कहाँबाट ल्याउँछन् विश्वका धनी क्लबले यति धेरै पैसा ?

व्यापारका लागि नै प्रायः क्लबले खेलाडी किनबेच गर्छन्। क्लबहरूले कुनै खेलाडीले एक-दुई सिजन राम्रो प्रदर्शन गरिरहेको छ भने उसको बिक्री मूल्य बढाएर बेचेर पैसा थुपार्छन्। धेरैजसो क्लबलाई यो नै कमाउने प्रमुख स्रोत रहन्छ।

कहाँबाट ल्याउँछन् विश्वका धनी क्लबले यति धेरै पैसा ?

काठमाडौं। करिब तीन साताअघि मात्र साउदी अरबको नागरिक लगानी कोष (पीआईएफ) को नेतृत्वमा रहेको लगानी समूहले चर्चित इंग्लिस प्रमियर लिग क्लब न्यूक्यासल यूनाइटेडलाई खरिद गर्‍यो।

धनाढ्य व्यापारी यासिर बिन ओतमान प्रमुख रहेको अरबको नागरिक लगानी कोषले सन् १८९२ मा स्थापना भएको न्यूक्यासलको पूर्ण स्वामित्व आफ्नो पक्षमा लिएपछि अब यो क्लब विश्वकै धनी क्लब बन्ने बताइएको छ। हालसम्म प्रमियर लिगमा औसत देखिएको (प्रदर्शनका आधारमा) न्यूक्यासल ठूलो लगानीका कारण अब आउँदा दिनमा यूरोपको पावर हाउस बन्ने अनुमान गरिएको छ।

फुटबल विश्वकै प्रख्यात खेल हो। सन् २००० अघिको फुटबल र हालको आधुनिक फुटबलमा धेरै फरक भइसक्यो। अहिलेको फुटबल, आफैमा खेलकुद मात्र होइन, यो त ठुलो उद्योगको रुपमा परिणत भइसक्यो। फुटबलमा दिनानुदिन बढिरहेको व्यावसायीकरणका कारण यो खेल विश्वमा मनग्य पैसा कमाउने व्यापार बन्दै छ। जसले गर्दा विश्वभरिका व्यापारीको ध्यान यसतर्फ तानिँदै छ।

फुटबलका ठूला क्लबले (जुन विशेषगरी यूरोपियन राष्ट्रमा छन्) एक वर्षमै मनग्य पैसा कमाउँछन्। कतिपय क्लबको वार्षिक कमाइ त विश्वका साना देशका वार्षिक बजेटभन्दा बढी हुन्छ। त्यसैले पछिल्लो समय यूरोपका चर्चित क्लबहरूलाई विश्वका धनाढ्य व्यापारिक घराना र समूहले किन्ने होडबाजी नै चलेको छ।

ब्राजिलका स्टार फरवार्ड नेइमार जुनिअरलाई सन् २०१७ मा पीएसजीले २ सय २२ मिलियन यूरोमा बार्सिलोनाबाट खरिद गर्दा फुटबल जगतमा तहल्का नै मच्चिएको थियो। हालसम्म पनि नेइमारको यो ट्रान्सफर विश्वकै सबैभन्दा महँगो रेकर्ड हो। त्यति महँगो पैसामा खेलाडी किनबेच भएको सुन्दा धेरैजसो फुटबल समर्थकको एउटै कौतूहलता हुने गर्छ कि, क्लबहरूले खेलाडीमाथि खनाउने यत्रो पैसाचाहिँ कहाँबाट ल्याउँछन्?

अझ यो त एउटा खेलाडी किन्न मात्र खर्च भएको पैसा हो। फुटबल क्लबहरूको खेलाडी किनबेच त मात्र एउटा लगानी हो। क्लबहरूका यीबाहेक पनि धेरै खर्च हुन्छन्। त्यसो भए यतिका सारा पैसा क्लबले कमाउँछन् चाँहि कसरी? यो धेरैलाई थाहा नहुन सक्छ।

प्रशारण अधिकार

विश्वको कुनै पनि कुनामा भएको फुटबल खेललाई हामी सजिलै आफ्नो घरमा खेल भइरहेको अवस्थामा नै प्रत्यक्ष हेर्न सक्छौं। सतहमा हेर्दा यो एउटा फुटबल खेलको प्रत्यक्ष प्रशारणको सामान्य प्रक्रिया मात्र हो, जुन हालको समयमा सबै खालको खेलकुदमा हुनेगर्छ।

तर यो प्रशारणको पछाडि धेरै ठूलो व्यापार र क्लबको आम्दानीको स्रोत हुने गर्छ। इंग्लिस प्रमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरि एजस्ता विश्वका चर्चित फुटबल लिगहरू र क्लबका अन्य प्रतियोगिताका खेलहरूमा विश्वभरिका फुटबल फ्यानहरूको धेरै लगाव हुन्छ।

तिनै करोडौं फ्यानहरूलाई प्रत्यक्ष प्रशारणमार्फत खेलहरू देखाउन, घरेलु तथा विदेशी प्रशारण केन्द्र तथा टेलिभिजन च्यानलहरूले प्रशारण अधिकारका लागि बोली लगाउने गर्छन्। स्काई स्पोर्टस्, ईएसपीएन, स्टार स्पोर्टस् जस्ता मल्टिनेशनल ब्रोडकाष्टरहरूले खेलको प्रत्यक्ष प्रशारणका लागि ठूलो रकम खर्चेर प्रशारण अधिकार किन्ने गरेका हुन्छन्।

विश्वका हरेक देशमा प्रशारणका लागि प्रत्येक च्यानलहरूले निश्चित रकम तिरेका हुन्छन्। यो रकम त्यो देशको लिग आयोजक फुटबल संघसँगै लिगमा सहभागी क्लबहरूमा भाग लाग्ने गर्छ। प्रमियर लिगमा सबै २० क्लबहरूले प्रशारण अधिकारबापत पाएको रकम बराबर बाँड्ने गर्छन्। गत सिजनको प्रमियर लिगको अन्तर्राष्ट्रिय प्रशारण अधिकारमार्फत मात्रै इंग्लिस फुटबल संघले १.८७७ मिलियन डलर रकम प्राप्त गरेको थियो।

स्पेनिस लिगमा भने क्लबको लोकप्रियता र ठूलो फ्यान फलोइङका आधारमा रियल मड्रिड र बार्सिलोनाले प्रशारण अधिकारबापत रकमको ठूलो हिस्सा प्राप्त गर्ने गर्छन्। विश्वका धेरै लिगका क्लबहरूको आम्दानीको प्रमुख स्रोतमध्ये यो एक हो।

टिकट बिक्री

विश्व फुटबलका प्रायः ठूला लिग खेलहरू होम एण्ड अवेका आधारमा खेलिन्छ। जसको अर्थ हो लिगमा सहभागी प्रत्येक टिमले एकअर्कासँग दुई-दुई खेल खेल्छन्। एउटा घरेलु मैदानमा र अर्को खेल प्रतिस्पिर्धी टिमको मैदानमा।

होम म्याच (आफ्नो मैदानमा खेल) हुँदा सबै क्लबले खेल हेर्न आउने दर्शकलाई टिकट बेचेर पैसा उठाउने गर्छन्। क्लबको खेलको लोकप्रियताले टिकटको मूल्य निर्धारण गर्छ भने उक्त मूल्य र स्टेडियमको आकार र त्यसको सिट क्षमताले पनि मूल्य निर्धारण गरेको हुन्छ।

ठूला लिगहरूमा प्रायः २० क्लबहरूले प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ।  जसमध्ये आफ्नो मैदानमा १९ खेल खेलिन्छ। ती १९ खेलमा दर्शकका लागि खेल हेर्न बेचेको टिकटबाट उठेको पैसा सबै क्लबकै खल्तीमा जान्छ। यो त एउटा प्रतियोगिताको मात्र कुरा भयो। एक सिजनमा प्रायः देशमा कम्तीमा राष्ट्रिय लिग र कप गरी दुई ठूला घरेलु प्रतियोगिता आयोजना हुने गरेका छन्।

त्यसैगरी ठूला क्लबहरूले यूरोपियन च्याम्पियन्स लिग, यूरोपा लिगजस्ता अन्तरदेशीय क्लब प्रतियोगिता पनि खेल्ने गर्छन्। विदेशी देशका क्लबसँग खेल्ने हुनाले यी खेल हेर्ने दर्शकको आइरो लाग्छ। त्यसैले टिकट पैसा पनि महँगो हुने गर्छ। अब सोचौं क्लबले टिकट बेचेर कति पैसा कमाउँलान्।

उदाहरणका लागि यो सिजनको आउँदो यूरोपियन च्याम्पियन्स लिगका खेलहरूको एउटा खेलको टिकट मूल्य क्लब र खेलको स्तरका आधारमा ४३ डलरदेखि १४७७ डलरसम्म पर्छ। जहाँ एटलान्टा र म्यान्चेष्टर युनाइटेडको एक खेल हेर्न तोकिएको सर्वाधिक टिकट मूल्य करिब एक लाख ८४ हजार नेपाली रुपैयाँ बराबर हो।

टिकट मात्र होइन यति धेरै खेल हुँदा खेल दौरान बेचिने खाना, पेय पदार्थ र अन्य सामग्री तथा हस्पिटालिटी व्यापारबाट पनि मनग्गे रकम संकलन हुन्छ। त्यसैगरी खेल दिनमा स्टेडियममा हुने विज्ञापनको कमाइले पनि क्लबको आम्दानीमा भरपूर योगदान गर्छ।

त्यसैले त फुटबल क्लबहरू ठूला-ठूला स्टेडियम बनाउन र स्टेडियमको सिट क्षमता वर्षैपिच्छै बढाइरहन मरिहत्ते गर्छन्।

प्रायोजन

विश्वबजारमा यस्ता धेरै ब्राण्ड र कम्पनी छन्, जोसँग आफ्नो विज्ञापन र प्रचारका लागि खर्च गर्न जति पनि पैसा छ। यस्ता कम्पनीहरू प्रचारका लागि त्यस्तो माध्यमको खोजीमा हुन्छन् जसमा धेरैको चासो हुन्छ र जसलाई धेरैले फलो गर्छन्। त्यसैले ठूला ब्राण्ड र कम्पनीहरू ठूला क्लबका पछि लाग्छन्, ती क्लबलाई प्रायोजन गर्छन्।

प्रायोजन पनि धेरै थरीका हुन्छन्। जसमध्ये प्रमुख प्रायोजकको नाम र लोगो क्लबले खेलाडीको जर्सीसँगै धेरै ठाउँमा प्रचारका लागि राखिदिने गर्छ। जसबापत क्लबले मोटो रकम लिने गर्छन्।

ठूला क्लबका जर्सीको अगाडि देखिने सामसुङ, कतार एयरवेज, नाइक, पुमा, इमिरेट्स सबै यस्तै प्रायोजनका उदाहरण हुन्।

प्रायोनका लागि मात्र एक वर्षमा क्लबहरूले करोडौं डलर कमाउँछन। जस्तैः स्पेनिस क्लब रियल मड्रिडको हालको प्रमुख प्रायोजक इमिरेट्सले प्रायोजनबापत क्लबलाई वार्षिक ८२.५ मिलियन डलर पैसा तिर्ने गर्छ।

सामान बिक्री

क्लबका फ्यानहरू आफूले समर्थन गर्ने टिमसँग जोडिएका धेरै चिजहरू दैनिक प्रयोग गर्न रुचाउँछन्। क्लबप्रतिको आफ्नो माया र समर्थन देखाउन मात्र होइन कतिपय फ्यानको त शौक नै यस्तो हुन्छ कि दैनिक रुपमा आवश्यकीय वस्तुमा नै क्लबले बेच्ने सामग्री मात्र प्रयोग गर्छन्। जसमध्ये सबैभन्दा बढी किनिने सामग्री हो क्लबको जर्सी।

हरेक सिजनमा खेल भएको दिनमा मैदानभित्र होस् या बाहिर, आफूले समर्थन गरेको टिमको जर्सी लगाउन समर्थकहरू औधि रुचाउँछन्। यसमा त विपक्षी टिमका समर्थकसँग होडबाजी नै चल्छ।

फुटबल नै खेल्ने फ्यानहरूले त जर्सी मात्र होइन फुटबलसँग सम्बन्धित धेरै सामान जस्तै क्याप, टी-सर्ट, जुत्ता, ट्रेनिङ किट आदि किन्छन्। अनि यी फुटबल क्लबका ब्रान्डेड सामानहरू सामान्य बजारका सोही सामानभन्दा कयौं गुणा महँगा हुन्छन्।

यस्ता सामान बेच्न क्लबहरूले देश र विदेशमा धेरै आधिकारिक बिक्री केन्द्रहरू खोलेका हुन्छन। जुन व्यापारबाट क्लबले पर्याप्त पैसा कमाउँछन्। स्टार खेलाडीहरूको नामको जर्सी भिरेर हिँड्नुलाई समर्थकले आफ्नो शान ठान्छन्। कतिपय क्लबले त स्टार खेलाडीलाई क्लबमा भित्र्याउनुको प्रमुख कारण नै यही हुन्छ कि उनीहरूको नामको जर्सी बेचेर पैसा उठाउन सकियोस्।

यसै वर्ष इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई इटालियन साइड युभेन्टसबाट दोस्रो पटक क्लबमा अनुबन्धित गर्‍यो। युनाइटेडमा रोनाल्डोका यति धेरै फ्यान रहेछन् कि उनी पुनः क्लबमा फर्केको १२ घण्टामै‍ ४५ मिलियन डलरको उनको नामको जर्सी बिक्री भयो। उता फ्रेन्च क्लब पीएसजीले मेस्सीलाई बार्सिलोनाबाट क्लबमा साइन गरेको २४ घण्टामा नै मेस्सीको नामको ८ लाख ३० हजार जर्सी बिक्रीको रेकर्ड पनि कायम भएको थियो।

खेलाडी किनबेच

अन्य क्लबलाई खेलाडी बेचेर पैसा कमाउने पनि विभिन्न क्लबहरूको अर्को ठूलो व्यापार हो। धेरै क्लबको आम्दानीको प्रमुख स्रोत यो पनि हो। फुटबल एकडेमी र विभिन्न साना क्लबबाट प्रतिभावान् खेलाडीलाई थोरै पैसामा टिममा भित्र्याउने, त्यसपछि दुई चार वर्ष क्लबमा खेलाएर उसलाई स्टार बनाउने र महँगोमा धनी क्लबहरूलाई बेच्ने। पैसा बनाउने एउटा उपाय यो पनि हो।

वास्तबमा यो किनबेच फुटबल क्लबलाई टिममा आवश्यक पर्ने खेलाडीको आधारमा हुनुपर्ने हो। तर व्यापारका लागि नै प्रायः क्लबले खेलाडी किनबेच गर्छन्। क्लबहरूले कुनै खेलाडीले एक-दुई सिजन राम्रो प्रदर्शन गरिरहेको छ भने उसको बिक्री मूल्य बढाएर बेचेर पैसा थुपार्छन्। धेरैजसो क्लबलाई यो नै कमाउने प्रमुख स्रोत रहन्छ।

क्लबले उपाधि जितोस् कि नजितोस् मतलब छैन, तर सस्तोमा खेलाडी किनेर महँगोमा बेच्ने काम भने चलिरहन्छ। अझ खेलाडी युवा छ र उसले खेल्न सक्ने वर्ष धेरै बाँकी छ भने त राम्रो सम्भावना भएका खेलाडीलाई धनी क्लब मनग्य पैसा हाल्न पनि पछि पर्दैनन्।

हालका विश्व फुटबलका स्टार युवा खेलाडीमध्ये एक हुन किलियन एम्बाप्पे। जसलाई अब फुटबलमा मेस्सी र रोनाल्डाको एकक्षत्र शासनलाई निरन्तरता दिने खेलाडीको रुपमा हेरिएको छ। उनलाई युथ टिममा ल्याएको फ्रेन्च क्लब मोनाकोले अर्को धनी फ्रेन्च क्लब पीएसजीलाई १८० मिलियन युरोमा बेचेको थियो।

जुन रकमको खेलाडी किनबेच विश्व फुटबलमा हालसम्मको दोस्रो ठूलो रेकर्ड ट्रान्सफर हो। हाल यूरोपभरिका ठूला र धनी क्लबको आँखा उनमा छ। पीएसजीले एम्बाप्पेलाई बेच्यो भने त्यो हालसम्मकै महँगो रेकर्डसहित खेलाडी ट्रान्सफर हुने पक्का छ र पीएसजीले पनि टन्न पैसा कमाउनेछ।

पुरस्कार राशि

फुटबल क्लबहरूको प्रमुख काम नै प्रतियोगिताहरू खेल्नु हो। यूरोपका ठूला क्लबहरूले एक सिजनमा घरेलु प्रतियोगिता र युरोपेली फुटबल महासंघको अन्तर्देशीय क्लब प्रतियोगिता गरी कम्तीमा तीनदेखि ६ वटासम्म प्रतियोगिता खेल्छन्।

यी प्रतियोगिताको उपाधि जितेबापत क्लबहरूले पुरस्कार राशिमार्फत धेरै पैसा हात पार्छन। यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूरोपियन च्याम्पियन्स लिगको गत सिजनको उपाधि विजेता क्लब चेल्सीले २३.२ मिलियन डलर नगद पुरस्कार प्राप्त गरको थियो।

यूरोपियन च्याम्पियन्स लिगमा त अझ विजेता, उपविजेता आदि टिमले मात्र होइन, यो प्रतियोगितामा छनोट हुनेबितिक्कै समूहचरणमा खेल्ने टिमले नै १८.६ मिलियन डलर नगद प्राप्त गर्छ। जति जति टिम प्रतियोगितामा उक्लँदै जान्छ अघिल्ला चरणमा पाएका पैसामा उति उति पैसा थपिँदै जान्छ।

त्यसैले चेल्सीले च्याम्पियन्स लिगको विजेता बन्दासम्मको यात्रामा करिब ७३ मिलियन डलर पैसा प्राप्त गरेको थियो। उता यो सिजनको इंग्लिस प्रिमियर लिग विजेता टिम म्यान्चेष्टर सिटीले भने उपाधि जितेबापत २१० मिलियन डलर नगद पुरस्कार प्राप्त गरेको थियो।

विश्वका सबैभन्दा धनी क्लब

आर्थिक संकटको कारण देखाउँदै धेरै यूरोपियन खेलाडीलाई बिदाइ गरेको बार्सिलोना विश्वको नं. १ धनी क्लब हो। फोर्ब्स म्यागेजिनका अनुसार २०२० मा गरेको कमाइ र ब्राण्ड भ्यालुका आधारमा बार्सिलोना धनी क्लबको सूचीमा पहिलो छ।

बार्सिलोनाको सन् २०२० को आम्दानी ७९२ मिलियन डलर थियो भने हालको क्लबको ब्राण्ड भ्यालु ४.७६ बिलियन डलर बराबर छ। तर बार्सिलोनाको करिब १.५ बिलियन डलर ऋण रहेको बताइएको छ। स्पेनिस क्लब बार्सिलोनाले गत सिजन, खर्च धान्न नसक्ने भन्दै स्टार खेलाडी लियोनल मेस्सीसँगको सम्झौता पनि बढाएन। मेस्सी स्पेन छाडेर फ्रान्सेली क्लब पीएसजी गए।

अर्को स्पेनिस क्लब रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना पहिलो पटक विश्वका नम्बर १ धनी क्लब बनेको हो। फोर्ब्सका अनुसार पछिल्लो १४ वर्षमा यो सूचीको शीर्ष स्थानमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र रियल मड्रिडको मात्रै कब्जा थियो।

अघिल्ला दुई वर्ष यो सूचीमा पहिलो स्थानमा रहेको मड्रिड हाल विश्वको दोस्रो धनी क्लब हो। सन् २०१३ देखि २०१६ सम्म मड्रिड लगातार चार वर्ष विश्वका नम्बर १ धनी क्लब थियो।

हालको धनी क्लबको तेस्रो स्थानमा छ जर्मन क्लब बार्यन म्युनिख, जसले इंग्लिस क्लबहरूलाई पछि छाड्यो। धनी क्लबको सूचीमा यसपछिका स्थानमा भने लगातार पाँच वटा इंग्लिस क्लब छन्। म्यानचेष्टर यूनाइटेड इंग्लिस क्लबमध्ये शीर्ष स्थानमा छ भने समग्रमा चौथो स्थानमा छ। यूनाइटेड सन् २००७ देखि २०१२ सम्म लगातार ६ वर्ष विश्वको धनी क्लबमध्ये पहिलो स्थानमा थियो। हाल फोर्ब्सका अनुसार विश्वका धनी क्लबको सूचीमा शीर्ष २० मा सबै यूरोपियन क्लब छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved