प्रधानमन्त्री महिला कप क्रिकेट : फाइनलमा एपिएफ र प्रदेश १ भिड्ने

नेपालभ्युज

प्रधानमन्त्री महिला कप क्रिकेट : फाइनलमा एपिएफ र प्रदेश १ भिड्ने

धनगढी। धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् । आज भएका सेमिफाइनल प्रतिस्पर्धामा जित हासिल गर्दै यी दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन्।

आजको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ ले सुदूपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । त्यसैगरी, एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको छ।

प्रदेश १ को फराकिलो जीत

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको विजयी लक्ष्य प्रदेश १ ले केवल एक विकेट गुमाएर भेट्टायो। प्रदेश १ ले १६ दशमलव पाँच ओभरमा विजयी लक्ष्य पूरा गरेको हो।

पहिलो विकेटका लागि ओपनरद्वय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए। अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन्। कविता जोशीको बलमा बोल्ड आउट भएकी काजलले टिमका लागि २८ रन बनाइन्।

रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन्। अप्सरीले पनि अविजित नौ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले एक विकेट लिइन्।

यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८५ रनमात्रै बनाउन सकेको थियो। सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७, कप्तान रितु कनौजियाले २५ र डल्ली भट्टले १२ रन बनाइन्।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, सङ्गीता राई र ज्योति दनुवारले समान एक-एक विकेट लिए। खेलमा प्रदेश १ की कप्तान रुविना ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

एपीएफ ३८ रनले विजयी

दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले हरायो। टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा तीन विकेट क्षति व्यहोर्दै १२९ रन बनाएको थियो।

एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन्। त्यस्तै, ममता चौधरीले २७, सीता रानामगरले १८, राजमति ऐरी १४ र ज्योति पाण्डेयले ११ रन बनाए।

लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान एक-एक विकेट लिए। एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट क्षतिमा ९१ रन मात्र जोड्न सक्यो। लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाइन्। नितु भण्डारीले १८ रन जोडिन्।

एपिएफका लागि रेखा रावलले तीन विकेट लिइन्। त्यस्तै, सीता रानामगरको नाममा एक विकेट रह्यो। खेलमा एपिएफकी रोमा थापा ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। नेपाल क्रिकेट सङ्घ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आइतबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved