गोकुल बास्कोटा भन्छन् : खेलाडीलाई भोटिङ मेसिन बनाइयो, अब त्यसो हुन दिँदैनौं

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरूले खेलाडीहरूलाई दुरुपयोग गर्नेगरेका बताएका छन्।

पूर्वमन्त्री बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरूले बुथ कब्जा गर्न खेलाडीहरूलाई दूरुपयोग गरेको भन्दै अब त्यसो हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले अब खेलाडीहरूलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रूपमा प्रयोग हुन नदिने बताए।

बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरूलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने पनि बताए। खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको उनको भनाइ थियो।

राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरूलाई उनले आह्वान पनि गरे।

त्यस अवसरमा बास्कोटाले खेलाडीहरूको मनोबल बढाउने काम गरेको भन्दै पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गरे। खेलाडीहरूलाई आपराधिक गतिविधिमा मुछ्ने प्रयास हुन दिन नहुनेतर्फ उनले सचेत गराए।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवम् मोर्चा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायत नेताहरूले सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved