एमाले महाधिवेशन : सर्वसम्मत माग गर्दै नाराबाजी

एमाले महाधिवेशन : सर्वसम्मत माग गर्दै नाराबाजी

चितवन । नेकपा (एमाले) को दशौं महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र शुरु भएको छ। यसै क्रममा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने माग राख्दै बन्दसत्रस्थल अगाडि एमाले कार्यकर्तारहरूले नाराबाजी गर्न थालेका छन्।

उनीहरूले एमालेका लागि केपी ओली नै चाहिने भन्दै यतिबेला चर्को नाराबाजी गरिरहेका छन्। केही कार्यकर्ताहरूले ‘गाउँ नगर शहर एमालेको लहर,’ ‘सर्वसम्मत हुनै पर्छ, केपी ओली हुनैपर्छ, ‘पार्टी एकता जिन्दावाद’, ‘आजलाई हैन भोलिलाई १० वर्ष ओलीलाई,’ लगायत नारा लगाइरहेका छन्।

यसै क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि पदाधिकारी चयन सर्वसम्मत हुनुपर्ने बताएकी छन्। उनले आज सञ्चारकर्मीले सोधेको प्रश्नमा पार्टीले यो महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएकी हुन्। त्यस्तै एमाले कार्यालय सचिव शेरबहादुर तामाङले पनि सर्वसम्मत नेतृत्व चयन हुने बताए। सर्वसम्मत नेतृत्व चयनमा हरहालतमा गरिने र आकांक्षी बढ्दै गए मात्र मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने उनले धारणा राखे।

एमालेको यो दशौं महाधिवेशनमा पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अन्य पदहरूमा पनि आकांक्षी बढ्दै जान थालेका छन्। हिजो मात्र उपमहाचिव घनश्याम भूसालले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव ईश्वर पोखरेल र सुबास नेम्बाङ अघि सर्ने देखिएका छन् भने महासचिव पदमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा छ।

यस्तोमा कार्यकर्ताहरूले सर्वसम्मत नेतृत्व चयनमा जोड दिन थालेका हुन्।

यसैबीच हिजो बसेको एमालेको अन्तिम केन्द्रीय कमिटीले २२५ केन्द्रीय सदस्य संख्या बढाएर ३०१ बनाउने निर्णय गरेको थियो। विधान महाधिवेशनले खारेज गरेको पोलिटब्यूरो फेरि ब्युँत्याएर ९९ सदस्यीय बनाइने, वरिष्ठसहित ७ जना उपाध्यक्ष कायम गरिने, ३ उपमहाचिव बनाइने निर्णय पनि भएको थियो भने अनुशासन र लेखा आयोग २५ सदस्यीय बनाइने पनि बैठकले निर्णय गरेको थियो।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशन: सहमति र निर्वाचन दुवै पक्षमा नेताहरू, रावलले छाडेनन् दाबी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved