एमालेको कार्यकालमा भर्ना गरिएका कर्मचारीको हाजिरी रोके मेयरले

एमालेको कार्यकालमा भर्ना गरिएका कर्मचारीको हाजिरी रोके मेयरले

धनगढी। कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ। असार ८ गते प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले सूचना जारी गर्दै १ साउनदेखि हाजिर गर्न रोक लगाएका हुन्।

म्याद थप पत्र प्राप्त नभएको भन्दै कार्यालय प्रमुख आचार्यले सबै शाखा उप शाखा, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, वडा कार्यालय लगाएत सबै ठाउँमा काम गर्ने करार कर्मचारीलाई हाजिर गर्न रोक लगाएका हुन्।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत आचार्यले पत्रकारलाई केही भन्न नमिल्ने बताए। उनले भने, “कार्यालयको निर्णयबाहिर बोल्न मिल्दैन, कार्य सम्पादनमा परेको असरको जिम्मेवारी सबै म लिन्छु।”

नगर प्रमुख खडक बहादुर रावतले भने अस्थायी, करार तथा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हाजिर रोक्न आफैले लगाएको बताए। उनले कर्मचारीहरुको पहिचान गर्न हाजिर गर्न रोक लगाएको बताए।

नगर प्रमुख रावतले भने, “विगतका साथीहरुले नगरपालिकालाई भर्तीकेन्द्र बनाए, कति कर्मचारी भर्ना गरेका छन् यकिन तथ्यांकसमेत हामीसँग छैन, आवश्यकताका आधारमा राखिएको हो या पहुचँका आधारमा, त्यही पहिचान गर्न मैले नै हाजिरी रोक्न लगाएको हुँ।”

कर्मचारीहरुको आवश्यकता र कार्य मूल्यांकन गरिने र त्यसैका आधारमा कर्मचारीहरुको करार अवधि थप गरिने उनले बताए।

नगर प्रमुख रावत नेकपा एसबाट निर्वाचित मेयर हुन्। योभन्दा पहिला नेकपा एमालेका ममता प्रसाद चौधरी नगर प्रमुख थिए।

यस विषयमा पूर्वनगरप्रमुख चौधरीले कर्मचारीहरु आवश्यकताकै आधारमा राखिएको र कार्यकर्ता भर्ना नगरिएको बताए। उनले भने, “अहिलेका मेयरलाई आफ्ना कार्यकर्ता भर्ना गर्नुपर्ने भएको होला, निहुँ खोज्न त्यस्तो कार्य गरिएको हो अरु केही होइन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved