दार्जिलिङ क्षेत्रमा लोकसभा निर्वाचन : मुख्य मुद्दा गोर्खाल्याण्ड

पश्चिम बंगालको दार्जिलिङ क्षेत्रमा गोर्खाल्याण्डका लागि बारम्बार आन्दोलन भयो । केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले ‘गोर्खाल्याण्ड राज्य’ को मागमा समर्थन गर्दै यस क्षेत्रबाट लोकसभा निर्वाचन जित्दै आएको छ ।

नेपालभ्युज

दार्जिलिङ क्षेत्रमा लोकसभा निर्वाचन : मुख्य मुद्दा गोर्खाल्याण्ड

काठमाडौं । भारतको १८ औं लोकसभा निर्वाचनमा नेपाली मूलका मतदाताको बाहुल्यता रहेको दार्जिलिङ क्षेत्रमा कसले जित्ला ? नेपालमा समेत यसबारे धेरैलाई जिज्ञासा हुन्छ ।

पश्चिम बंगालको दार्जिलिङ क्षेत्रमा गोर्खाल्याण्डका लागि बारम्बार आन्दोलन भयो । केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले ‘गोर्खाल्याण्ड राज्य’ को मागमा समर्थन गर्दै यस क्षेत्रबाट लोकसभा निर्वाचन जित्दै आएको छ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकाल १० वर्ष पूरा हुँदा पनि गोर्खाल्याण्ड राज्य बनेको भने छैन ।

भारतीय जनता पार्टी राष्ट्रिय पहिचानमा आधारित दल भएको कारण प्रदेश रचना गर्ने माग तथा आन्दोलन आफैँ उठाउने गर्दैन । प्रदेश रचनाको मागलाई सम्बोधन गर्न भने यो दल अरु भन्दा लचिलो र सकारात्मक मानिन्छ ।

भाजपा नेता अटलबिहरी बाजपेयी प्रधानमन्त्री हुँदा छत्तिसगढ, उत्तराखण्ड र झारखण्डले राज्यको मान्यता पाएका थिए भने राजधानी दिल्लीमा भिन्नै राज्य सृजना गरिएको थियो । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य निर्माणको प्रक्रिया अघि बढाएका थिए ।

गोर्खाल्याण्डको माग गर्ने नेपाली भाषी दार्जिलिङका वासिन्दालाई यी उदाहरणले प्रभावित गर्दछ । तसर्थ उनीहरुले लोकसभा चुनावमा भाजापालाई तीन चुनाव यता निरन्तर जिताउँदै आएका छन्।

दार्जिलिङ क्षेत्रमा एक मात्र लोकसभा सिट छ । सन् २०१९ मा यहाँबाट भाजपाका राजु विष्टले जितेका थिए । सन् २०१४ मा भाजपाकै सुरेन्द्रजित सिंह अहलुवालिया र सन् २००९ मा यसवन्त सिंहले जितेका थिए ।

दार्जिलिङ क्षेत्रमा दोस्रो चरणमा भोलि शुक्रबार मतदान हुँदैछ । यसपटक पनि भाजपाका तर्फबाट राजु विष्ट नै उम्मेद्वार छन् ।

दार्जिलिङ निर्वाचन क्षेत्रमा उनकोको प्रतिस्पर्धा तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामासँग हुने अनुमान गरिएको छ । विमल गुरुङको गोर्खा जनमुक्ति मोर्चाले यसपटक तृणमूल कांग्रेसलाई समर्थन गरेको छ ।

कालिङपोङ क्षेत्रका विधायक विष्णुप्रसाद शर्मा अर्का मुख्य प्रतिस्पर्धी हुन् । सन् २०२१ को पश्चिम बंगाल विधानसभा निर्वाचनमा यस क्षेत्रका ७ मध्ये ६ मा भाजपा र १ निर्वाचन क्षेत्र तृणमूल कांग्रेसले जितेको थियो ।

दार्जिलिङ क्षेत्रको मुख्य चुनावी मुद्दा अहिले पनि गोर्खाल्याण्ड राज्यको माग नै हो । तर, यही सवालमा लगातार ३ चुनाव भाजपाले जित्दा पनि माग सम्बोधन हुन नसकेको आरोप तृणमूल कांग्रेसका उम्मेद्वार गोपाल लामाको छ । लामाको दाबी छ– यसपटक दार्जिलिङे मतदाताले परिवर्तन खोज्ने छन् ।

राजु विष्ट भने फेरि जित्ने दाबी गर्दछन् । उनी गोर्खाल्याण्डको माग सम्बोधन हुन नसक्नुको दोष तृणमूल कांग्रेसमाथि थोपर्दछन् । पश्चिम बंगाल विधानसभामा भाजपाको बहुमत नभएको कारण केन्द्र सरकारले प्रक्रिया अघि बढाउन नसकेको विष्टको भनाई छ ।

विश्लेषक भन्छन् कि स्वतन्त्र उम्मेद्वार बिष्णुप्रसाद शर्माले कसको भोट बढी काट्दछन्, हारजित त्यसैमा निर्भर हुने छ । भनिन्छ– राजु विष्टलाई जान सक्ने भोटमा बिष्णु शर्माको पकड बढी छ । तर, तृणमूल कांग्रेसले विगतमा प्राप्त गर्दै आएको मत अनुपात हेर्दा लामाको जित त्यति सहज भने छैन । विगतका तीन वटै चुनावमा यस क्षेत्रमा भाजपाले ठूला मतान्तरले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved