सुदूरपश्चिमको बजेट : पार्टी कार्यालय खोल्न झण्डै चार करोड विनियोजन

मन्दिर र चर्चमा पाँच करोड

शिक्षा र स्वास्थ्यमा बजेट कटौती गरेर पार्टी कार्यालय खोल्न तीन करोड ७० लाख विनियोजन गरिएको छ।

सुदूरपश्चिमको बजेट : पार्टी कार्यालय खोल्न झण्डै चार करोड विनियोजन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले पार्टी कार्यालय खोल्न झण्डै चार करोड बजेट विनियोजन गरेको छ।

प्रदेश अर्थ मन्त्रालयले शिक्षा, स्वास्थ्यमा बजेट कटौती गरेर मठ मन्दिर, चर्च र पार्टी कार्यालय स्थापनालाई प्राथमिकतामा राखेको छ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा समाजवादीको पार्टी कार्यालय स्थापना गर्न तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। पुष्पलाल र मदन–आश्रित स्मृति भवन निर्माण शीर्षकमा पार्टी कार्यालयको लागि बजेट विनियोजन गरिएको हो।

जसमध्ये तीन करोड ३५ लाख रुपैयाँ पुष्पलाल स्मृति भवनका लागि र ३५ लाख रुपैयाँ मदन–आश्रित स्मृति भवन निर्माणका लागि विनियोजन गरिएको छ।

प्रदेश सरकारले पुष्पलाल स्मृति भवन निर्माणका लागि कैलालीको गौरीगङ्गामा ६० लाख, धनगढीमा ६० लाख, कञ्चनपुरमा ५० लाख, डोटीको सिलगढीमा १५ लाख, पूर्वी चौकीमा २० लाख, बाजुरामा १० लाख, बडिमालिकामा २० लाख, बैतडी र बझाङमा ३०/३० लाख विनियोजन गरेको छ।

मदन–आश्रित स्मृति भवन निर्माणका लागि डडेल्धुरामा १० र अछाममा २५ लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ।

यस्तै प्रदेश सरकारले बजेटमा मार्क्सवादी अध्ययन फाउण्डेसन डोटीलाई ५० लाख रुपैयाँ विनियोजन गरेको छ। मार्क्सवादी अध्ययन फाउण्डेसनको ई–लाइब्रेरी र पुस्तकालय निर्माण व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको हो।

सामाजिक विकास मन्त्रालयले कञ्चनपुरमा मात्र मन्दिर, गुम्बा र चर्चका लागि पाँच करोड ६१ लाख विनियोजन गरेको छ।

अस्पतालको बजेट भने काटिएको छ। यस वर्षको बजेटमा सुदूरपश्चिममा सम्पूर्ण सेवा नि:शुल्क दिँदै आएको प्रदेशकै नमूना अस्पतालका रुपमा चिनिने अछामस्थित बयलपाटा अस्पतालका लागि पाँच करोड विनियोजन गरेको छ। गतवर्ष ८ करोड रुपैयाँ विनियोजन गरेको थियो।अस्पतालले यो वर्ष १० करोड रुपैयाँ माग गरेको थियो।

यस्तै भीमदत्त नगरपालिकाकाभित्रका ४९ ओटा मन्दिरका लागि पाँच करोड एक लाख रुपैयाँ विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले पुनर्वास नगरपालिकाका ९ ओटा चर्चमा ५० लाख र एउटा गुम्बामा १० लाख रुपैयाँ विनियोजन गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारमा सबैभन्दा ठूलो पार्टी नेकपा एकीकृत समाजवादी छ। मुख्यमन्त्री माओवादीबाट भएता पनि प्रदेश सरकारमा हर्ताकर्ता नेकपा एस नै बनेको छ। उसले आफ्नो पार्टी अनुकूल बजेट विनियोजन गरेको आरोप लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved