एमाले महाधिवेशन

ओली निगाहामा टिकेको पूर्वमाओवादीको राजनीतिक भविष्य

एमाले बनेको पूर्वमाओवादीको रणनीति : सके उक्लने, नसके अहिलेकै हैसियत कायम राख्ने

ओली निगाहामा टिकेको पूर्वमाओवादीको राजनीतिक भविष्य

काठमाडौं। माओवादी पूर्व नेता रामबहादुर थापा बादलको कप्तानीमा हुन थालेको नेकपा (एमाले) महाधिवेशनले पूर्वमाओवादीले अहिले सम्हालेका जिम्मेवारी जोगाउलान् ? कि तिनको जिम्मेवारीमा बढोत्तरी होला ? महाधिवेशनपछि स्वयं बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट अनि प्रभु साहलाई कस्तो हैसियतमा देख्न पाइएला ? एमाले महाधिवेशनको ‘काउन डाउन’ नजिकिएसँगै राजनीतिक वृत्तमा खासखुस बढ्न थालेको छ।

अहिलेको एमाले तीन शक्ति समीकरणको मिश्रण हो। एक, अध्यक्ष केपी ओलीको नेतृत्वको समूह। दुई, पूर्वमाओवादी समूह। तीन, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा नगई एमालेमै रहेको १० बुँदे सहमतिलाई आधार बनाएका १० नेता।

शक्तिको हिसाबले ओलीकृत एमालेलाई यी पछिल्ला दुई समूह चुनौती दिने हैसियतमा छैनन्। तर, ओली पूर्वमाओवादी र १० बुँदेको लिगेसीलाई सम्बोधन गर्नुपर्ने अवस्था देखिन्छ। अझ, ओली ‘निगाहा’ यी समुहलाई के कति हुन्छ ? प्रतिक्षाको विषय बनेको छ। माओवादी तान्न ओलीले बादललाई विधान महाधिवेशन र मंसिर १०-११ मा चितवनमा हुने महाधिवेशनको ‘कमाण्डर’ नै बनाएका छन्।

महाधिवेशनमा पूर्वमाओवादी

एमालेमा अहिले पूर्वमाओवादीबाट २३ केन्द्रीय सदस्य छन्। केन्द्रीय नेतामध्ये सबभन्दा माथि बादल छन्। उनी एमाले र माओवादी केन्द्र एकता भएको नेकपा (नेकपा) सचिवालय सदस्य थिए। स्थायी समितिमा बादलसहित चार जना छन्। बाँकी तीनजनामा टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा हुन्। केन्द्रीय सदस्य भए पनि मधेशमा प्रभावशाली मानिएका नेता प्रभु साह हुन्।

पालिका प्रतिनिधि छनोटबाट १५० को हाराहारीमा पूर्वमाओवादी चुनिएका छन्। महाधिवेशनमा भाग लिने संख्या करिब दुई हजार हो। यसरी हेर्दा एमाले महाधिवेशनमा पूर्वमाओवादी प्रतिनिधि संख्या करिब १० प्रतिशत होला।

पूर्वमाओवादी नेता एकताको भाव देखिनेगरी सहमतीय आधारमा प्रतिनिधि छान्नुपर्ने तर्क गर्दैआएका थिए। केही जिल्लामा सहमतीय नभएर चुनाव पनि भएको छ। सहमतीय भएका ठाउँमा पनि ओली एमालेकै विभिन्न उपसमूहबीच गरिएको आरोप छ। चुनावमा त पूर्वमाओवादीले जित्ने सम्भावना थिएन।

सायद आफ्नो शक्ति हेरेर होला, पूर्वमाओवादी नेता एमाले महाधिवेशनलाई तीन बुँदामा व्याख्या गरे।

एक, पार्टी एकताको निरन्तरता। त्यसैले यसलाई ओलीलाई नेकपाको पहिलो अध्यक्ष स्विकारेको एकता महाधिवेशनको रूपमा हेरिनुपर्छ। त्यसैअनुसार व्याख्या गरिनुपर्छ।

दुई, कम्युनिष्ट पार्टीमा संसदीय चुनावमा जसरी हुबहु चुनाव प्रणालीको विषयमा पुनर्विचार गर्नुपर्छ। त्यो भनेको प्रतिनिधि छनोटमा चुनाव र छनोट दुबै हुनुपर्छ। अहिले पूर्व नेकपा (नेकपा) तीन टुक्रा भएकाले एमाले महाधिवेशनबाट एकताको सन्देश दिने हुनुपर्छ। त्यसको लागि नेतृत्व चयन सहमतिबाट गर्नुपर्छ।

तीन, पूर्वमाओवादीले पार्टीमा कति प्रतिशत दाबी गर्ने भन्नेमा कुनै माग छैन। चुनाव भएपछि जित्ने सम्भावना छैन। त्यसैले चुनाव नै भएछ भने चुनावमा भाग नलिने।

“पूर्वमाओवादीबाट आएका हामी छौँ। नेपालबाट विद्रोह गरी आएका विद्रोही छन्। ओलीको पुरानो समूह छ। यो त्रिवेणीको सुन्दर पक्षलाई संयोजन गरी लानुपर्छ। यसमा माओवादीको भाग कति हो भनेर अलग्गै माग छैन,” एमाले स्थायी समिति सदस्य मणि थापाले भने।

सम्पन्न पालिकाहरूका प्रतिनिधि चयनमा भने ‘सुन्दर पक्ष’लाई पालना नगरिएको पूर्वमाओवादी नेताहरूको गुनासो छ। जसले गर्दा अपेक्षाअनुसार पूर्वमाओवादी प्रतिनिधिमा चुनिएनन्। उनीहरूले त पार्टीभित्रको ओलीको दबदबाकै आधारमा सहमति खोजिएको वा चुनाव गरिएको आरोप पनि लगाए।

‘पालिकाहरूमा जसरी चुनाव भयो, जसरी सहमति भए (निर्वाचन र सहमति दुबै), त्यसले पार्टी एकता र बृहत्तर कम्युनिष्ट आन्दोलनको कोणबाट भन्दा पनि निश्चित गुट बेसी बलियो भन्ने आँखाबाट देखियो,’ एक पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्यले भने, ‘त्यसले गर्दा अहिले समस्या आयो।’ अहिलेसम्म भएका प्रतिनिधि चयनले पार्टी एकताको भाव दिन चुकेको उनीहरूको मूल्यांकन छ। जसले गर्दा पूर्वमाओवादी पृष्ठभूमिका नेता कार्यकर्ता प्रतिनिधिको रूपमा चुनिन बन्चित भए।

‘एकताको भाव पस्केको देखिएन। पार्टीमा शक्तिको आधारमा भयो,’ पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले केन्द्रीय सदस्य आरसी न्यौपानेले भने, ‘जसले गर्दा जुन अनुपातमा अपेक्षा गरेको हो, त्यसैले त्यसअनुपातमा परिणाम आएन।’

एकताको भाव पस्कने एउटा उपाय हो, अहिले केन्द्रीय समितिमा रहेकाले निरन्तरता पाउने। जसलाई उनीहरूले ‘स्वाभाविक दाबी’ भने।

‘पहिले केन्द्रमा भएकाका निरन्तर हुनुपर्छ भन्नु त स्वाभाविक हो नि। यो त सहमतिमा जानेभन्दा पनि स्वाभाविक कुरा हो। यो त माग नै होइन,’ पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्यले भने। तल नदेखिए पनि केन्द्रमा पूर्वमाओवादी पृष्ठभूमि भएका र माधव नेपाल छाडेका १० भाइलाई कसरी व्यवस्थापन गर्छन् ? त्यो हेर्न बाँकी रहेको उनीहरूको तर्क थियो।

“पूर्वमाओवादीको कस्तो अवस्था हुन्छ ? त्यो त पार्टी अध्यक्षको विवेकमा भर पर्छ। चुनाव भए त पूर्वमाओवादीले जित्दैनन्। सहमतिमै टुंग्याउने हो। नेतृत्व दिनेबारे कसरी सोचेका छन्, ओलीले, त्यसैमा भर पर्छ,” नेता न्यौपानेले भने। एक स्थायी समिति सदस्यले पनि ‘नेतृत्वले कसरी प्राथमिकतामा राख्छ’ भोलिको एमाले नेतृत्वमा पूर्वमाओवादी नेताहरूको उपस्थिति त्यसैमा भर पर्ने बताए।

अहिले एमाले स्थायी समितिमा भएका चारमध्ये नेकपा (नेकपा) सचिवालय सदस्य थिए। पूर्वमाओवादी पृष्ठभूमिका एमाले नेताहरूले एकीकृत पार्टी सचिवालय सदस्य र पूर्वमाओवादी समूहको नेतृत्व गरेकाले बादल वरिष्ठ उपाध्यक्षको दाबी हुनु स्वाभाविक भएको तर्क गरे।

वरिष्ठ उपाध्यक्ष अध्यक्ष पछिको पद हो। त्यसपछि स्थायी समिति सदस्य लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा स्थायीमा पहिले नै भएकाले तिनका आकांक्षा सचिव र त्योभन्दा माथि हुनुलाई पनि स्वाभाविक मान्न आग्रह गरे। त्यसैले भट्ट, थापा र रायमाझीको सचिवमा दाबेदारी हुन सक्ने बताए। १५ सदस्यीय पदाधिकारीमा सात सचिवको व्यवस्था गरिएको छ। पदाधिकारीमा बढुवा नभए पनि स्थायी समितिमा यथावत हुने तर्क गरे।

‘हाम्रो हैसियत नपुग्ने भन्ने होइन नि। हैसियतसँगको कुरा पनि भएन। यो एमालेको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवमा पनि दाबेदारी हो नि। हाम्रो हैसियतले दाबा पुग्छ। तर, अध्यक्ष ओलीले पूर्वमाओवादीलाई कतिको प्राथमिकतामा राख्छन् ? त्यसमा निर्भर हुन्छ,’ ती स्थायी समिति सदस्यले भने, ‘माओवादी लिगेसीबाट आएकालाई कसरी सम्बोधन गर्छन् भन्ने हो, दाबी नपुग्ने होइन।’

पूर्वमाओवादी नेताहरूले आफूहरूको अलग्गै भेला र छलफल त गरेका छैनन्। तर, अध्यक्ष ओली भेट्दा भने चारजना छुटेको छैनन्।

‘हामी चारैजनाले सँगैमात्र अध्यक्ष ओलीलाई भेटेका छौँ,’ एक स्थायी समिति सदस्यले भने। स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले विशेष परिस्थितिको महाधिवेशन भन्दै त्यसैअनुसार आफूहरूले महाधिवेशनमा अपेक्षा गरेको बताए।

‘म र हामी कहाँ बस्दा ठीक हुन्छ, पार्टीले कहाँ के आवश्यक ठान्छ, त्यही हुन्छ,’ एक टेलिभिजन कुराकानी गर्दै रायमाझीले भनेका थिए, ‘विशिष्ट परिस्थितिमा छौँ।’

तलजस्तै केन्द्रमा पनि भए के हुन्छ ?

तल सोचेजस्तो परिणाम नआएपछि आत्तिएका आफ्ना कार्यकर्तालाई पूर्वमाओवादी नेतृत्वले सहमतिमै टुंगो लाग्ने भनेर थामथुम पारेको छ। पूर्वमाओवादीले अलग्गै छलफल नगरे पनि ओलीले बादललाई ‘पूर्वमाओवादीलाई समेटेरै लाने’मा आवस्त पारेको तर्क गरे। बादल भेटेका पूर्वमाओवादी कार्यकर्तालाई बादलले ‘एमालेमा अपमानित नहुने’ भनेर सम्झाएका थिए। रोल्पा, रुकुमजस्ता माओवादी थलो भएको लुुम्बिनी प्रदेशमा पूर्वमाओवादीलाई हैसियतअनुसार सम्बोधन भएको उनीहरूको भनाए छ।

“रोल्पा, रुकुम माओवादी उद्गमथलो भएकाले पनि संवेदनशील हुन भनेर नेतृत्वलाई भनेको हो। अपेक्षाअनुसारको संख्या त आएन। तर हाम्रो लुम्बिनी प्रदेशमा धेरै कमी भएजस्तो लागेको छैन,” पूर्वजनमुक्ति सेनाका डिभिजन सहकमाण्डर दुर्गाबहादुर चौधरी सन्तोषले भने। अन्य प्रदेशमा भने छानिनुपर्ने सिनियर पूर्वमाओवादी नेता पनि छुटेको उनले बताए।

यसैगरी, एमाले दुई नम्बर प्रदेश अध्यक्ष ज्वाला साहले मधेशमा ‘शक्ति सन्तुलन’को आधारमा प्रतिनिधि छनोटमा ध्यान दिएको जानकारी दिइन्। उनले मधेशबाट पूर्वमाओवादीबाट प्रतिनिधि चयनमा सन्तोषजनक रहेको सुनाइन्। “एकताको सन्देश जानेगरी हामीले प्रतिनिधि चयनमा प्रयास गर्‍यौँ। पूर्वमाओवादी पृष्ठभूमिका पनि प्रतिनिधि छनोट सन्तोषजनक छ। अपमानजनक छैन। केही ठाउँमा अप्ठेरा पनि आए। त्यो बेग्लै कुरा हो,” माओवादी पृष्ठभूमि भएकी पूर्व राज्यमन्त्री साहले भनिन्।

पूर्वमाओवादी नेतृत्व महाधिवेशनमा माथि उक्लने र नसके पनि पहिलेको हैसियत कायमै राख्ने दाउमा देखिन्छ। त्यो पनि भएन भने के होला ? केन्द्रभन्दा तलबाट चुनिएका नेतृत्व हेर्ने हो भने पूर्वमाओवादीको चित्त बुझाउने ठाउँ छैन। थोरैमात्र चुनिएका छन्। प्रतिशतमा कुरा गर्ने हो, १० प्रतिशतको हाराहारीमा देखिन्छ। यसरी नै केन्द्रमा पनि हुने हो भने के होला ?

“पूर्वमाओवादीबाट नेतृत्व रक्षा नभए त तलका बस्दैनन्। हामीले पो राजनीतिक कमिटमेन्ट गरेका छौँ र, तलका त बादललगायत नेतृत्व सम्मानजनक ठाउँमा रहे न बस्छन्,” पूर्वमाओवादीका एक स्थायी समिति सदस्यले भने, “सही व्यवस्थापन नभए त नयाँ ढंगले सोच्न सक्छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved