१०२ वर्षकाे उमेरमा आँखाको ज्योति फर्किएपछि…

नेपालभ्युज

१०२ वर्षकाे उमेरमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौं । खोटाङको दिप्रूङचुइचुम्मा गाउँपालिका ७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो ।

बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्षअघिदेखि सहरमान अरूको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातीको सहारामा हिँडडुल गरे ।

उनको जीवनमा फेरि खुसी फर्किएको छ । १०२ वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उनका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो ।

नेपाल नेत्रज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा. दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो ।

दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने भएका छन् । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँड्डुल गरे ।

गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उनमा खुसीको सीमा छैन । “अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ”, उनले खुसी हुँदै भने ।

आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए । “मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपाईंहरू सबै परमेश्वर हुनुहुन्छ”, सहरमानले भने ।

नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै १०३ जनाको मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा १४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved