कांग्रेस महाधिवेशन : सभापतिमा कसले जित्नेबारे के भन्छन् नेताहरू ?

कांग्रेस महाधिवेशन : सभापतिमा कसले जित्नेबारे के भन्छन् नेताहरू ?

काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरूले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन्।

आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए।

सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले आफूले जित्ने प्रबल सम्भावना रहेको दाबी गर्दै १३औँ महाधिवेशनमा सभापतिका लागि अरूलाई मतदान गरे पनि यस पटक सभापतिमा आफैले आफूलाई मतदान गर्न पाएकोमा उत्साह व्यक्त गरे। निधिले आफूले पार्टी सभापतिमा जितेको खण्डमा देश र जनताको अधिकार, लोकतन्त्र र आर्थिक सृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। मतदान प्रक्रियामा क्लस्टरअनुसार मतपत्र भएकाले मतदान गर्न सजिलो भएको उनले प्रतिक्रियासमेत दिए।

अहिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ। राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान शुरु भएको हो। आज बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका बनाए पनि साढे ११ बजे मतदान शुरु भएको थियो। पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ। कोभिड-१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फूलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।

भृकुटीमण्डमा जारी मतदानपछि पत्रकारसँग कुरा गर्दै उपसभातिका उम्मेदवार विजयकुमार गच्छदारले पार्टी सभापतिमा पहिलो चरणमै प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति जित्ने दाबी गरे। मतदान ढिलो गरी शुरु भए पनि निर्वाचन समितिले छोटो समयमा प्रभावकारी व्यवस्थापन गरेको र आज रातिसम्ममा मतदान गरेर सकिने जानकारी दिए। गृहमन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवार बालकृष्ण खाँडले पनि प्रधानमन्त्री देउवाले पहिलो चरणमै पार्टी सभापतिमा जित्ने जिकिर गरे।

खाँडले भने, “सभापतिमा उहाँले जित्ने धेरै आधार छन्। पहिलो प्यानल बलियो छ र दोस्रो नेता कृष्णप्रसाद सिटौलाको समूह उहाँसँगै छ।” पार्टीलई एक ढिक्का बनाउँदै राष्ट्रिय सहमतिका साथ सबै दललाई मिलाएर आम निर्वाचनमा लैजाने क्षमता सभापति देउवासँग मात्रै भएकोसमेत खाँडले बताए। निर्वाचनसम्म यही गठबन्धन रहिरहने पनि उनको भनाइ छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेशी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपांगाता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved