माधव नेपालले पार्टी फुटाएर गद्दारी गरे : भीम रावल

माधव नेपालले पार्टी फुटाएर गद्दारी गरे : भीम रावल

धनगढी। नेकपा एमालेका नेता भीम रावलले माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेको बताएका छन्। शुक्रवार गृह जिल्ला अछामको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले माधव नेपालले जनता प्रति गद्दारी गरेको आरोप लगाएका हुन् ।

‘‘व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण हो, एमालेलाई जीवन्त राख्न म जस्तोसुकै त्याग गर्न तयार छु’’ रावलले भने ‘‘ तर, कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो हुँदैन ।’’

रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे। यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए। उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए।

लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको रावलले बताए। विगतमा पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टी भित्रका समस्या समाधानका लागी विद्रोह गरेको तर पार्टी हित विपरीत कार्य नगरेको रावलले दाबी गरे। एमालेको नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टी भित्रका केही नेता चोइटिएर गएको समेत बताए।

यस्तै नेता रावलले चुनावमा हार जित स्वाभाविक रहेको बताए। रावलले नेकपा एमालेमा रहेको विवाद समाधान गर्न र पार्टीलाई सुदृढीकरण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको तर आन्तरिक प्रतिस्पर्धामा पराजित भएको बताए।

एमालेलाई यो अचाईमा पुर्‍याउन आफूले झन्डै ५० वर्ष काम गरेको बताउँदै पराजित भएको भन्दै मन नखुम्चाउन कार्यकर्तालाई आग्रह गरे।
उनले एमसीसी परियोजनालाई चोर बाटोबाट पास गर्न खोजिएको समेत आरोप लगाए। नेपालमा एमसीसी परियोजना पास भए नेपाल र नेपाली जनताको स्वतन्त्रता र अस्तित्व नरहने धारणा राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved