको थियो। गत शुक्रबारदेखि यो संख्या झन्डै दोब्बर पुगेको छ।

गत शुक्रबार २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। त्यससँगै विज्ञहरूले नेपालमा अब छिट्टै कोभिडको तेस्रो लहर आउँने प्रक्षेपण गरेका छन्। डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनलाई निकै संक्रामक मानिएको छ। तर, यसले ल्याउने जटिल समस्या र मृत्युदरको जोखिम कम रहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए ।

उनका अनुसार कोभिडविरुद्धको खोप लगाएका मानिस खोप नलगाएका मानिसको तुलनामा कम जोखिममा हुन्छन्। त्यसकारण, सकेसम्म छिटो सबैलाई खोपको दायरामा ल्याउन निकै आवश्यक छ।
नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ७५ दशमलव ६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ५६ प्रतिशतले मात्र पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिजुलीको गतिमा ओमिक्रोन फैलिदै

भारतमा भएको अध्ययनअनुसार दोस्रो लहरमा कोरोनाको आर भ्यालु १ दशमलव ६९ प्रतिशत थियो। अहिले भार भ्यालु २ दशमलव ९ प्रतिशत छ। आर भ्यालुमार्फत कोरोना फैलने रफ्तार अनुमान गरिन्छ। यदी १ सय व्यक्ति संक्रमित छन् र उनीहरूले थप एक सयलाई संक्रमित बनाउँछन् भने आर भ्यालु १ मानिन्छ। अर्थात्, तेस्रो लहरमा संक्रमण धेरै फलने देखिएको छ। र, यसको कारण ओमिक्रोनलाई लिइएको छ।

डा.पुनका अनुसार ओमिक्रोन बिजुलीको गतिमा फैलिरहेको छ, जुन हामीले पत्तो समेत लगाउन सक्दैनौं। “२३ गते मन्त्रालयले २४ जनामा ओमिक्रोन देखियो भनेर सूचना निकाल्यो यसलाई आधार मानेर हेर्ने हो भने ओमिक्रोन समुदायस्तरसम्म बिजुलीको गतिमा फैलिरहेको छ,” उनले भने, “ओमिक्रोन समुदायस्तरमा फैलिसकेको कुरामा दुईमत रहेन। तर यसले डेल्टा जति जटिल समस्या नल्याउने भएकाले कतिपय संक्रमित व्यक्ति घरमै बसेर पनि बिना चेकजाँच निको भइसकेको हुनसक्छन्।” संक्रमण फैलिएपनि अस्पतालमा चाप नबढेकाले अहिल्यै आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।

लकडाउनको अवस्था आउन दिनुहुन्न

बालबालिकालाई जोगानका लागि उनीहरूलाई छिटोभन्दा छिटो खोप लगाउनुपर्ने डा पुनले बताए। उनले लकडाउनको अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने बताए। ‘‘युरोपका कयौं देशमा दुई लाखको हाराहारीमा संक्रमित थपिँदा अस्पताल भर्ना हुने दर निकै कम देखियो। त्यसकारण पनि कडा लकडाउन गरेको देखिएन, नेपाल हामीले त्यस्तो अवस्था आउन दिनुहुन्न। लकडाउन गर्नुपर्ने अवस्था सायद नआउला,’’ उनले भने।

छिमेकी मुलुक भारत र नेपाली जनस्तरमा बाक्लो आवतजावत भएकाले त्यहाँ फैलिरहेको संक्रमण छिटो नै नेपाल आउने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए। यसअघि पहिलो र दोस्रो लहर पनि भारतबाटै नेपाल आएको थियो।

सरकारले विगतको अवस्था निम्तन नदिनका लागि पूर्वतयारी गरिरहेको अधिकारीले बताए। भारतसँगको नाकाहरूमा कडाई गर्दै कोभिड परीक्षण र सिक्वेन्सिङ बढाएको उनले बताए। ‘‘नेपालमा पछिललो समय बढिरहेको संक्रमण रोकथाम गर्नका लागि तिव्रगतिमा काम गरिरहेको छ, जनस्वास्थ्यका मापदण्डहरुलाई पूर्णरुपमा पालन गर्नका लागि आग्रह गरिरहेका छौं।साथै खोप अभियानलाई पनि तिव्रगतिमा अगाडि बढाउँदै छौं,” उनले भने।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा रहेको कन्ट्रोल रुमले केन्द्रका १३ र सातै प्रदेशका कोभिड अस्पतालसँग समन्वय गरेर संक्रमितको उपचार व्यवस्थापन गरिरहेको उनले बताए। अक्सिजन व्यवस्थापन गर्ने, आइसीयू, भेन्टिलेटरहरु सञ्चालन गर्नेलगायत पूर्वाधारका विषयमा चुस्तदुरुस्त रुपमा काम गरिरहेको उनले बताए।

“अस्पताल व्यवस्थापनबाट त्यति धेरै प्रतिफल आउदैंन। अस्पताल पुग्नुपर्ने विषय आफैंमा जोखिमपूर्ण र खर्चिलो हो। त्यसैले यसपटक मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना र खोपलाई बढी प्रथामिकतामा राखेको छ,” उनले भने,“ तर अस्पताललाई पनि तयारी अवस्थामा राखेका छौं, दोस्रो लहरमै धेरै एचडियू,भेन्टिलेटर, आइसीयू र निकै ठुलो मात्रामा अक्सिजन प्लान्ट जडान थप भएका छन्।”

नाकाहरूमा परीक्षण दर र होल्डिङ सेन्टरहरूको दायरा फराकिलो बनाउने तयारी चलिरहेको उनले बताए। ‘‘तर, सरकारले मात्र संक्रमणसँग जुध्नका लागि तयारी गरेर हुँदैन। जनताले पनि स्वास्थ्यका मापदण्डहरु पालन गर्नुपर्छ, सचेत रहनुपर्छ,’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved