भुवा पर्व : सुदूरपश्चिमको मौलिक संस्कृति

तरबार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गाएर खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ।

भुवा पर्व : सुदूरपश्चिमको मौलिक संस्कृति

धनगढी। सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट साँस्कृतिक पर्व ‘भुवा’ शुरु भएको छ। महाभारतको कथा (पाण्डव र कौरबको युद्ध) गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ भन्ने गर्छन्।

मौलिक लय र भाकामा खेलिने भुवाको आफ्नै महत्व छ। दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। खासमा, त्यो भुवा पर्वको उल्लास हो।

सुर्मादेवी बझाङी सेवा समाजका अध्यक्ष दिलबहादुर खाती भन्छन्, ‘भुवा प्राचीन संस्कृति हो। प्राचीन युद्धको भाका हो, कौशलताको प्रदर्शनी हो। जसको आफ्नै मौलिक विशेषता छ। यो हाम्रो पहिचान हो।’

भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ। जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ।

महाभारतमा पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ। सोही लडाइँ पाण्डवहरूले जितेको खुसियालीमा यो पर्व मनाउन थालिएको हो।

समाजका कोषाध्यक्ष हृदय पुजाराले भने, ‘यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ।’ उनले पर्वको मुख्य आकर्षण नै ‘भुवा नाच’ रहेको र यसको शुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको बताए।

उनका अनुसार पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ। स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाएर खाइन्छ। सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ। ढाल कालोले रङ पोतिन्छ,तरबारलाई धारिलो र चम्किलो बनाइन्छ।

द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ। भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ। भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो च्यादरजस्तो पहिरनुपर्छ। टाउकोमा पघरी बाँध्नुपर्छ।

दिउँसोको समयमा भुवाखाडोमा गएपछि त्यसको रौनक शुरु हुन्छ। बाजा–गाजा, लस्कर हुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल–तरबार बाजागाजा भुवाको लयमा चम्कन सुरु हुन्छ।

बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशन अनुसार सुस्त गतिबाट भुवा खेल्ने गरिन्छ। खेलमा २० वटाभन्दा बढी चाल वा लय र ६३ कवच हुन्छन्।

यो पर्वमा छरछिमेकहरूले आ–आफनो घरमा मिष्ठान्न परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन्। दसैंपछिको ठूलो पर्वका रूपमा लिइने यस पर्वले वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउने जनविश्वास छ।

हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा सम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ।

प्राचीन युद्ध कलालाई राजा रजौटाहरूले अनुशरण गर्दै आएको र हालसम्म चल्दै आएको बताइन्छ। राजा–रजौटाहरूले आफ्ना– भाइ भारदार लगायत प्रजाहरूलाई आत्मरक्षाका लागि खेतीपातीको काम सकिएपछि फुर्सदको समयमा ढाल तरबारसँग खेल्न सिकाएको जनविश्वास छ।

यस वर्ष पनि सुर्मादेवी बझाङी सेवा समाज, बाजुरेली सेवा समाज लगायत मानिसहरुले धनगढीको खुला मञ्चमा ‘भुवा’ पर्वलाई मुडा बालेर मनाएका छन्।

आफ्नो कला संस्कृतिलाई जर्गेन गर्नकै लागि धनगढी खुला मञ्चमा मुडा बालेर भुवा पर्व मनाइएको हो। बझाङ बाजुरा घर भई हाल धनगढी बसोबास गर्दै आएकाहरूले हरेक वर्ष ‘भुवा’ पर्व धुमधामका साथ मनाउँदै आइरहेका थिए।

लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने ‘भुवा’ पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ। पञ्चेबाजाका साथ खेलिने ‘भुवा’ पर्व बाजुरा लगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा पनि मनाउने प्रचलन छ।

मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले हामीले आफ्नो मौलिक संस्कृतिलाई भुल्न नहुने बताएका छन्। बाजुरेली सेवा समाज धनगढीले आयोजना गरेको भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

“हामीले जतिसुकै विकासको क्रममा अगाडी बढेपनि हामीले हाम्रो संस्कृतिलाई भुल्नु हुँदैन, उनले भने, कुनै पनि देश समाज र कुनै पनि मानव समाजका निम्ति संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ। हामीले संस्कृतिलाई बचाई राख्ने हो भने आफ्नोपन पहिचान रहिरहने छ ।”

प्रदेश सरकारले सुदूरपश्चिमका तीन जिल्ला बाजुरा, अछाम, बझाङमा आज आइतबार सार्वजनिक बिदा समेत दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved