पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

नेपालभ्युज

पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

पोखरा । मनाङ मर्स्याङ्दी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ।  लिगको पाँचौँ चरणको खेलमा आज ‘होम ग्राउण्ड’ पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबमाथि मनाङले ३-१ गोल अन्तर निकाल्यो।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोल मद्दतमा मनाङले पुलिसलाई पोखरा रंगशालामा पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले समान एक/एक गोल गरे पनि दोस्रो हाफमा भने मनाङ हाबी भयो र स्पष्ट तीन अंक बटुल्न सफल भयो।

खेलको १० औँ मिनेटमा विष्टले गोल गर्दै मनाङको अग्रता बढाएका थिए। उनले डिफेन्डर दिनेश राजवंशीको लामो पासमा विपक्षी टोलीका गोलकिपर रोशन खड्का पेनाल्टी एरियाबाट बाहिर आएको मौकामा गोल गरेका थिए।

खेलको ३५औँ मिनेटमा पुलिसले गोल गर्दै खेल बराबरीमा ल्यायो। मनाङका रक्षक सरोज योञ्जन लामाले डिबक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईलाई फाउल गरेपछि पुलिसले पेनाल्टी पायो। पेनाल्टीमा पुलिसका सुमना लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काए।

मनाङले दोस्रो हाफमा अञ्जन विष्टको फ्रि-किक गोलमार्फत खेलमा पुनः अग्रता बनायो। ७३औँ मिनेटमा अञ्जनले विपक्षी टोलीका खेलाडीले बल हातले छोएपछि पाएको किकमा सुन्दर गोल गरेका थिए। मनाङका निशान लिम्बूले ८३ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। लिम्बूले ओलावालेको पासलाई उपयोग गरी गोल गरेका थिए।

मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा आएको थियो। खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। पुलिसँगको खेलमा जित हात पारेपछि मनाङ १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ११ अंकसहित मच्छिन्द्र फुटबल क्लब दोस्रो तथा त्रिभुवन आर्मी र संकटा क्लब समान नौ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

मनाङले आगामी पुस ११ गते ब्रिगेड ब्वाइज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग पोखरा रंगशालामा खेल्ने तालिका छ। खेलपछि पत्रकार सम्मेलनमा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले घरेलु मैदानमा पहिलो खेल कठिन भएको बताए।

खेलको दोस्रो हाफमा रणनीति परिर्वतन गरेपछि जित सम्भव भएको उनले प्रतिक्रिया दिए। पुलिसका प्रशिक्षक अनन्तराज थापा भने सम्मेलनमा अनुपस्थित थिए।

यता काठमाडौंको दशरथ रंगशालामा भने रेलिगेशन जोनमा रहेको जाउलाखेल युथ क्लबले जारी लिगमा पहिलो जित हात पारेको छ। जाउलाखेलले च्यासललाई १-० गोलअन्तरले हराएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved