‘रविन्द्र मिश्रलाई मुद्दा छुटेको थाहै छैन’

केशव दाहाल भन्छन्- रविन्द्र मिश्रजीलाई सत्ता प्राप्त गर्ने, जसरी भए पनि चुनाव जित्ने हतारो भयो। यो देश सबैको हो भन्ने गहिरो बोध उहाँमा छैन।

नेपालभ्युज

‘रविन्द्र मिश्रलाई मुद्दा छुटेको थाहै छैन’

वैकल्पिक राजनीतिको नारा बोकेको ‘विवेकशील साझा पार्टी’ अहिले चरम विवादबाट गुज्रिरहेछ। अध्यक्ष रविन्द्र मिश्रले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबाट पछाडि फर्किने बाटो समातेपछि शुरु भएको विवाद अहिले कारवाहीको चरणसम्म पुगेको छ। मिश्रले पार्टीका संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेका छन्। वामे सर्दै गरेको पार्टीमा सिर्जना भएको यो कलहले वैकल्पिक राजनीतिको भविष्य के हुन्छ त ? के नेपालमा वैकल्पिक राजनीतिको स्पेश साँघुरो भएको हो ? आखिर के हो वैकल्पिक राजनीति ?

‘नेपाली राजनीतिको पुनर्गठन’ पुस्तकका लेखक समेत रहेका विवेकशील साझा पार्टीका नेता केशव दाहालसँग लक्ष्मण श्रेष्ठले यिनै विषयमा गरेको कुराकानीः

वैकल्पिक राजनीतिको कुरा गर्ने विवेकशील साझा पार्टीमा अरू पार्टी जस्तै व्यक्तिकेन्द्रित झै-झगडा र विवाद चलिरहेको छ। नारा र व्यवहारबीच बेमेल देखिदैछ। नाराबाटै कुरा थालौ। तपाईहरूले भन्दै आएको वैकल्पिक राजनीति के हो ? यसको आवश्यकता किन देख्नुभयो ?

राजनीति र समयको सम्बन्ध छ। राजनीतिले कुनै पनि समयको सपनालाई सम्बोधन गर्नुपर्छ। त्यही समयसँग जोडेर हामीले वैकल्पिक राजनीतिको बहस गर्न शुरु गरेका हौं। समय फेरियो। नयाँ युग शुरुआत भयो। मान्छेले नयाँ सपनाहरू देख्न थाले। सामाजिक, आर्थिक परिवेश बदलियो। त्यसैले राजनीति बदलिनुपर्छ। समयलाई अझै अगाडि बढाउन, उन्नत गराउन जुन राजनीतिको परिकल्पना गर्छौं, त्यहीँ नै हो, वैकल्पिक राजनीति।

जस्तै, राणा शासन बदल्नुपर्छ भनेर समकालीन चेतनाभन्दा अलिकति उन्नत कुरा गरे कांग्रेस र कम्युनिष्टले। त्यो समयका वैकल्पिक राजनीति बढाउने पार्टी ती थिए।

०४६ सालको आन्दोलन भयो। त्यो आन्दोलन सफल भएपछि नेपालको आर्थिक, सामाजिक चेतना अगाडि बढ्यो। हरेक दिन मानिसको चेतना अगाडि बढ्छ। त्यतिबेला पनि केही मानिसले भने- अब नेपालमा नयाँ समय आयो। प्रजातन्त्र आयो। प्रजातन्त्र ल्याउन आन्दोलन गरेका दलहरू त्यही अवस्थामा बस्ने हो भने समय अगाडि जाँदैन। त्यसैले आन्दोलनले निर्माण गरेको परिवेशमा दलहरू बदलिनुपर्छ नभए नयाँ चेतनासहित नयाँ दलहरू बन्नुपर्छ। देवेन्द्रराज पाण्डेहरूले त्यतिबेला त्यो विषय उठाउनुभएको थियो। त्यो वैकल्पिक राजनीति नै थियो।

विचारमा नयाँपन भयो भने मात्रै त्यो वैकल्पिक विचार हुन्छ। सबै नयाँ पार्टीहरू वैकल्पिक हुँदैनन्।

त्यसपछि माओवादीले प्रश्न उठायो। नेपाली समाजलाई अगाडि लैजान ०४६ सालको परिवर्तनले पुग्दैन भने। त्यो अर्को वैकल्पिक राजनीति थियो।

त्यो चेतनामा टेकेर ०६२/०६३ को आन्दोलन भयो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। त्यसका लागि लडेका दलहरू कि त त्यसलाई परिणाममा बदल्न योग्य र सक्षम हुनपर्‍यो। अन्यथा हामीले भनेका छौँ, एउटा कोर्स सकियो। अब नयाँ जिम्मेवारी लिन नयाँ राजनीति अगाडि आउनुपर्छ। हामीले भन्न खोजेको वैकल्पिक चेतना वा वैकल्पिक राजनीति यही हो। हरेक युगलाई सम्बोधन गर्न पुराना अनुभव लिने, नयाँ परिस्थितिको विश्लेषण गर्ने र अझ अगाडि जान प्रयत्न गर्ने । यही नै हो वैकल्पिक राजनीति।

विचारमा नयाँपन भयो भने मात्रै त्यो वैकल्पिक विचार हुन्छ। सबै नयाँ पार्टीहरू वैकल्पिक हुँदैनन्। जस्तै, कमल थापाले पार्टी खोल्नुभयो। तर उहाँको पार्टी वैकल्पिक किन होइन भने उहाँले बोकेको विचार पुरानो थियो। जनआन्दोलनका उपलब्धीभन्दा पछाडि फर्किने कुरा गर्नुभयो। तर वैकल्पिक राजनीति अग्रगामी हुन्छ।

कम्युनिष्टहरू पनि वैकल्पिक राजनीतिका हिमायति होइनन्। जसले दुई सय वर्ष अगाडिको मार्क्सवादको कुरा गर्छ। मार्क्सवादलाई जस्ताको तस्तै लागू गर्नुपर्छ भन्छ। मार्क्सका सिद्धान्तभन्दा अलिकति रचनात्मक हुनसक्दैन। त्यो कसरी वैकल्पिक हुन्छ ?

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत बनाउने र जनताको जीवन बदल्ने, राजनीतिक उपलब्धीलाई जनताको जीवनसँग जोडेर समुन्नती, समृद्धि, विकास, सुशासन, सामाजिक न्यायलाई स्थापित गर्ने नै अग्रगामी सोच हो।

विचारमा वैकल्पिक भन्नाले के ?  त्यो भनेको मूलतः ०७२ को संविधानबाट स्थापित चारवटा मूल आधार धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशीकरणमै टेकेर डेलिभरी गर्ने भन्ने हो, होइन त ? यसभन्दा अर्को राजनीतिक व्यवस्थाको परिकल्पना हो र ?

हामीले लोकतन्त्र प्राप्त गर्‍यौं। लोकतन्त्रको वैकल्पिक चेत के हो त ? अझ बढी लोकतन्त्र हो। लोकतन्त्रको पनि जेनेरेसन (पुस्ता) छ। पहिलो पुस्ताको लोकतन्त्र साधारण किसिमको थियो। निर्णयमा सहभागिताको कुरा गरिन्थ्यो। त्यसपछि संसदीय लोकतन्त्रको विकास भयो। त्यो औपचारिक वा प्रतिनिधिमूलक लोकतन्त्र हो। जसमा मैले प्रतिनिधि चुन्छु। मेरो प्रतिनिधिले ममा भएको सार्वभौम अधिकार लिन्छ र उसले अभिव्यक्त गर्छ। कम्युनिष्टहरूले समाजवाद भने त्यसलाई पनि लोकतन्त्र भने। यसरी हेर्दा तीनवटा लोकतन्त्र भए।

अहिले हामीले भनेको अझ धेरै लोकतन्त्रको विशेष अर्थ छ। त्यो हो- हरेक व्यक्ति सार्वभौम छ। निर्वाचनमा कसैलाई मत हाल्नु भनेको ‘मेरो सम्पूर्ण सार्वभौमिकता प्रयोग गर’ भनेर दिएको होइन। निश्चित शर्त सहित सार्वभौमकिता दिएको हो। ‘तिमीले भनेको संविधान, तिम्रो घोषणापत्र, तिमीले गरेको प्रतिबद्धतासँग म सहमत छु, त्यो भन्दा दायाबाया गरे मेरो प्रतिनिधि रहँदैनौ’ भनेको हो। त्यसलाई राजनीतिक भाषामा शर्तसहितको सार्वभौमिकताको हस्तान्तरण हो। त्यही नै हो, लोकतन्त्रको लोकतान्त्रिकरण। मैले चुनेको प्रतिनिधिले आफूले गरेको वाचा र प्रतिबद्धता अनुसार काम गर्दैन भने प्रत्यावहनको अधिकार रहनुपर्छ। प्रत्यावहनको अधिकार, अस्विकार गर्ने अधिकार र महत्त्वपूर्ण विषयमा जनमतसंग्रह, शक्ति पृथकीकरण नै आजको लोकतन्त्र हो।

यसको अर्थ हो, सबैभन्दा सर्वोच्च जनता हो।

त्यसैले वैकल्पिक राजनीतिले लोकतन्त्रको विकल्प खोज्दैन। लोकतन्त्रको समुन्नतिको परिकल्पना  गर्छ। अझ गहिरो, अझ समावेशी लोकतन्त्रको पक्ष लिन्छ।

यी त प्रक्रियाको कुरा भए। वैकल्पिक राजनीतिको कुरा गरिरहँदा एकातिर विश्व अर्थनीति नवउदारवाद हुँदै गइरहेछ, अर्कोतिर हामीले संविधानमा समाजवादउन्मुख भनेर लेखेका पनि छौं। समग्रमा वैकल्पिक राजनीतिले परिकल्पना गर्ने राज्य कस्तो हो ? राजनीतिक अर्थशास्त्रको कोणबाट त्यसको चरित्र कस्तो हो?

पक्कै पनि मानिसलाई प्रत्यावहनको अधिकार दिँदैमा जीवन फेरिँदैन। मानिसको जीवन परिवर्तन हुन आर्थिक-सामाजिक न्यायको आवश्यकता पर्छ। लोकतन्त्रले राजनीतिक न्याय दिन्छ। तर मानिसलाई त्यतिले पुग्दैन।

आर्थिक न्यायको कोणबाट हेर्दा, हामीले कल्याणकारी राज्यको परिकल्पना गरेका छौं। तर कल्याणकारी राज्य पनि समाजवादी मोडलको हो। व्यक्ति र समाजका सपनाहरू सन्तुलन गर्ने राज्य हो त्यो।

त्यसका विशेषता के हुन् ?

अर्थतन्त्र समन्वयात्मक हुन्छ। प्रगतिशील कर लागु हुन्छ। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र सार्वजनिक यातायातको दायित्वको जिम्मेवारी राज्यले लिन्छ। खुला बजार भए पनि निरपेक्ष स्वतन्त्र हुँदैन। जनताको आधारभुत जीवनको जिम्मेवारी राज्यले लिन्छ। राज्यको कुनै न कुनै हिसाबले भूमिका भइरहन्छ। राज्यले आम्दानी अनुसार कर लिन्छ। आम्दानीको पवित्रताको परीक्षण गर्छ। सम्पत्ति कमाउन मानिस स्वतन्त्र हुन्छ, तर कसरी कमाउँदैछ भन्ने राज्यले अनुगमन गर्छ। र, राज्यले जनताका आधारभुत आवश्यकता सुनिश्चित गर्छ।

आर्थिक न्यायको कोणबाट हेर्दा, हामीले कल्याणकारी राज्यको परिकल्पना गरेका छौं। तर कल्याणकारी राज्य पनि समाजवादी मोडलको हो। व्यक्ति र समाजका सपनाहरू सन्तुलन गर्ने राज्य हो त्यो।

राज्यलाई यो तहमा उत्तरदायित्व बनाउने भन्छौं भने स्वभावतः सुशासन र सेवा प्रवाहको सुनिश्चितता अनिवार्य हुन्छ। यसका लागि शासकीय स्वरुपमा परिवर्तन आवश्यक हुन्छ। अहिले हामी संसदीय मोडलमा छौं। यसभन्दा उन्नत के हुनसक्ला ? हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मोडलमा जानसक्छौं कि ? अहिले सांसदहरू मन्त्री बन्ने संसदीय प्रणालीमा छौं। यो प्रणालीले साँच्चै नै ठीक गरेको छ त ? अहिले सांसद बन्न एउटा मानिसले चुनावमा करोडौं खर्च गर्छ किनभने त्यसपछि ऊ राज्य स्रोतको दोहन गर्न पाउँछु भन्ने आशामा हुन्छ। ऊ सधैँ मन्त्री बन्ने अभिलाषामा हुन्छ। व्यवस्थापिका त विधि बनाउने थलो हुनुपर्ने तर मन्त्री बन्ने द्वारजस्तो भयो। यसको विकल्प यस्तो एउटा मोडल हुनसक्छ जहाँ सांसदहरू कानून बनाउँछन् र सरकारमा सक्षम मानिसहरू जान्छन्। मन्त्री भइरहन सांसद भइरहनुनपर्ने, सांसद मन्त्री बनाउन नपाउने मोडलमा जाने हो कि ? त्यो भयो भने संसदीय समितिहरूले कार्यपालिकामाथि अनुगमन गर्नेछन्। निर्वाचनको विधि खर्चिलो हुनेछैन। व्यवस्थापिका विधि बनाउनेमा केन्द्रित हुनेछ। त्यसैले सांसद सम्मानित पनि हुनेछ।

अर्को महत्त्वपूर्ण विषय हो, शक्ति पृथकीकरण। शक्ति पृथकीकरण लोकतन्त्रको आधारभुत विशेषता हो। तर अहिले हेर्ने हो भने, राज्यका तीनवटै अंगले एक अर्कालाई प्रभावमा पारिरहेछन्। एक अर्कालाई नियन्त्रण गरिरहेछन्। र, सबै काम नलाग्ने भएका छन्। तीनवटै अंगमाथि जनताको विश्वास छैन। राज्यका महत्त्वपूर्ण अंगमा जब जनताको आशा, विश्वास हराउँछ, व्यवस्था कसरी बलियो बन्छ ? त्यसका लागि पनि वैकल्पिक राजनीति आवश्यक पर्छ।

फेरि पनि यी त राजनीतिक अभ्यासका विषय भए। वैकल्पिक राजनीतिमा उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणाली कस्तो हुन्छ ?

हाम्रो संविधानले समाजवादउन्मुख भनेको छ। त्यसो हो भने सबैभन्दा पहिला त उत्पादन हुनुपर्‍यो। तर हाम्रोमा उत्पादन कमजोर छ। दलाल पूँजीको विकास भएको छ। राष्ट्रिय पूँजीको विकास भयो। त्यसैले हाम्रा कम्युनिष्ट पार्टीका नेताहरूले बेलाबखत दलाल पूँजीवादले राष्ट्रिय पूँजीलाई कमजोर बनायो भन्नुहुन्छ। वैकल्पिक राजनीतिको मोडल राष्ट्रिय पूँजीको विकास गर्ने हुनुपर्छ।

राष्ट्रिय पूँजीको विकास राज्यमार्फत् नै हुन्छ ?

होइन, त्यो त नीजि क्षेत्रले गर्छ। राज्यको मुख्य जिम्मेवारी नियमन गर्ने हुनेछ। राज्यले पूँजी उत्पादनको पवित्रता सुनिश्चित गर्नुपर्छ। राष्ट्रिय पूँजी विकासका लागि राज्यले नीजि क्षेत्रलाई सहयोग गर्नुपर्छ। कर, ऋण, बजारीकरणमा सहयोग गर्नुपर्छ। तर आफैँले उद्योग खोल्नुहुँदैन। नभए हामी अर्कै मोडलमा जान्छौं। राज्यले त्यसो गरेबापत कर लिनुपर्छ। कर भने प्रगतिशील हुनुपर्छ।

प्रगतिशील कर भनेको कस्तो हो ?

जसले जुन तहको आम्दानी गर्छ त्यही तहको कर तिर्नुपर्छ। राजनीतिक कोणबाट भन्दा, आम्दानीका लागि राज्यले वातावरण बनाइदिन्छ र जसले जुन तहमा आम्दानी गर्छ त्यही तहमा कर लिन्छ। र, त्यो कर सामाजिक न्यायको आधारमा जनतालाई फिर्ता गर्छ।

वैकल्पिक राजनीति स्थापित गर्ने विधि के हुन्छ ?

मुख्य त जनमत हो। सबैभन्दा पहिला त एजेन्डा हो। हामीले जनतालाई बताउनुपर्छ- नेपाल कहाँ छ? हाम्रा सपना के हुन् ? हामी जानुपर्ने कहाँ हो ? ००७ सालदेखि अहिलेसम्म आउँदा जेजस्ता राजनीतिक प्रक्रिया विकास बने, यसबीचमा के-के छुटे ? जस्तो, राजनीतिक दलले किसानका कुरा गरे तर भूमिसुधार छुट्यो। महिला, दलितको कुरा गरे, उनीहरू कहाँ छन् ? कर्णालीको कुरा गरे तर अहिले पनि किन त्यहाँ भोकमरी छ ? त्यसैले केही यस्ता विषय छन् जसलाई हाम्रो राजनीतिले सम्बोधन गर्न सकिरहेको छैन। वैकल्पिक राजनीतिले ती मुद्दा समात्नुपर्छ।

अहिले पार्टीहरू कुवा जस्ता भएका छन्। वैकल्पिक पार्टी नदीजस्तो कञ्चन हुनुपर्छ। कञ्चन पार्टी बन्न दुईवटा चिज चाहिन्छ। एक, आलोचना गर्ने कार्यकर्ता चाहिन्छ। दुई, आलोचना ग्रहण गर्ने नेतृत्व चाहिन्छ।

वैकल्पिक राजनीति स्थापित गर्न सबैभन्दा पहिला ती मुद्दा संगठित गर्नुपर्छ। र, आम जनतालाई चित्र देखाउनुपर्छ- हाम्रो सपना यो हो। त्यो सपना पूरा गर्दा अबको १०, १५ वर्षमा देश यहाँ पुग्छ।

यी मुद्दा कार्यान्वयन गर्न त बहुदलीय पद्दतिमा पार्टी चाहिन्छ। पार्टी भनेको साधन हो। वैकल्पिक राजनीति स्थापित गर्न वैकल्पिक पार्टी चाहिन्छ। साध्य वैकल्पिक राजनीति हो। साधन पार्टी हो। त्यो पार्टी कस्तो हुन्छ त ? पार्टीमा गहिरो लोकतन्त्र हुन्छ। सुसंस्कृत राजनीति हुन्छ। अहिले पार्टीहरू कुवा जस्ता भएका छन्। वैकल्पिक पार्टी नदीजस्तो कञ्चन हुनुपर्छ। कञ्चन भनेको विचारमा, संरचनामा, नेतृत्वमा हुने हो।

यो त अभिलाषा भयो, पार्टी कस्तो हुनुपर्छ भन्ने। तर पार्टीलाई त्यस्तो कञ्चन केले बनाउँछ ? किनभने मानिस त सामान्यतः शक्तिको अभिलाषा राख्छ। पदमा बसिरहन चाहन्छ। कञ्चन पार्टी कसरी बन्छ ? केले बनाउँछ ?

यो गाह्रो प्रश्न हो। मेरो विचारमा कञ्चन पार्टी बन्न दुईवटा चिज चाहिन्छ। एक, आलोचना गर्ने कार्यकर्ता चाहिन्छ। दुई, आलोचना ग्रहण गर्ने नेतृत्व चाहिन्छ। त्यसो भयो भने जहाँ बिग्रियो त्यहाँ आलोचना हुन्छ। जब नेतृत्वले आलोचना सुन्छ, तब त्यो सुध्रिन्छ। अहिलेसम्म अरू पार्टीलाई हेर्दा के देखिन्छ भने, कार्यकर्ताले आलोचना गर्दैनन्। नेतृत्वले आफूलाई सुधार्दैन। जसले गर्दा पार्टीहरू यथास्थितिवादी भएका छन्।

हाम्रो आदर्श अनुसारको पार्टी बनाउने हो भने अनुशीक्षण गर्नुपर्छ। आलोचना गर्नुपर्छ। आलोचना सुन्नुपर्छ। अनुशीक्षण भनेको कस्तो बनाउने भन्ने थाहा दिने हो।

यसरी हेर्दा त केही निश्चित आदर्श व्यक्तिहरूले मात्रै यस्तो पार्टी बनाउन सक्लान् ?

मान्छे आफै आदर्श प्राणी हो। हामीले बिगारेर पो अहिलेजस्तो देखिएको। हामीसँग आदर्श छैन भने मानिस हुँदैनौं। असाध्य फटाहाहरूको बीचमा बसेपछि राम्रो काम गर्न देवता नै आउनुपर्छ जस्तो लाग्छ।

अरू सबै फटाहा भए भनेर नै तपाईंहरूले वैकल्पिक पार्टी बनाउन शुरु गर्नुभएको होइन र? त्यसोभए त ती फटाहाबाट राम्रो मान्छे छनौट गर्ने, आदर्श मानिस बनाउने विधि चाहिएला नी !

मानिसलाई कोट्याएर हेर्न सकिँदो रैनछ। विश्वास नै गर्नेरैछ। फेरी मानिस पूर्णतः असल हुँदोरैनछ। त्यसलाई त प्रक्रियाले असल बनाउँदोरैछ।

त्यो प्रक्रिया के हो ?

अघि भनेजस्तै अनुशीक्षण, आलोचना र सुध्रिने। पार्टीमा जीवन्त यो प्रक्रिया रह्यो। प्रश्न सोध्न उत्प्रेरित गरियो भने मात्रै मानिसलाई सुध्रिन उत्प्रेरित गर्छ। यो एउटा पक्ष हो।

अर्को, पार्टीमा सहभागितामूलक लोकतन्त्रको विधि अवलम्बन गर्नुपर्छ। त्यो भनेको हरेक पार्टी सदस्य आफ्नो नेतृत्व छान्न सार्वभौम हुन्छ। कम्तिमा गोजीबाट सूची निकालेर हामीले नेतृत्व छनौट गर्दैनौं। पार्टीमा नियमित बैठक हुन्छन्। सम्मेलन हुन्छ। अधिवेशन हुन्छ। ती बैठक, सम्मेलन र अधिवेशनले विचार र नेतृत्व निर्माणमा योगदान गर्छन्। र, त्यो योगदान वास्तविक लोकतान्त्रिक विधिबाट हुन्छ। त्यो विधिलाई निरन्तर परिक्षण गर्ने प्रणाली पार्टीमा स्थापित हुन्छ।

यो कुरा त सबैजसो पार्टीले गर्छन् नी ?

भन्छन् तर गर्दैनन्।

हामीले समाजलाई शिक्षित बनाउँदै, उन्नत बनाउँदै जाने महाअभियानलाई वैकल्पिक राजनीति भनेका थियौँ।तर नेतृत्वमा बस्ने केही साथीहरू वैकल्पिक राजनीतिको निष्ठाबाट भन्दा पनि बाहिरको चमकधमकबाट प्रभावित हुनभयो।

अब सिद्धान्तबाट व्यवहारमा आऔं। तपाईंले परिकल्पना गरेजस्तो किन भएन त विवेकशील साझा पार्टी ?

यो परिकल्पना गरे अनुसार प्रयत्न गरेका हौं। तर हामीले जे परिकल्पना गर्‍यौँ त्यसमा पार्टी नेतृत्वको निष्ठा भएन। त्यसैले सोचेजस्तो पार्टी बनेन।

तपाईंहरूले विश्वास गरेरै त त्यो नेतृत्व छनोट गर्नुभएको होइन र ?

कहिलेकाहीँ हामी कुनै पात्रलाई देखेर विश्वास गर्छौं। तर जब उनीहरू आफ्नो आस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा पुग्छन् उनीहरू त्यसमा खरो उत्रिन सक्दैनन्।

यस्तो दुर्घटना त अरू पार्टीमा पहिले नै भइसकेको थियो। त्यो दुर्घटना यहाँ पनि हुनसक्छ भन्ने आकलन त पार्टी गठन गर्दा गर्नुभएको थियो होला। त्यो दुर्घटनाबाट जोगिन नसकेको हो पनि त भन्न सकिन्छ नी !

सपनालाई व्यवहारमा रुपान्तरण गर्ने जुन प्रयत्न हामीले गर्‍यौँ त्यसमा तपाईंहरूले गर्ने आलोचना मलाई ठीक लाग्छ। हामीले समाजलाई शिक्षित बनाउँदै, उन्नत बनाउँदै जाने महाअभियानलाई वैकल्पिक राजनीति भनेका थियौँ। दार्शनिक भाषामा भन्दा, जीवन र जगतलाई बुझ्ने, मार्क्सले भनेजस्तो बदल्ने र त्यसका लागि निरन्तर गर्ने प्रयत्नलाई राजनीति भनेका थियौँ। तर नेतृत्वमा बस्ने केही साथीहरूले वरिपरि हेर्नुभयो र ठान्नुभयो अरूतिर त चकाचौध छ। अस्ति चुनावमा जितेको मानिस मन्त्री भइसक्यो भन्ने देख्नुभयो। वैकल्पिक राजनीतिको निष्ठाबाट भन्दा पनि बाहिरको चमकधमकबाट प्रभावित हुनुभयो। त्यसो भएपछि मानिस निष्ठामा रहँदैन। त्यसपछि प्रश्नहरू हराउँछन्। प्रश्न भए भने पनि उसले सुन्दैन।

हाम्रै पार्टीमा दुई, तीनवटा घटना देखिन्छ। पार्टीभित्र कस्तो वैकल्पिक राजनीति, कस्तो विचार भन्ने प्रश्नहरू उठे। दुईवटा दस्तावेज आए। एउटा, वैकल्पिक राजनीतिको मूल मार्ग (मिलन पाण्डेको)। अर्को, वैकल्पिक राजनीतिको मार्ग परिवर्तन गरौं (रविन्द्र मिश्रको)। मार्ग परिवर्तन गरौं भन्ने दस्तावेजमा हाम्रो आलोचना छ। वैकल्पिक राजनीति शुरु गर्दा हामीले केही निष्कर्ष निकालेका थियौं। ती थिए- ०६२/०६३ को आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो। व्यवस्था फेरियो। अब अवस्था फेर्नुपर्छ। संघर्षको राजनीति सकियो अब डेलिभरीको राजनीति गर्नुपर्छ। त्यसैले हामीले सुशासनको, उन्नत लोकतन्त्रको कुरा गर्‍यौं।

तर नेतृत्वले के सोच्यो भने- यसरी पार्टी नबन्दोरहेछ। बाहिर मानिसहरू छन्। उनीहरू छटपटिरहेका छन्। धर्मको कुरा गरिरहेछन्। संघीयताको विरोध गरिरहेछन्। तिनलाई समेट्यो भने पार्टी बन्छ, भोट आउँछ, सांसद बनिन्छ भन्नेबाट नेतृत्व प्रभावित भयो। त्यसपछि हामीले प्रश्न गर्‍यौं। तर हाम्रो प्रश्न, आलोचना सुनिएन। पार्टीलाई ठीक ठाउँमा राख्न आलोचना गर्ने र आलोचना सुन्ने भनेका थियौँ, त्यो भएन।

त्यस्तै हामीले आन्तरिक लोकतन्त्रको कुरा गर्‍यौं। पार्टी बनेको पाँच वर्ष भइसकेको थियो त्यसैले महाधिवेशन गरौं भन्यौं। महाधिवेशन पनि भएन। जब पार्टीभित्र लोकतन्त्र जीवन्त हुँदैन जतिसुकै भने पनि त्यो पार्टी वैकल्पिक हुँदैन। हाम्रो पार्टीमा भएको दशा त्यहीँ हो।

रविन्द्र मिश्रजीलाई सत्ता प्राप्त गर्ने, जसरी भए पनि चुनाव जित्ने हतारो भयो। उहाँलाई मुद्दा छुटेका छन् भन्ने नै थाहा छैन। 

रविन्द्र मिश्रजीले धर्मको राजनीतिको कुरा गर्ने र संघीयताको विरोध गर्नेहरूको सेन्टिमेन्ट लिन खोजेको देखिन्छ। तर उहाँसँग त अर्को विकल्प पनि थियो नी। जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक कोणबाट राजनीतिक कोर्समा छुटेका मानिसलाई ल्याउन पनि सकिन्थ्यो। तर प्रगतिशील विकल्प नरोजेर प्रतिगामी विकल्प रोज्नुको पछाडि केले काम गर्‍यो ? मनोविज्ञानले हो कि पृष्ठभूमीले ?

म उहाँलाई धेरै आरोप लगाउन चाहन्न। तर बेलाबेलामा कस्तो पार्टी बनाइएछ भन्ने लाग्छ। भन्दा प्रगतिशील, लोकतान्त्रिक, अग्रगामी पार्टी बनाउने भनेका थियौं। ०६२/०६३ भन्दा अगाडि जाने भनेका थियौं दस्तावेजमा। तर पार्टीको केन्द्रिय समितिमा बहुमत साथीहरूले पश्चगमनको पक्ष लिए। यसलाई कुन भाषामा भन्ने होला ! यो पार्टी फ्यान क्लब भएको छ।

फ्यान त गइहाल्ने भए, मेरो प्रश्न रविन्द्रजी नै किन त्यहाँ पुग्नुभयो ?

सबैभन्दा पहिला त उहाँको पृष्ठभूमी हो, सायद। स्कुलिङ र पारिवारिक पृष्ठभूमी होला। अर्को कारण, उहाँलाई हतारो भयो। सत्ता प्राप्त गर्ने, जसरी भए पनि चुनाव जित्ने हतारो भयो। तेस्रो कारण, उहाँलाई मुद्दा छुटेका छन् भन्ने नै थाहा छैन। –

यो देशमा हिन्दू बाहेक अरू पनि छन्। दौरा-सुरुवाल लगाउनेबाहेक अरू पनि छन्। नेपाली भन्दा  अरू पनि भाषा छन्। देश भनेको ती सबै मानिसको सपना हो। ती सबै मानिसलाई जोडेपछि मात्रै पूर्ण देश बन्छ। तर जब ती मानिस छन् भन्ने अनुभुत हुँदैन तब यस्ता कुरा उठ्दा बर्बाद भयो भन्ने लाग्छ।

वैकल्पिक राजनीतिको संवाहक बन्ने भनेर जुन पार्टी बनाइएको थियो। त्यो राजनीति नै नस्विकारेको मानिसलाई नेतृत्वमा पुर्‍याइयो भन्न मिल्छ ?

उहाँहरूले ‘वैकल्पिक होइन मूलधारको राजनीति गर्छौं’ भनिसक्नुभयो। त्यो आधारभुत रुपमै गलत छ। वैकल्पिक राजनीति भनेको मूलधारको राजनीति नगर्ने भनेको होइन। वैकल्पिक राजनीति आफैँ मूलधारको राजनीति हो। हामीले भनेको त हामी नै मूलधार बन्ने हो। तर उहाँहरू ‘नसकिने रैछ’ भन्ने टुंगोमा पुग्नुभयो किनभने उहाँहरूलाई सत्तामा जान हतार भयो।

यसले त उहाँहरू पहिले ठीकै ठाउँमा हुनुहुनेरैछ भन्ने अर्थ लाग्दैन र ?

उहाँका पुराना भिडिओ हेर्दा त्यो देखिन्छ। पहिला गणतन्त्रबाट यताउता गर्दैनौं भन्नुहुन्थ्यो अहिले आयातित हो भन्नुहुन्छ। पहिला संविधानलाई चलाउँदैनौं भन्नुहुन्छ अहिले बदल्नुपर्छ भन्नुहुन्छ। बदल्न त हामी पनि चाहन्छौं तर शासकीय संरचनामा परिवर्तन गर्न, शक्ति पृथकीकरणका लागि। त्यो भनेको अग्रगमन हो। तर उहाँले बदल्नुपर्छ भनेको पश्चगमनतिर हो। उहाँहरूले बर्बाद भइसक्यो भन्नुहुन्छ। त्यो भनेको कस्तो हो भने कर्णालीका जनताले खाद्यान्न माग गरिरहेका हुन्छन् हामी भने हिन्दू राष्ट्र हुने कि नहुने जनमत संग्रह गर्नुपर्छ भनिरहेका हुन्छौं।

यी सबैले पार्टीभित्र विभाजन त ल्याइसक्यो। अब के हुन्छ विवेकशील साझा पार्टीको भविष्य ?

दुई, तीनवटा चीज हामीले हेर्नुपर्छ। पार्टीमा राजनीतिक-वैचारिक बेमेल देखियो। यसको समाधान राजनीतिक-वैचारिक रुपमै हुनुपर्छ। पार्टीभित्र बहस हुनुपर्‍यो। जे प्रयोजनका लागि पार्टी बनाएको हो त्यसमा सबै फर्केर आउनुपर्‍यो। कारवाही यसको समाधान होइन।

तपाईंले त्यस्तो सम्भावना देख्नुहुन्छ ?

कमजोर हुँदैछ। यद्यपी हाम्रो प्रयत्न यो कारवाहीको खेल रोक्ने हो। भर्खरै बन्दै गरेको पार्टी कारवाही-कारवाहीको खेलले कहीँ पुग्दैन। फलानोलाई कारवाही गरियो भनेर उत्सव मनाउने बेला होइन यो। कारवाही गर्ने र कारवाही गरेर पार्टी बनाउने ठाउँमा हामी छैनौं। हामीले भनेका छौं- दुईवटै दस्तावेजका मिल्ने चिज राखौं, नमिल्ने चिज हटाऔं। महाधिवेशन गरौं र अगाडि बढौं। बटमलाइन यही हो।

अर्को कुरा, हामी वैकल्पिक राजनीति गरौं भनेर लागेका छौं। अहिलेलाई हामीलाई चुनाव जित्न, सांसद हुन, मन्त्री हुन छैन। राजनीतिको एउटा मानक स्थापित गरौं, बहस स्थापित गरौं। अहिले भइरहेको राजनीतिभन्दा बाहिर पनि राजनीति छ भन्ने बताउन शुरु गरेका हौं। यो अभियान चाहिँ रोकिँदैन। विवेकशील साझा पार्टी भन्न कसले रोक्छ हामीलाई ?

वैकल्पिक राजनीतिको स्पेश साँघुरिएको होइन ?

अहिले हेर्दा साँघुरो होला। तर हामी जहाँ उभिएर कुरा गरिरहेछौं र हामीले जे प्रस्ताव गरिरहेछौं त्यो अहिलेको राजनीतिको मूलधार हो। हाम्रो कुरा नसुनीकन नेपाली राजनीति अगाडि जाँदैन। हामीले भनिरहेको कुरा ठूला पार्टीले पनि सुनिरहेछन्। निश्चित समयसम्म उनीहरूले हाम्रो कुरा बेवास्ता गर्नेछन् किनभने किनारबाट आइरहेछ। तर उनीहरूले बिस्तारै समकालीन राजनीतिको सबैभन्दा शक्तिशाली विषय नै यही हो भन्ने थाहा पाउनेछन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई आजको सन्दर्भबाट उन्नत नबनाइकन हाम्रा पार्टीहरूलाई धरै छैन।

तस्वीरः गोपेन राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved