सभापतिका आकांक्षी : कसको के दाउ ?

बार्गेनिङ बढाउँदै सिटौला, इतर पक्षको सकस

यतिबेला कांग्रेस चार समूहमा विभक्त छ। एक, संस्थापन पक्ष। दुई, संस्थापनइतर। तीन, कृष्णप्रसाद सिटौला पक्ष। र, चार निधि पक्ष।

सभापतिका आकांक्षी : कसको के दाउ ?

काठमाडौं। महाधिवेशनको दिन नजिकिँदै जाँदा नेपाली कांग्रेसका नेताहरूको भागदौड बढेको छ। महाधिवशेन शुरु हुन अब दुई दिन मात्रै बाकी छ। तर, अझै नेताहरूबीच को उम्मेदवार हुने भन्ने अन्तिम निर्णय हुन सकेको छैन। समूह–समूहमा विभाजित कांग्रेसमा आन्तरिक बैठकहरू तीव्र भए पनि ठोस निर्णय हुन सकेको छैन।

यतिबेला कांग्रेस चार समूहमा विभक्त छ। एक, संस्थापन पक्ष। दुई, संस्थापनइतर। तीन, कृष्णप्रसाद सिटौला पक्ष। र, चार निधि पक्ष। यी चार समूहमा आज के भयो ? एकैछिन हेरौ।

देउवाका दुई चुनौती

पहिले संस्थापन पक्षकै कुरा गरौं। पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षका मूल नेता हुन्। उनी फेरि एकपटक सभापति पदमा दोहोरिन चाहन्छन्। देउवा यतिबेला बलियो उम्मेदवारका रूपमा देखिएका छन्। उनको समूहमा उनलाई चुनौती दिने कोही नेता छैन। उनीसँग लामो समय सहकार्य गरेका विमलेन्ध्र निधि अलग्गिएर पार्टी सभापतिको आकांक्षी बनेपछि समूहमा उनीविरुद्ध जानसक्ने अर्का नेता छैनन्। यद्यपि आफूसँग भएका नेतालाई कसरी व्यवस्थापन गर्ने ? यतिबेला उनको मुख्य चुनौती हो।

आफ्ना चुनौतीको समाधान खोज्ने देउवाले बुधबार आफू पक्षका नेताहरूलाई निजी निवास बुढालिनकण्ठ बोलाए। उनले सभापतिमा जिताउन लाग्न सबैलाई आग्रह गरे। उनले आफू पक्षका पदाधिकारी, केन्द्रीय सदस्यसहित अन्य प्रभावशाली नेताहरूसँग पाँच घण्टा बिताए।

त्यसक्रममा उनले दुई वटा कुरा गरे। एक, आफूलाई सभापतिमा जिताउने आग्रह। त्यसका लागि गम्भीरपूर्वक लाग्न निर्देश। दुई, उपस्थित नेताहरूले के भूमिका खोजेका छन्, त्यो जान्ने प्रयास पनि गरे। सहमहामन्त्री प्रकाशशरणले भने, ‘यो बेला सभापतिको निर्विकल्प उम्मेदवार देउवा भएको निष्कर्ष निकाल्यौं। देश र पार्टीका लागि देउवाको आवश्यकता अझै रहेको बुझाइ बैठकको रह्यो।”

बैठकमा कदाचित संस्थापनइतर पक्षले एउटै साझा उम्मेदवार तय गरे के गर्ने भन्ने प्रश्न पनि उठ्यो। जसमा सहभागीहरूले एकै स्वरमा भने-सिटौला समूहलाई शुरुमै मिलाएर जानुपर्छ। महत थप्छन्, “पदाधिकारी चयन देखि अन्य कुरामा सबैलाई न्याय हुने गरि विचार गरेमा पहिलो चरणै जित्ने सुझाव बैठकमा आयो।’ सिटौला समूहलाई पनि उचित व्यवस्थापन गर्नु देउवाको अर्को चुनौती हो।

बैठकमा नेताहरूको सुझाव आएपछि देउवाले सात वटै प्रदेशमा हुन सक्ने पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूको उम्मेदवारहरूको नाम सिफारिस गर्न प्रदेशका सम्बन्धित नेताहरूलाई जिम्मा दिएका छन्।

प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट महेन्द्र यादव र रमेश रिजाल, बाग्मतीबाट प्रकाशशरण महत, गण्डकीबाट गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीबाट पूर्णबहादुर खड्का र जीवनहादुर शाही र सुदूरपश्चिमबाट रमेश लेखक र एनपी साउदलाई बिहीबार साँझसम्म सम्बन्धित प्रदेशहरूबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न जिम्मा दिइएको छ। देउवा बिहीबार साँझसम्म आफ्नो प्यानल घोषणा गर्ने तयारीमा रहेका बताइन्छ।

इतर पक्षको सकस

संस्थापन इतर पक्षले भने एकपछि अर्को बैठक गर्दा पनि कुनै निष्कर्ष निकाल्न सकेन। बुधबार दुई ओटा बैठक गरेको इतर पक्षले साझा उम्मेदवार तय गर्न सकेको छैन। खासगरी नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच सभापतिमा को उठ्ने भन्ने विषयमा कुरा नमिल्दा बैठक लम्बिँदै गएको छ। बैठकमा सहभागी नेता रामशरण महतका अनुसार, वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको रेसबाट आफू बाहिरिए पनि यी दुई नेताबीच साझा उम्मेदवार खोज्नैपर्ने बताएका थिए। नत्र आफूले राजनीतिबाटै संन्यास लिनुपर्ने अवस्था आउन सक्ने पनि पौडेलले चेतावनी दिएका महत बताउँछन्।

संस्थापन इतरबाट पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिह र शेखर कोइराला सभापतिका दाबेदार थिए। तर सभापतिको एक साझा उम्मेदवार भए मात्रै देउवालाई पराजित गर्न सकिने निष्कर्ष निस्किएपछि यो समूह एउटा नामको खोजीमा छ।

मंगलबार महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई आफूले साझा उम्मेदवारका रूपमा सिफारिस गर्ने बताएपछि बुधबार वरिष्ठ नेता पौडेल दिनभर भेटभाटमा व्यस्त रहे। बिहान यो बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा यो पक्षको बैठकमा केहीबेर सहभागी भएर पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गर्न उनकै निवास पुगेका थिए। सिटौलासँग भेटेपछि पौडेलले पुनः महामन्त्री कोइराला र अर्का नेता शेखर कोइरालासँग भेटेका थिए।

उक्त भेटलगत्तै महामन्त्री कोइराला अर्का नेता प्रकाशमान सिहसँग पनि भेट्न गएका थिए। सिंह निवासमा यो पक्षको पुनः तीन बजेतिर बैठक नै डाकिएको थियो।

यसरी दिनभरको म्याराथन बैठक सकारात्मक रहेको नेताहरूले दाबी गरे पनि बुधबार नै साझा सभापतिको उम्मेदवार घोषणा हुन सकेको छैन। यद्यपि नेताहरूले आन्तरिक बैठक र छलफल अबेर रातिसम्म जारी राखेका छन्। यो पक्षका नेता बद्री पाण्डेका अनुसार साझा सभापति बनाउने गरी आन्तरिक प्रयासहरू थालिएका छन्  र त्यो सफल र सार्थक हुन्छ।

बार्गेनिङ बढाउँदै सिटौला

कांग्रेस महाधिवेशनमा बन्ने समीकरणमा महत्वपूर्ण देखिन थालेको सिटौला पक्ष कता समीकरण बनाउनछ भन्ने चर्चा पनि अहिले चासोपूर्वक हेर्न थालिएको छ। वडा, जिल्ला र प्रदेशमा सभापति देउवासँग समीकरण गरेका सिटौला पक्ष केन्द्रमा कता जान्छ त्यो निर्णयक बन्न सक्ने आकलन गर्न थालिएको छ। यद्यपि सिटौला पक्षको नेताहरूको आज बसेको बैठकले कुनै निर्णय गरेको छैन।

स्रोतका अनुसार सिटौला समूहमा पनि दुुईथरी विचारहरू देखिएका छन्। एकथरीले वर्तमान नेतृत्व देउवालाई जसरी पनि विस्थापित गर्नैपर्ने र त्यसका लागि इतर पक्षसँग जानुपर्नेमा जोड दिएका छन् भने अर्कोथरीले सभापति देउवासँग जाँदै बढीभन्दा बढी फाइदा हुने भएकाले देउवासँगकै समीकरणमा जोड दिएका छन्। जता गए पनि पदाधिकारीसहित सदस्यमा आफ्नो समूहको राम्रो उपस्थिति हुने गरी जाने सिटौलाको रणनीति छ।

यद्यपि यसबारे अन्तिम निर्णय गर्ने जिम्मा पूर्वमहामन्त्री सिटौलालाई दिइएको छ। उनले पार्टीको महाधिवेशनलाई लिएर पार्टी चलिरहेको विभिन्न समूहहरूको प्रयासहरू अझै नियाल्ने र अन्तिममा मात्रै कुनै निर्णयमा पुग्ने जनाइएको छ। सिटौलासँग आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेर आफ्नो पक्षमा आउन र सहयोग गर्न आग्रह गरेका थिए।

रनभुल्लमा निधि

निकै अगाडिदेखि सभापतिको आकांक्षी भएर प्रचारको कार्यालय खोलेर बढेका निधि महाधिवेशन नजिकिँदै गर्दा रनभुल्लमा पर्न थालेको आभास हुन्छ। प्रदेश २ मै कमजोर देखिएपछि निधि रनभुल्लमा परेका हुन्।

स्रोत भन्छ, ‘निधि देउवासँगै सहमति गरेर फर्किने वा इतर समूहसँग जाने सोचमा छन्। अर्को एक स्रोत भने देउवाले प्यानलमा को को राख्छन्, त्यसको पखाईमा निधि छन् पनि भन्छ। देउवाको प्यानलमा नपरेका नेतालाई आफूतिर तान्न सकिन्छ भन्ने निधिको बुझाइ छ। ‘जस्तो विश्वप्रकाश शर्मा महमन्त्रीको तयारीमा छन्। देउवा उनलाई सहमहामन्त्रीमा सीमित गर्न चाहन्छन्। यसो भयो भने शर्मा आफूतिर आउने निधिको बुझाइ छ”, एक नेता भन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved