हाइटीमा ट्यांकर पल्टिएपछि तेल भर्न गएका ५० बढीको जलेर मृत्यु

नेपालभ्युज

हाइटीमा ट्यांकर पल्टिएपछि तेल भर्न गएका ५० बढीको जलेर मृत्यु

क्यारेबियन देश हाइटीको केप हाइटियनमा मंगलबार एउटा इन्धन ट्यांकर पल्टिएपछि भएको आगलागीमा परी ५० जनाभन्दा बढीको मृत्यु भएको छ।

ट्यांकर पल्टिएपछि तेल संकलन गर्न सयौं मानिस भेला भएका बेला ट्यांकर विस्फोट भएर आगलागी भएको अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमहरूले जनाएका छन्।

धेरै जना गम्भीर घाइते भएका छन्। त्यसैले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

हाइटीमा बिजुलीको चरम अभाव छ। त्यसैले जनता जेनेरेटरमा बढी भर पर्छन्। त्यसका लागि इन्धन चाहिन्छ। ट्यांकर पल्टिएपछि जनताले यहाँबाट सित्तैमा तेल लिन खोजेका थिए। तर दुर्भाग्यवश एकै समयमा विस्फोट भएर आगलागी भएको थियो।

क्याप हाइटियनका मेयर प्याट्रिक अल्मोरले भने, ‘मैले ५० जनाको शव जलेको देखें।” प्रधानमन्त्री एरियल हेनरीले भने ४० जनाको मृत्यु भएको बताएका छन्।

धेरैजसो शव नराम्ररी जलेकाले उनीहरूको पहिचान गर्न पनि अहिले कठिन भएको छ। मेयरका अनुसार तीव्र गतिमा आएको ट्यांकर मुख्य सडकमा पल्टिएको थियो। त्यसबाट तेल निस्किरहेको थियो। धेरै मानिस साना कन्टेनर लिएर आएका थिए। यसैबीच ट्यांकर विस्फोट भएको जनाइएको छ।

हाइटीमा बिजुलीको अभावका कारण राजधानी पोर्ट-ओ-प्रिन्समा पनि केही घण्टा बिजुली आउनेगर्छ। यहाँ इन्धन माफिया पनि सक्रिय छन्। उनीहरूले प्रायः तेल ट्यांकरहरू लुट्ने गर्छन्। विद्युत् र इन्धन अभावले खानेपानीमा समेत असर परेको छ। घटनामा २० घर पनि जलेका जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved