केपी ओलीबारे माधव नेपालले भने, ‘बिचराको त्यो हालत…’

अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझावसमेत दिए।

नेपालभ्युज

केपी ओलीबारे माधव नेपालले भने, ‘बिचराको त्यो हालत…’
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझावसमेत दिए। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोपसमेत लगाए।

अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउँकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणीसमेत गरे। ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको दाबी थियो ।

अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे। उनले पार्टी भित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताए। उनले पार्टी नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटकपटक सचेत गराए।

माधव नेपालले ओलीबारे गरेको टिप्पणी
अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन् केपी ओलीका लागि । विदेशीहरु प्यारा छन् उनका लागि । तर, आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन्, जसले उसलाई पूज्दैनन्, जसले उनको भजन गाउँदैनन्। विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ । तर बालुवाटारबाट बिदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर, केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ ।

बिचराको त्यो हालत । बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । मभन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो । सुन्नुस्, कस्तो हुन्छ ती विशेषता–जो आफूलाई ज्यादै स्मार्ट सम्झिन्छ, त्यसको अर्को विशेषता–आफै जान्ने, अरु कोही नजान्ने भनेर अरुको कुरा सुन्दै नसुन्ने प्रवृत्ति हुन्छ । तेस्रो, उसले सबैको अनादर गर्छ । आफ्नो मात्रै आदरको चाहना राख्छ । त्यो नेतामा सिक्ने प्रवृत्ति हुँदैन । उसले जे बोल्छ, अमर्यादित कुरा मात्रै बोल्छ । कहिल्यै गल्ती स्वीकार गर्दैन । कहिल्यै क्षमायाचना गर्दैन । सबैलाई हेप्ने प्रवृत्ति उसमा रहेको हुन्छ । आफूले गज्जब काम गरे भनेर गुड्डी हाँकेर हिँडछ । आफ्नै प्रशंशामा मग्न हुन्छ । अनि पीडाको भावनाले ग्रसित हुन्छ । यो कसमा छ ? जाँच्ने काम तपाईँको ।

हामी त्यो प्रवृत्ति भोग्दाभोग्दा वाक्क, दिक्क भएर आयौँ । हामी पहिले खुशी भएका थियौँ । दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए । किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौँ । मै हुँ त्यो महत्वपूर्ण भूमिका खेल्ने मान्छे । लखनउदेखि लिएर सिलिगुढीसम्म पुग्ने मान्छे । रोल्पा पुर्‍याउने कुराकानी गर्नका लागि, गिरिजाप्रसाद कोइरालालाई दिल्लीसँगै लिएर गएर वार्ता र सहमति गराउने मान्छे । तत्कालीन राजा ज्ञानेन्द्रलाई युद्धलाई अन्त्य गरौं भन्दा सुनेको नसुनै गरे । त्यसपछि आफै हामीले पहल गर्‍यौं ।

यस्तो अवस्थामा एउटा ठूलो राम्रो अवस्था आयो भनेर खुशी भएको । झण्डै दुईतिहाइको अवस्था भएको देखिएको । हामी प्रफुल्ल भयौँ तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यही प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नुभयो । बैठक नै नगर्ने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved