सुदूरपश्चिमबाट बाढी बिमाको थालनी, ६ सय ५३ घरधुरी लाभान्वित हुने

सुदूरपश्चिमबाट बाढी बिमाको थालनी, ६ सय ५३ घरधुरी लाभान्वित हुने
फाइल तस्वीर

कैलाली : सुदूरपश्चिमबाट नेपालमै पहिलोपटक बाढी बिमाको थालनी गरिएको छ।  कैलालीको पूर्वी क्षेत्र अन्तर्गत पर्ने टीकापुर र जानकी गाउँपालिकाका किसानलाई लक्षित गर्दै बाढी बिमा शुरु गरिएको हो। यसबाट  कैलालीको पूर्वी क्षेत्रका १० वटा बाढी प्रभावित बस्तीका ६ सय ५३ घरधुरी लाभान्वित हुनेछन्।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्राक्टिकल एक्सनको सहकार्यमा बाढी बिमा कार्यक्रम लागू गरिएको हो। बाढीबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्नका लागि निश्चित बाढी सुचकांकको आधारमा बाढी प्रभावित क्षेत्रका किसानलाई बिमा रकम दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति लक्ष्मीप्रसाद जोशीले बताए।

उनले भने,‘अहिलेलाई हामीले कैलालीको टीकापुर र जानकी गाउँपालिकाका दशवटा समुदायमा यसलाई परीक्षणका रुपमा लागू गरेका छौँ।’

परीक्षणमा राम्रो भएमा अन्य विपद्लाई लक्षित गरी प्रदेशभर लागू गरिने उनले बताए । ‘यो पाइलट प्रोजेक्टका रुपमा लागू भएको छ,’ उनले भने,‘यसको प्रयोग समुदायमा राम्रो देखिएमा प्रदेश भरी नै लागु गरिनेछ।’

यस्तो कार्यक्रमले गरिबीको रेखामुनि रहेका किसानको आर्थिक क्षति न्यूनीकरण हुनुका साथै कृषि पेशामा पनि हौसला बढ्ने उनले बताए ।

प्राक्टिकल एक्सनका विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकुलनका टिम लिडर धर्मराज उप्रेतीले भने,‘जोखिम हस्तान्तरण पद्दतीमा पहुँच कायम गरेर बाढी जोखिम क्षेत्रमा बसोबास गर्ने साना किसान तथा सीमान्तकृत वर्गको आर्थिक क्षति कम गर्न कार्यक्रम लागू गरिएको छ।’ कर्णाली नदी किनारको जोखिम क्षेत्रमा निर्माण गरिएको तोकिएको सुचकांकमा बाढी पुगेपछि किसानलाई क्षतिबापतको बिमा रकम उपलब्ध गराइने उनले बताए । ‘हामीले निश्चित गरेर तोकेको सुचकांकमा बाढी आएमा त्यसबाट किसानलाई हुने क्षतिको भरिपूरण गरिनेछ,’ उनले भने,‘त्यो एउटा वैज्ञानिक मापदण्डका आधारमा बनाइएको छ। अहिलेसम्म यस्तो बिमा भारतलगायतका अन्य मुलुकमा भए पनि नेपालमा भने यो पाइलट कार्यक्रमका रुपमा पहिलो हो।’’

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्,‘विपद्कै पूर्व तयारीका बेला पाइलट कार्यक्रमका रुपमा लागू भएको छ, यसले किसानमा राम्रो प्रभाव पार्न सकेमा प्रदेशभरी नै लागू गर्नेछौँ ।’

गत असोज ३१ गतेदेखि लगातार चार दिनसम्म पानी परेपछि कैलालीको पूर्वी क्षेत्रका किसानले भित्र्याउन ठिक्क परेको धानबाली बगाएको थियो। सुदूरपश्चिममा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved