‘मुख्यमन्त्रीलाई राजीनामा गर्नु भनेपछि मलाई हटाए’

यादवले जाँदाजाँदै मुख्यमन्त्रीले आफूमाथि रिस साँधेको आरोप लगाएका छन्।

नेपालभ्युज

‘मुख्यमन्त्रीलाई राजीनामा गर्नु भनेपछि मलाई हटाए’

जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज (मंगलबार) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट रामनरेश राय यादवलाई बर्खास्त गरेका छन्।

यादवले जाँदाजाँदै मुख्यमन्त्रीले आफूमाथि रिस साँधेको आरोप लगाएका छन्।

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत साइकल वितरणमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो। उक्त प्रकरणपछि मुख्यमन्त्री राउतलाई आफूले राजीनामा दिन भनेको यादवले खुलाएका छन्। साथै अहिले त्यसैको शिकार आफू भएको पनि उनको ठम्याइ छ।

यादवले भने, “मुख्यमन्त्रीलाई भ्रष्टाचार आरोप लागेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेको थिएँ। यस्तो छवि लिएर कसरी निर्वाचनमा जाने ? भनेर कुरा राखेका थिएँ। यही विषयलाई लिएर मलाई बर्खास्त गरियो।”

यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सरकारमा सहभागी भएका थिए। पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो।

जसपा बनेपछि पूर्वराजपाका महन्थ ठाकुर, राजेन्द्र महतो पक्षसँग विवाद भएको थियो। त्यसपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारमा रहेका पूर्वराजपा समूहका मन्त्री बर्खास्त गरेका थिए। त्यतिबेला उपेन्द्र यादवलाई समर्थन गरेका कारण रामनरेश राय यादवको पद भने जोगिएको थियो।

तर अहिले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन भन्दै मुख्यमन्त्री राउतले यादवलाई राजीनामा गर्न भनेका र नमानेपछि बर्खास्त गरेका स्रोत बताउँछ।

पार्टी बनाउन र बचाउन आफ्नो अहं भूमिका रहेको भन्दै सरकारमा कसलाई पठाउने, कसलाई मुख्यमन्त्री या मन्त्री बनाउने त्यो निर्णय पार्टीले गर्ने भए पनि मुख्यमन्त्रीले त्यो कुरा नबुझेको यादवको आरोप छ।

अब संसदीय दलको बैठक, पार्टीको कार्यकारिणी समिति, केन्द्रीय समितिको बैठकमा मुख्यमन्त्रीको बर्खास्तीको विषय फेरि कुरा उठाउने चेतावनी दिए। भने, “दाग लागेको अनुहारलाई राखेर चुनावमा जान नसकिने कुरा सबै बैठक र नेतृत्वसमक्ष राख्छौं, पार्टीले माग पूरा गर्नुपर्छ। माग सुनुवाइ हुन्छ। किनभने पार्टी कसैको निजी सम्पत्ति होइन।”

मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved