सुदूरपश्चिम प्रदेश

अनिश्चितकालसम्म सभा स्थगित गरेर सत्ता लुछाचुँडीको खेल

भट्टलाई हटाएर प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा (एस)ले सत्ता हत्याउने प्रयास गरिरहेको छ। आफू मुख्यमन्त्री बन्न हालका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी जोडतोडका साथ लागेका छन्।

अनिश्चितकालसम्म सभा स्थगित गरेर सत्ता लुछाचुँडीको खेल

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल अझै प्रारम्भ हुन नसकेपछि बैठक स्थगित गरिएको हो।

सरकारले ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले विरोध र आक्रोश व्यक्त गरिरहेका छन्। कार्य व्यवस्था परामर्श समितिको बैठकमा पक्षकै सांसदहरू चर्को विरोधमा उत्रिएको र सभामा छलफलको वातावरण नबनेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा सहभागी अधिकांश प्रदेश सांसदहरूले बजेट यथास्थितिमा पारित गर्न नसकिने बताएपछि स्थगित गरिएका हो। बैठकमा सहभागीहरूले सरकारले वार्ता गरेर बजेट संशोधन नगर्दासम्म छलफल गर्न नसकिने बताएका थिए।

समितिको बैठकमा कांग्रेसका सासंद भरत खड्का, नेकपा एसकी प्रमुख सचेतक दुर्गा विक, माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावललगायत सासंदले बजेटको चर्को विरोध गरेका थिए।

प्रदेश सभा स्थगित गरेर सत्ता परिवर्तनको खेल

यता सभा स्थगित गरेर सत्ता परिवर्तनको खेल शुरु भएको छ। केन्द्रमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सरकार फेरबदल हुने खेल शुरु भएको हो।

प्रदेश सभामा अहिले माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। भट्टलाई हटाएर प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा (एस)ले सत्ता हत्याउने प्रयास गरिरहेको छ। आफू मुख्यमन्त्री बन्न हालका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी जोडतोडका साथ लागेका छन्।

सुदूरपश्चिममा नेकपा (एस), माओवादी, कांग्रेस र जनता समाजवादी पार्टीको संयुक्त सरकार छ। जसमा आफु ठूलो दल भएको भन्दै नेकपा एसले मुख्यमन्त्री दाबी गरिरहेको छ।

अंकगणितीय अभ्यासअनुसार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गठबन्धनमा सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सम्भावना छ। उनी निकटका नेता भन्छन्, “हामी अभ्यासमै छौं, गठबन्धनबाट साथ पाए मुख्यमन्त्री पाउने सम्भावना छ।”

यसअघि कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्न खोजेको भए पनि अब नेकपा (एस)बाट मुख्यमन्त्री बन्न सक्ने उनी बताउँछन्।

सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य छन्। माओवादीबाट एमालेमा प्रवेश गरेर झपट बोहरा पदमुक्त भएपछि हाल ५२ जना छन्। हाल माओवादीमा १३, कांग्रेसमा १२, एकीकृत समाजवादीमा १४, एमालेमा ११, जसपामा एक र लोसपामा १ सांसद छन्।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved