बाजा बजाउँदै सजिलै चीनको पुनरुत्थान साकार हुँदैन : राष्ट्रपति सी

आफ्ना हरेक सम्बोधनमा अमेरिकालाई लक्ष्य गरी कडा शब्द प्रहार गर्ने कुरामा सधैँ अगाडि रहेका सीले यसपटकको सन्देशमा अमेरिकाको प्रसङ्ग उल्लेख गरेका छैनन् र कतै पनि अमेरिकालाई कटाक्ष पनि गरेका छैनन्।

बाजा बजाउँदै सजिलै चीनको पुनरुत्थान साकार हुँदैन : राष्ट्रपति सी

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्पन्न समाज निर्माणलाई चौतर्फी रुपमा पूरा गरेको यसले विश्वका लागि पनि योगदान दिएको बताएको बताएका छन्। २०२२ को पहिलो दिनको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।

सम्पूर्ण चिनियाँ सञ्चार माध्यम तथा इन्टरनेटमार्फत दिइएको सन्देशमा उनले सन् २०२१ को समीक्षा गर्दै नयाँ वर्षमा गर्नुपर्ने कार्यभारको व्याख्या पनि गरेका छन्। चिनियाँ राष्ट्रपति सीले हरेक वर्षको डिसेम्बर ३१ तारिख साँझ शुभकामना दिने गरेका छन्। उनको यसपटकको शुभकामना सन्देश अघिल्ला वर्षको भन्दा नरम र सद्भावपूर्ण देखिन्छ।

आफ्ना हरेक सम्बोधनमा अमेरिकालाई लक्ष्य गरी कडा शब्द प्रहार गर्ने कुरामा सधैँ अगाडि रहेका सीले यसपटकको सन्देशमा अमेरिकाको प्रसङ्ग उल्लेख गरेका छैनन् र कतै पनि अमेरिकालाई कटाक्ष पनि गरेका छैनन्।

शुभकामना सन्देशका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी र चीनका लागि सन् २०२१ कोशे ढुङ्गा भएको उल्लेख गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको उत्सव सँगै चीनले सम्पूर्ण रुपमा गरिबी निवारण गरेको कुरालाई उनले कोशेढुङ्गा भनेर उल्लेख गरेका हुन्।
पछिल्लो समय चीनले ‘दुई वटा सय वर्ष’ लक्ष्य अगाडि सारेको छ। जसमध्ये चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष हो। यो गत जुलाई १ तारिख सम्पन्न भइसकेको छ। त्यसैगरी अर्को सय वर्ष भनेको नयाँ चीन स्थापनाको शतवार्षिकोत्सव हो। यो सन् २०४९ मा पूरा हुनेछ।

आगामी सन् २०४९ सम्ममा चीन समृद्ध, प्रजातान्त्रिक, सभ्य र मेलमिलापयुक्त समाजवादी आधुनिक मुलुकमा स्थापित हुने उद्घोष राष्ट्रपति सीले गरेका छन्।

सन् २०२१ भरमा चीनको अन्नबाली, उद्योग, आवास, अस्पताल, सैन्य क्याम्प, वैज्ञानिक अनुसन्धान सबै क्षेत्रमा अभूतपूर्व सफलता प्राप्त गरेको औँल्याउँदै तीव्र गतिमा बगेको समयमा एउटा दृढ र समृद्ध चीनलाई संसारमा उभ्याउन सकेको भन्दै सीले गौरव व्यक्त गरेका छन्।
गत जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको वार्षिकोत्सव मनाउन क्रममा बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमनको बरन्डामा उभिँदाको क्षणलाई पनि सीले शुभकामना सन्देशमा व्यक्त गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा करोडौँ जनताले दृढताका साथ विविध किसिमको कठिनाइ पार्दै स्थापना कालेदेखिको मायालाई कायम राख्दै एक सय वर्षको इतिहास सिर्जना गरेको भनेर यसलाई महान् उपलब्धिका रुपमा उनले उल्लेख गरेका छन्।

इतिहासलाई सम्झँदै चीनको मुक्ति युद्धताकाको समय पनि उनले आफ्नो सन्देशमा समेटेका छन्। चीनको पल्लो शान्षी प्रान्तको यानआनको गुफाघरमा सीपीसीको हेडक्वाटर रहेको बेला माओ र ह्वान यानफैबीच भएको गहन छलफलको चर्चा राष्ट्रपति सीले गरेका छन्। त्यतिबेला चिनियाँ क्रान्तिलाई कसरी अगाडि भन्ने बारेमा गम्भीर बहस भएको थियो।

शुभकामना सन्देशमा बोलीचालीको प्रसङ्गमा निकै सहज ढङ्गले सीले भनेका छन् ‘चिनियाँ राष्ट्रको महान् पुनरुत्थान बाजा बजाउँदै सजिलैसँग साकार हुने लक्ष्य होइन र छोटो समयमा सरल रुपमा पूरा गर्ने लक्ष्य पनि होइन।’ दीर्घकालीन ख्याल विचारका साथ रणनीतिक निश्चितता र धैर्य कायम राखेर व्यापक तथा विस्तृत दुवै आयाममा ध्यान दिएर काम गर्नुपर्ने कुरामा उनले जोड दिएका छन्।

चीन सबैभन्दा ठुलो विकासोन्मुख मुलुक हो। विश्वको दोस्रो ठुलो अर्थतन्त्रका रुपमा रहेको चीनले आफ्नो मात्र नभएर विश्वकै लागि जिम्मेवारी वोध गरेको कुरालाई सी चिनफिङले शुभकामना सन्देशमा व्यक्त गरेका छन्। ठुलो मुलुकमा प्रशस्त काम र जिम्मेवारी रहेको भन्दै यस्ता जिम्मेवारी हजारौँ परिवारसँग सम्बन्धित हुने गरेको उनले बताएका छन्।

चीनका विभिन्न दुर्गम क्षेत्रको जाँदा जनताले भनेका र सुझाव दिएका कुरालाई आफूले सधैँ मनमा राख्ने गरेको उनले बताएका छन्। सीले सधैँ जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरालाई मूल मन्त्रका रुपमा उठाउँदै आएका छन्। उनले यो कुरा नेपाल भ्रमणका क्रममा सम्बोधन गर्दा पनि व्यक्त गरेका थिए।

आफू पनि गाउँबाट आएको हुँ र गरिबीको अनुभव सँगालेको बताउँदै चीनमा पुस्तौँ पुस्ताको अथक प्रयास गरेपछि गरिबी निवारण भएको बताएका छन्। उनले भनेका छन् ‘आज आएर सबै भोका चिनियाँले पेट भर्न पाएका छन् र न्यानो लुगा लगाउन पाएका छन्। सबैले स्कुल जान पाएका छन् र सबैसँग बस्ने घर पनि छ। चिकित्सा बिमाले सबैलाई समेटेकाले स्वास्थ्य सेवाबाट कोही पनि विमुख हुन परेको छैन।’

सम्पन्न समाज निर्माणलाई चौतर्फी रुपमा पूरा गरेको र चिनियाँ जनतालाई गरिबीबाट मुक्त गराएको सीपीसीले चिनियाँ जनतासँग गरेको प्रतिबद्धता हो भन्दै यसले विश्वका लागि पनि योगदान दिएको सीले औँल्याएका छन्।

नयाँ वर्षको शुभकामना सन्देशमा जलवायु परिवर्तन र पर्यावरण संरक्षणका कुरालाई पनि सीले निकै महत्त्वका साथ उठाएका छन्। उनले पहेँलो नदीलाई शान्त बनाउने चिनियाँ जनताको दीर्घकालीन प्रतीक्षा रहेको बताएका छन्। निलो छिङहाई ताल र ब्रह्मपुत्र नदी तथा दक्षिणको पानीलाई उत्तरतर्फ पठाउने परियोजनासँगै चीनले पछिल्लो समय अगाडि सारेको ‘साइ हान पा’वस्पति पार्कको हरित नक्साको उल्लेख गरेका छन्।

युन्नानका हात्तीको यात्रा र तिब्बती मृगको बसाइ सराइको उल्लेख गरेर जलवायु परिवर्तनमा गम्भीर हुनुपर्ने कुरामा उनले जोड दिएका छन्। मानवले हरियो पहाडको बेवास्ता गर्ने हो भने हरियो पहाडले पनि मानवलाई बेवास्ता गर्ने कुरा प्रतिविम्ब भएको बताएका छन्।
शुभकामनाका क्रममा चीनले अन्तरिक्षमा पाएको सफलतासँगै चीनमा भएका प्राकृतिक प्रकोपको समयमा भएका कार्यको प्रशंसा गरेका छन्। यसैगरी हङकङ र मकाउको समृद्धि र स्थिरता मातृभूमिको मुटुको नजिक रहेको भनेर उनले राष्ट्रवादी भावना र एकीकरणको नारालाई मार्मिक ढङ्गले उठाएका छन्। “एक देश दुई व्यवस्था”नीतिलाई दीर्घकालीन रुपमा कार्यान्वयन गर्ने भन्दै ताइवान जल–डमरुका दुई क्षेत्रका देशबन्धुहरूको साझा इच्छा नै एकीकरण रहेको उल्लेख गरेका छन्।

पछिल्लो समय अमेरिकाले कानुन नै बनाएर ताइवानलाई हतियार आपूर्ति गरिरहेको सन्दर्भमा पनि सी चिनफिङले निकै सचेत रुपमा ताइवानबासीलाई पनि नयाँ वर्षको शुभकामना दिएका छन्। उनले अन्य समयको जस्तो धम्की र कडा शब्द प्रयोग गरेका छैनन्।

कोरोना महामारी नियन्त्रणमा चीनले हालसम्म १२० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोज कोरोना खोप उपलब्ध गराइसकेको उनले बताएका छन्। विश्वका विभिन्न मुलुकले एकताबद्ध भई सहकार्य गरे मात्र मानव भाग्य समुदायको नयाँ अध्याय लेख्न सकिने उनले व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved