जितेर नथाक्ने अष्ट्रेलिया

जितेर नथाक्ने अष्ट्रेलिया

काठमाडौं। संसारलाई क्रिकेट खेल्न सिकाएको इंल्याण्डले हो। तर क्रिकेटको जननी भएर पनि इंल्याण्ड आफै विश्व क्रिकेटमा सफल राष्ट्र बन्न सकेको छैन। विश्व क्रिकेटमा प्रदर्शन र उपाधिका आधारमा सबैभन्दा सफल राष्ट्र हो अष्ट्रेलिया।

अष्ट्रेलियन क्रिकेटसँग खड्केको भनेको टी–ट्वान्टी विश्वकपको उपाधि मात्र थियो। त्यो कमी पनि भर्खर यूएईमा सम्पन्न सातौ संकरणको टी–ट्वान्टी विश्वकपको फाइनलमा न्यूजिलाण्डलाई आठ विकेटले हराउँदै पूरा गर्‍यो।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् १९७५ मा विश्वकपको आयोजना गरेको थियो। जुन ५० ओभरको एकदिवसीय विश्वकप थियो। पहिलो विश्वकपमा नै फाइनलमा पुगेको अष्ट्रेलिया फाइनलमा त्यो बेलाको क्रिकेटको पावर हाउस वेष्ट इण्डिजसँग १७ रनले पराजित हुँदा उपविजेता बनेको थियो।

यसपछि अष्ट्रेलियाले सन् १९८७ को चौथो संस्करणमा आएर पहिलो पटक विश्वकपको उपाधि जित्यो। जसको फाइनलमा उसले चिर प्रतिद्वन्द्वी इंल्याण्डलाई सात रनले परिजित गरेको थियो।

यहाँबाट अष्ट्रेलियाको सबैभन्दा सफल क्रिकेट टिम बन्ने यात्रा शुरु भएको थियो।

१९९६ को छैठौं विश्वकपमा पनि अष्ट्रेलिया फाइनलमा पुग्न सफल भएको थियो। तर यो पटक अष्ट्रेलियाको उपधि यात्रामा श्रीलंका बाधक बन्यो। फाइनलमा श्रीलंकासँग सात विकेटले पराजित भएपछि नौ वर्षमा दोस्रो पटक विश्व विजेता बन्ने अष्ट्रेलियाको सपना साकार भएको थिएन।

तर बीसौं शताब्दीको अन्त्यदेखि एक्काइसौं शताब्दिको पहिलो दशकको आधाआधीसम्म अष्ट्रेलियन क्रिकेटको स्वर्ण युगमा उसले धेरै कीर्तिमान रच्यो।

अष्ट्रेलिया एक मात्र त्यस्तो देश हो जसले लगातार चार विश्वकप (सन् १९९६, १९९९, २००३, २००७) को फाइनल खेलेको छ। जसमा लगातार तीन विश्वकप (सन् १९९९, २००३, २००७) को उपाधि जित्ने अर्को एक मात्र कीर्तिमान उसँग मात्र छ।

सात पटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया पाँच पटक त उपाधि उचाल्न नै सफल भएको थियो। एकदिवसीय विश्वकपमा लगातार ३४ खेलको अपराजित यात्राको रेकर्ड पनि अष्ट्रेलिया कै नाममा छ। जुन रेकर्ड सन् २०११ को विश्वकपको समूह चरणको खेलमा पाकिस्तानसँगको चार विकेटको हारपछि टुङ्गिएको थियो।

यसपछि आएर अष्ट्रेलियाले घरेलु मैदानमा भएको सन् २०१५ को विश्वकप पनि फाइनलमा न्यूजिल्याण्डलाई सात विकेटले हराउँदै आफ्नो बनाएको थियो।

हालसम्मको १२ संस्करणमा पाँच पटक एकदिवसीय विश्वकप उपाधि जित्ने एक मात्र राष्ट्र अष्ट्रेलियालाई फुटबलको ब्राजिलभन्दा फरक नपर्ला। अन्य क्रिकेटका माहारथी भनिएका राष्ट्र उसको नजिक पनि पुगेका छैनन्। अष्ट्रेलिया पछि एकदिवसीय विश्वकपको उपाधि सवार्धिक जित्ने देश भारत र वेष्ट इण्डिज हुन। जसले दुई–दुई पटक विश्वकपको उपाधि उचालेका छन्।

जबकि क्रिकेटको उद्गम राष्ट्र इंल्याण्डले भने पहिलो पटक एकदिवसीय विश्वकप आयोजना भएको ४४ वर्षपछि मात्र सन् २०१९ को विश्वकप जितेको थियो।

यता टी–ट्वान्टी विश्वकपमा सात सस्करणमा सकिँदा दुई पटकको फाइनल यात्रामा अष्ट्रेलिया यो पटक पहिलो विश्वकप जित्न सफल भयो। यसअघि सन् २०१० मा एक पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया फाइनलमा इंल्याण्डसँग सात विकेटले पराजित भएपछि उपविजेतामा सीमित भएको थियो।

विश्वकपमा मात्र होइन अन्तर्राष्ट्रिय सिरिजका खेलमा पनि अष्ट्रेलियाकै दबदबा कायम छ। क्रिकेट इतिहासमा खेलिएको पहिलो टेष्ट म्याच इंल्याण्डले अष्ट्रेलियासँग नै खेलेको थियो।

सन् १८८७ मा खेलिएको पहिलो टेष्ट नै अष्ट्रेलियाले ४५ रनले जितेको थियो।

त्यो बेला इंल्याण्डले प्रोफेसनल खेलाडीहरूले भरिएको राष्ट्रिय टिम बनिसकेको थियो। जबकि इंल्याण्डमा औपचारिक क्रिकेटको शुरुवात भएको सन् १७३९ मा मानिन्छ। त्यो वर्ष इंल्याण्डमा ‘अल इंल्याण्ड’ टिम र ‘केन्ट’ टिम बीच पहिलो आधिकारिक खेल भएको रेकर्ड छ।

यता अष्ट्रेलियाले भने सन् १८८७ मा इंल्याण्डको टिम पहिलोपटक टेष्ट म्याच खेल्न आउने भएपछि नै इतिहासमा पहिलो पटक आफ्नो आधिकारिक टिम बनाएको थियो। त्यो बेला अष्ट्रेलियामा क्रिकेटको खासै ठूलो क्रेज थिएन भने इंल्याण्डमा जस्तो क्रिकेटमा व्यवसायिकताको विकास पनि भइसकेको थिएन।

त्यसैले अष्ट्रेलियाले ‘न्यू साउथ वेल्स’ र ‘भिक्टोरिया’ दुई प्रान्तको ११ जनाको खेलाडीलाई बटुलेर एमेच्योर क्रिकेट टिम बनाएको थियो। यस्तो टिमले पनि आफ्नो पहिलो आधिकारिक र अन्तर्राष्ट्रिय खेलमा इंल्याण्डको प्रोफेसनल खेलाडीहरूको टिमलाई हराएपछि अष्ट्रेलियाको क्रिकेट भविष्य उज्ज्वल देखिएको थियो।

टेष्ट मात्र होइन विश्व कै पहिलो एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल पनि अष्ट्रेलियाले खेलेको थियो र दुबै जितेको पनि थियो। सन् १९७१ मा खेलिएको पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले इंल्याण्डलाई पाँच विकेटले हराएको थियो। त्यसैगरी सन् २००५ मा भएको विश्वको पहिलो टी–ट्वान्टी खेलमा पनि अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ४४ रनले पराजित गरेको थियो।

अष्ट्रेलिया टेष्ट र एकदिवसीय क्रिकेटमा जितका हिसाबले सबै भन्दा सफल राष्ट्र हो। अष्ट्रेलियाले हालसम्म खेलेका आठ सय ३४ टेष्ट म्याचमा तीन सय ९४ खेल जितेको छ। जसमा जितको प्रतिशत करिब ४७ भन्दा माथि छ। यो सूचीमा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको जित प्रतिशत करिब ३७ मात्र छ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि अष्ट्रेलिया ६३ प्रतिशत जित रेकर्डसँगै पहिलो स्थानमा रहेको छ। हालसम्म खेलेको नौ सय ५८ खेलमा उसले पाँच सय ८१ खेल जितेको छ।

उता टेष्ट म्याचमा सर्वाधिक १६ खेलको लगातार जितको रेकर्ड पनि अष्ट्रेलिया कै नाउँमा छ। त्यसैगरी लगातार सर्वाधिक नौ टेष्ट सिरिजको जितको रेकर्डमा पनि इंलायण्डसँगै अष्ट्रेलिया नै अगाडि छ।

अष्ट्रेलिया लगातार दुई आईसीसी च्याम्पियनस् ट्रफी (सन् २००६, २००९) को उपाधि जित्ने पनि पहिलो र एक मात्र राष्ट्र हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved