एमाले महाधिवेशन: सहमति र निर्वाचन दुवै पक्षमा नेताहरू, रावलले छाडेनन् दाबी

पुराना केन्द्रीय सदस्यहरुको शुक्रबार बसेको अन्तिम बैठकले सहमतिका आधारमा नेतृत्व चयन गर्ने निर्णय गरे पनि भीम रावलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

नेपालभ्युज

एमाले महाधिवेशन: सहमति र निर्वाचन दुवै पक्षमा नेताहरू, रावलले छाडेनन् दाबी

चितवन। नेकपा एमालेको पुराना केन्द्रीय सदस्यहरुको शुक्रबार बसेको अन्तिम बैठकले सहमतिका आधारमा नेतृत्व चयन गर्ने निर्णय गरे पनि भीम रावलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएका छन्। शनिबार शुरु हुने बन्दसत्रमा आफूले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउने रावलले बताएका छन्।

सहमतिका लागि प्रयास भए पनि नेताहरुले आफ्नो दाबीलाई नछाड्दा पदाधिकारी चयनका लागि निर्वाचनकै अवस्थामा पुग्न सक्ने सम्भावनालाई भने पार्टी नेताहरु नकार्दैनन्।

पार्टी केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तमाङले सहमतिको प्रयासका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्यामा वृद्धि गरेको बताए। “संख्या बढाउँदैमा बन्दसत्रमा निर्वाचन नै हुँदैन अब भन्ने अवस्था भने छैन”, उनले भने।

पार्टी अध्यक्ष केपी ओली सहमतिमा सबै कुरा टुंगो लगाउने पक्षमा रहँदा नेताहरुले आफ्नो दाबी कायम नै राखेका छन्। पार्टीभित्रैका केही नेता सर्वसम्मत पदाधिकारी लगायत अन्य पदमा चयन हुनुपर्ने बताउँदै गर्दा केही नेताले भने निर्वाचनको विधिबाट जानुपर्नेमा जोड दिएका छन्।

शुक्रबार बसेको पुरानो केन्द्रीय समितिको बैठकले यसअघि विधान महाधिवेशनले तय गरेको पराधिकारी, केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको छ।

सहमतिका लागि भन्दै यसअघि तय भएको संख्यालाई बढाउन अध्यक्ष ओलीले राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो। विधान संशोधन भएसँगै पार्टीमा अब १९ पदाधिकारी हुनेछन्। यसअघि १५ पदाधिकारी राख्ने निर्णय विधान महाधिवेशनले गरेको थियो।

संशोधनसँगै अब पार्टीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष हुनेछन्। यस्तै, १ महासचिव र ३ उपमहासचिव र ७ सचिव पार्टीमा हुनेछन्। यसअघि वरिष्ठ उपाध्यक्षसहित पार्टीमा ५ उपाध्यक्ष रहने व्यवस्था गरिएको थियो भने उपमहासचिव एक जनामात्रै हुने उल्लेख गरिएको थियो।

यता २२५ केन्द्रीय सदस्यको संख्या वृद्धि गर्दै ३०१ जना पुर्‍याउने सहमति भएको छ। ४५ जना स्थायी कमिटी सदस्य रहने भएका छन् भने पोलिटब्यूरो सदस्य ९९ पुर्‍याइएको छ।

शुक्रबार राति ८ बजेदेखि शुरु हुने भनिएको केन्द्रीय समितिको बैठक ११ बजेपछि शुरु भएको थियो। उद्घाटन सत्रबाट सौराह फर्किने क्रममा पार्टीका अध्यक्ष ओली नै जाममा परेपछि बैठक ढिलो शुरु भएको थियो।

ओलीसँग पार्टीका अन्य नेता पनि भरतपुर सौराह खण्डमा पर्ने बाटोमा जाममा परेको थिए।

दशौँ महाधिवेशन अन्तर्गत आजदेखि सौराहमा बन्दसत्र शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved