रक क्लाइम्बिङ गर्दा लडेर एक जनाको मृत्यु

नेपालभ्युज

रक क्लाइम्बिङ गर्दा लडेर एक जनाको मृत्यु

खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रूङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ः३० बजे जिल्ला अस्पताल खोटाङ पुर्याइएका सूचनलाई चिकित्सकले ७ः४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरूषोत्तम खड्काले जानकारी दिए ।

मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

दिक्तेलस्थित हाटडाँडा बस्दै आएका सूचन बिहीबार बेलुकी पख साथीहरूसँग रक क्लाइम्बिङ गर्न मझुवागढी भीर पुगेका थिए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गत चैतमा आयोजना गरेको रक क्लाइम्बिङ सम्बन्धी छ दिने तालिममा समेत सहभागी भएका सूचन के कारणले लडेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

करिब ३२ मिटर अग्लो मझुवागढी भीरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएको छ ।

किराँत ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको नगरपालिकाले जनाएको थियो । तालिममा सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका पाँचजना गरी १२ जना सहभागी भएका थिए ।

रक क्लाइम्बिङ परीक्षणका लागि नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक सङ्घका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा पनि आएका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved